एच. के. श्रेष्ठ, नेपालमा हिन्दु परम्पराअनुसार एक वर्षमा विभिन्न प्रकारका पर्वहरु मनाउने गरिन्छ । ती पर्वहरुको आ– आफ्नै विशेषता छन् । हिन्दु परम्पराअनुसार तीज, जनैपूर्णिमा, शिवरात्रि, रामनवमी दशैँ र तिहारलगाायत दर्जनौँ पर्वहरु मनाउने गरिन्छ ।

यसैक्रममा हिन्दुहरुको महान् पर्व बडादशैँ भर्खरै सकिएको छ भने तिहार मध्यक्रममा लागिरहेको छ । तिहारको पनि आफ्नै विशेषता रहेको छ । यो तिहार पर्व हिन्दुहरुले मनाउने दोस्रो ठूलो पर्व हो । तिहारको महिना र विशेषताका बारेमा यहाँ वर्णन गर्न खोजिएको छ ।

तिहारलाई यसपञ्चक, बलीको राज्य र दीपावलीसमेत भन्ने गरिन्छ । यसराजले आफ्नी बहिनीको घरमा पाँच दिनसम्म बसेर आफ्नो घर फर्केको हुँदा यमपञ्चक, मत्र्यमण्डलमा पाँच दिनसम्म बलीले राज्य गर्ने हुँदा बलीको राज्य र यस पर्वमा घरघरमा झिलिमिली बत्ती बालेर लक्ष्मीको पूजा गरिने र लक्ष्मीको स्वागत गरिने हुँदा दीपावली भनेर यस पर्वलाई चिनिने गरिन्छ ।

यस पाँचदिने पर्वमा पाँचथरीको नै पूजा हुने गर्दछ । पहिलो दिन यमराजको दूत र चलाख कागको पूजा हुन्छ भने दोस्रो दिन स्वामीभक्त कुकुरको पूजा हुन्छ । कुकुरलाई पूजा गर्नुको विशेषता अर्को पनि छ, यस पृथ्वीमा कुनै विपत्ति आउने कुरा कुकुरले थाहा पाउने र यसलाई पनि यमराजको दूतका रुपमा पूजा गरिने भनाइ रहेको छ ।

तेस्रो दिन औँसीको रातमा धनदाता महालक्ष्मीको पूजा गरिन्छ भने लाग्दो प्रतिपदामा लक्ष्मीकै रुपमा गाईको पूजा गरिने परम्परा रहेको छ । औँसीको रातमा नारीहरुले घरमा हरियो गोबरले लिपेर लक्ष्मीको पूजा गरी देउसीभैलो खेल्ने परम्परा पनि निकै रमाइलो छ ।

देउसीभैलो खेलेर घरधनीलाई आशीर्वाद दिने गर्दछन् । भन्छन्, जसले दिन्छ मानु उसको सुनको छानु, हे औँशीबार गाईतिहार भैलो । अनि, यस पर्वको चौँथो दिन भगवान् शिवको वाहन गोरूका साथै गोवद्र्धन पर्वतको पनि पूजा गरिन्छ । गोबरको पर्वत बनाएर पूजा गर्दा घरमा लक्ष्मीले बास गर्ने र धनसम्पत्तिको कहिल्यै खाँचो नहुने भनाइ रहेको छ । त्यसैदिनदेखि घरघरमा देउसी खेल्ने गरिन्छ ।

तर, आजकाल विभिन्न समूहलाई फलानो काम गर्नका लागि चन्दा भन्दै कागतिहारदेखि नै देउसी खेल्ने गरेको पाइन्छ । चन्दाका लागि नभएर पर्व मनाउन खेल्दा कुनै आपत्ति हुँदैन, तर चन्दा तोकेरै पर्वलाई विकृत बनाउँदा के हुन्छ, यसै भन्न सकिने अवस्था भने छैन ।

