एउटा मान्छे मरे पछि स्वर्ग पुगेछ, त्यहाँ उसले ठुलो जुलुस निस्कीरहेका देखेपछि एकजना मानिसलाइ सोधेछ “के हुँदैछ स्वर्गमा?” बुढो मानिसले जवाफ दिन्छन्, “आज भगवानको जन्मदिन हो ।” भगवानको जन्मजयन्ती देख्न पाएकोमा मानिसले आफुलाई भाग्यमानी ठान्छ । उसले सबैभन्दा पहिलो रथमा एक जना दिव्य पुरुष हातमा बाँसुरी र टाउँकोमा मजुर लगाएर पछाडी धेरै मानिसहरुको भिडको साथ आएको देख्छ र उसले सोध्छ “के उहाँ नै भगवान हो ”? बुढो मानिस भन्छन् । “हैन् वहाँ भगवान हैन्, वहाँ त हिन्दुहरुको पूर्ण अवतार कृष्ण हुन् ।” त्यसपछि अर्को एक भलादमी व्यक्तिलाई आफ्नो लामो लस्कर जय जयकारको साथ आफु तर्फ आउँदै गरेको देखेपछि मानिसले सोध्छ । “के वहाँ भगवान हुनुहुन्छ ।” बुढो मानिस भन्छन्,“ “हैन् वहाँ त ईस्लामहरुका पैगाम्बर मोहम्मद हुन् ।” त्यस पछि मानिसले एक जना भद्र पुरुष बसाईको मुद्रामा आखा चिम्लेर धेरै साधुहरु पछि लगाएर आउँदै गरेको देखेर सोध्छ, “के वहा ँभगवान हुनुहुन्छ ?”। बुढो मानिस फेरी जवाफ दिन्छन,“हैन वहाँ बौद्धहरुको अवतार बुद्ध हुन् ।” त्यस पछि उसले एक जना मानिस लकडीमा झुण्डिएर आउँदै गरेको देख्छ, उनको पछि सबैभन्दा धेरै मानिसहरुको भिड हुन्छ र मानिसले सोध्छ,“त्यसो भए वहाँ भगवान हुनुहुन्छ होला, वहाँको पछि सबैभन्दा धेरै मानिसहरु छन् ।” बुढो मानिस भन्छन् “हैन, वहाँ त क्रिस्चियनहरुको प्रभु इसु क्राइष्ट हुन् ।” यसै गरेर नानक, कविर, महाविर, जरथ्रुस्ट, लाओत्से र अरु धेरैको बारेमा बुढो मान्छे यस्तै जवाफ दिन्छन् । मनिसले अन्त्यमा जुलुस सकिए पछि एक जना बुढो मानिसलाई हिड्न सकि नसकि एक्लै जुलुसको पछि पछिआउँदै गरेको देखेर जिज्ञासा जाहेर गरेर सोध्छ ।“ को हुन ती आउँदै गरेको बुढो मानिस ?” मानिस भन्छन् । “ उनि भगवान हुन्, सबै मानिस वेग्ला वेग्लै सम्प्रदायमा बाँडीए अनि भगवान (सत्य) एक्लै परे ।”
आज देशको स्थिती पनि यस्तै भएको छ, यो देशको अधिकांस जनता कुनै न कुनै पार्टीमा बाँडिएर कार्यकर्ता भएका छन्, त्यसैले जनता भेट्न मुस्किल छ । यदि जनता छन् भने पनि भगवान एक्लो परे जस्तै भएका छन्, जसलाई पुछ्ने र जसको सुनिदिने कोहि छैन । मलाई लाग्छ यो देशको दुर्भाग्यको धेरै कारणहरु मध्ये एउटा प्रमुख कारण यो हो की यो देशका मानिसले जनता हुनुभन्दा कार्यकर्ता हुनुमा फाईदा देखे । आज जनताहरु अनेक पार्टीमा विभाजित भए जसकारण यो देशमा जनताको अभाव नै खट्किया । हिजो कुनै पार्टीमा आबद्ध नभएका धेरै निस्पक्ष मानिसहरु पनि आज कुनै न कुनै पार्टीमा आबद्धता लिदै गएको पाइन्छ । पार्टीमा लाग्नु नै नराम्रो कुरा होइन तर यदि गलत मनस्थिति, स्वार्थ र वाध्यताले यदि कोहि पार्टीको सहारा लिन खोज्छ भने त्यो गलत हो, जसले समाजलाई गलत दिशातर्फ डोर्याउछ ।