त्यसैगरी, पाँचौँ दिन भाइतिहार पर्व पर्दछ । यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई मेवामिष्ठान्न दिएर पूजा गर्ने गर्दछन् । दिदीबहिनीले दाजुभाइलाई शरीरमा लपक्क तेल लगाइदिन्छन् । कहिल्यै नसुक्ने मखमली फूलको माला लगाइदिन्छन् ।

अनि सेल, बदाम, ओखर, काजु, नरिवल आदि प्रशस्त चिल्लो पदार्थ खान दिन्छन् । दिदीबहिनीले दाजुभाइलाई चिल्लो पदार्थ खान दिनु र कहिल्यै नसुक्ने मखमली फूलको माला लगाइदिनुमा पनि रहस्य छ । सत्ययुगमा यमराज आफ्नी बहिनी यमुनाकोमा बहिनीज्वाइँलाई लिन आएका थिए ।

यमराज बहिनीकोमा आउँदा बहिनीले यस्तै कहिल्यै नसुक्ने मखमली फूलको माला लगाइदिएर चिल्लाचिल्ला मेवामिष्ठान्न दिएर दाजु यमराजको स्वागत गरेकी थिइन् । उनको पूजाले प्रसन्न भएको यमराजले बहिनीलाई भनेका थिए, तिम्रो पतिको शरीरमा लगाएको तेल नसुकुन्जेल, खाएको चिल्लो पेटमा नसुकुन्जेल र लगाएको माला नसुकुन्जेल मैले उनलाई लाने छैन ।

यसरी दाजु यमराज बहिनीको घरमा पाँच दिन बसेर बहिनीलाई आशीर्वाद दिँदै आफ्नो राज्यमा गएका थिए । सोही बेलादेखि दिदीबहिनीले दाजुभाइलाई चिल्ला पदार्थ र नसुक्ने फूलको माला लगाई दीर्घायुको कामनासहित पूजा गर्ने परम्परा रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यसरी चिल्लो पदार्थ र नसुक्ने फूलको माला लगाएर यस पर्वलाई मनाउने प्रचलन रहेको छ ।

त्यस्तै, तिहारको पाँचौँ दिनसम्म नै विभिन्न मनोरञ्जनका साथ घरघरामा गएर देउसी खेली रमाइलो गरिन्छ ।

बिराटनगर बजार तिहारमा

देउसी किन खेलिन्छ ?
देउसी खेल्नुको यथार्थ भने अर्कै छ । देउसी खेल्दा हामी त्यसै आएनौँ– देउसी रे, बलिराजाले पठाको– देउसी रे आदि भन्ने गरेको सुनिन्छ र भनिन्छ पनि । तिहारको पाँच दिन नै दैत्यराज बलीले राज्य गरेको शास्त्रहरुमा बताइएको छ । बलिराजाले ठूलो तपस्या गरी देवताहरुलाई युद्धमा जितेर तीन लोक चौध भुवनमा राज्य गरेका थिए ।

देवताहरुलाई हराएर राज्य चलाए पनि अन्य दैत्यसरह उनले कुकृत्य भने गरेनन् । उनी धर्मकर्ममा निपूर्ण थिए । उता, देवताहरु भगवान् विष्णुकोमा गई राक्षसहरुले हराएको कुरा पहिले नै बताएका थिए । तर, राजा बलीका भक्तिका कारण भगवान् विष्णुले देवताहरुको भनाइलाई त्यति चासो नदिएर म भक्तको अधीनमा रहेको र बलीको पुण्य सकिएपछि राज्य दिलाउने बताए ।

उता, बलीले ठूलो यज्ञ गरी गरिब, निमुखा र ब्राह्मणलाई आवश्यक परेको कुरा दान दिन लागे । राजा बलीको दानरुपी यज्ञले पृथ्वीलाई नै हल्लाउन थालेको थियो ।

उता, भगवान् विष्णुले पनि राजा बलीको पुण्य सकिएको थाहा पाई अब बलीलाई पाताल पठाउनुप¥यो भनी अर्को अवतार लिने विचार गर्नुभयो र वामनको रुप धारण गरी अवतरित हुनुभयो । केही समयपछि भगवान् विष्णुको उपनयन कर्म भयो र भिक्षाका लागि कुमारको रुप धारण गरी राक्षस राजा बलीको यज्ञस्थलमा भिक्षाम् देही भन्दै जाने काम गर्नुभयो ।

दान दिनमा पोख्त राजा बली पनि यस्तो अपूर्व कुमारलाई देखेर प्रसन्न हुँदै भन्न लागे– हे कुमार, तिमीलाई के चाहिन्छ माग । कुमाररुपी वामन भगवान्ले केही चाहिँदैन, एक छाक खान पुग्ने अन्न देऊ भनी माग्नुभयो । तर, वामनलाई चित्त बुझेन र भन्न थाले– अलि माग, त्यति जाबो के मागेको ?

भगवान् वामनलाई पनि के खोज्छस् काना आँखो भयो । वामनले उसो भए तीन पाउ भूमि मलाई देऊ, त्यति भएपछि सुत्ने ठाउँ पुग्छ भन्ने कामना गर्नुभयो । यति भन्दा पनि राजा बलीलाई चित्त बुझेन । उनी अझ अलि धेरै माग्ने अनुरोध गर्न पुग्छन् । वामनले यतिमात्र भए पुग्छ भनेपछि राजा बली तीन पाउ भूमि दिनका लागि तयार हुन्छन् र आफ्ना गुरू शुक्राचार्यलाई संकल्पका लागि आग्रह गर्छन् ।

तर, राक्षसका गुरू शुक्राचार्यलाई भूमि माग्ने भगवान् विष्णु भएको जानकारी गराउँछन् । तर, वाचा–बन्धनमा परेका राजा बली तीन पाउ भूमि दिने निश्चय गर्छन् । मन नलागीकन नै शुक्राचार्य संकल्प गरिदिन्छन् र बली वामनलाई भूमि नाप्न आग्रह गर्छन् ।

वामनले जब भूमि नाप्न थाल्छन्, तब उनको एउटै पाइलाले मत्र्यमण्डल ढाकिन्छ । अब तेस्रो पाइला राख्ने ठाउँ कतै फेला पर्दैन । सत्यवादी बली अर्को पाइला दिने ठाउँ नपाई चुप लागेर बस्ने काम गर्छन् । भगवान् वामनले बलीलाई तिम्रो शिर देऊ, शिर देऊ भनेर बलीको शिरमा टेकी उनलाई पाताल पठाउने काम गर्छन् । भनिएको छ, अतिरपेण वै सति अति गर्वेण रावण, अति दानात बलिर्बध्वा तस्मात् अति विवर्जयेत् ।

बलीलाई पाताल पठाउनुअघि वामनले सत्यवादी भएको र धर्ममा निपूर्ण भएकाले पाँच दिन यस मत्र्यमण्डलमा राज्य गर्नु भनी वरदानसमेत दिने काम गर्छन् । त्यसै वरदानस्वरुप बलीले तिहारको पाँच दिन नै मत्र्यमण्डलमा राज्य गर्ने र उनको राज्यको समयमा सबैले देऊ शिर भनेर शिर माग्ने गरेको भनाइ रहेको छ ।

यसरी भगवान् वामनले सत्ययुगमा शिर देऊ भनेको हुँदा अहिले पनि त्यस्तै सम्झनास्वरुप देउसी खेलेको शास्त्रमा उल्लेख छ । बलीले राज्य गर्दा कलिको प्रवेश हुने र गाउँघरमा सामान्य जुवातास खेलेर कलिको झल्को दर्शाउने पनि गरेको पाइन्छ ।

तर, यसो गर्नुलाई अहिले कानुनले बन्देज गरे तापनि यसमाथि पूर्ण नियन्त्रण भएको चाहिँ छैन ।

[email protected] / चितवन पोष्टबाट

प्रतिक्रिया लेख्नुहोस