मेरो बिचारमा, राम्रो र सही मानिस जहिलो पनि राजनितिमा आउँनु पर्छ र राजनितिमा रहेको फोहोरलाई सफा गरी समाज र राष्ट्रलाई सहि बाटोतर्फ उन्मुख गराउनु पर्छ, तर सबै मानिसले राजनीति नै गर्नुपर्छ भन्ने मान्यता म राख्दिन ।
प्रश्न आउँछ कि किन आज पनि मानिसहरु अझै यो गन्हाएका पार्टीहरु तर्फ आकर्षित भई रहेका छन्, जुन पार्टी र यिनका नेताहरुले यो देश र जनतालाई बर्बादी र गरिबीको खाडलमा हालिदिएका छन् । जसले आफु र आफ्ना मानिसहरुको स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितको बारेमा कहिल्यै सोचेनन् । जुन नेताहरुमा नैतिकता, चरित्र र दुरगामी सोच भन्ने कुराको अभाब देखिन्छ, जसले यो देशका जनतालाई जोड्न भन्दा फोड्न खोजे र जुन पार्टीहरुले जनमानुस समक्ष आफ्नो विश्वास गुमाईसके ।
मलाई लाग्छ यस्तो हुनको पछाडी दुई वटा कारण छन् । एउटा हो स्वार्थ र अर्को वाध्यता । म भन्छु यो दुवै कुरा गलत हुन् र म यो दुवै कुराको विरोध गर्छु । राजनितिक पार्टीहरु आज पैसा कमाउने र व्यक्तिगत स्वार्थ सिद्द गर्ने अखडा भएका छन् । धेरैले यसबाट आफ्नो दुनो सोज्याई सकेका छन् भने अरु धेरै आफ्नो दुनो सोझ्याउने फेरमा छन् चाहे देश र समाजको अहित गरेर नै किन नहोस् ।
आज जनतालाई पार्टीमा लाग्न वाध्यताको स्थिति सृजना गरिएको छ, त्यसैले सबैलाई लाग्न थालेको छ की बाच्नु छ भने कुनै न कुनै पार्टीको कार्यकर्ता हुन जरुरी छ िआज कुनै पार्टीमा आवद्ध नहुने एउटा इमान्दार मानिसलाई समाजमा टिक्न निकै नै गाह्रो भईसकेको छ । किनभने उसँग कुनै आधार हुँदैन, उसको कुरा कसैले सुन्दैन, उसको लागि बोलिदिने कोही हुँदैन, उसको काम बन्दैन, उसलाई कमाई खान गाह्रो स्थिति बनाइन्छ र उसले चारैतिरबाट हेपाई सहनुपर्ने वाध्यता हुन्छ । तर पार्टीमा लागि सकेपछि उ एउटा भिडको हिस्सा हुन्छ र केहि पर्दा उसको लागि आवाज उठाई दिने उसको संगठन हुन्छ । जसकारण उसको जीवन सहज हुन्छ भन्ने उ सोच्छ, त्यसैले सर्वसाधारण जनता आफ्नो फाइदा निम्ती कार्यकर्ता को पगरी लगाउन बाध्य हुनुपरेको छ ।
मानिसलाइ क्ष्लअभलतष्खभ चलायमान बनाउदछ, जसकारण उसले आफ्नोे फाइदाको बारेमा सोच्नु आश्चर्यको कुरा होइन, तर यो कुरापनि बिर्सनु हुदैन कि मानिस समाजमा बस्छ र उ सामाजिक प्राणी पनि हो । उसले आफ्नो फाइदा हेर्दा अरुको अहित हुनुहुँदैन् । तर आज यो देशमा पार्टी, तिनका नेता र कार्यकर्ताहरुले आफ्नो प्रभाबको बलमा गलत क्रियाकलापहरुलाइ अगाडी बढाई सर्वसाधारण जनतालाई अनाहक गरिबीको दलदलमा फस्न बाध्य बनाएका छन् । कानुन अदालतको पोल्टोमा भन्दापनि नेताको गोजीमा रहेको देखिन्छ । आज गलत काम गर्ने व्यक्तिलाइ संगठनको सम्रक्षणको आडमा कानूनी कार्वाही नहुने अवस्था देखिन्छ, अपराधको सजायबाट बच्नु छ भने राजनीतिको सम्रक्षण लिनुपर्छ भन्ने मनस्थितिको विकास भैसकेको छ । आजभोलि हरेक पार्टी भित्र बढ्दै गरेको गलत मनसाय भएका मानिसहरुको बिगबिगी यसको ज्वलन्त उदाहरण हो ।
कुनै पनि देश भाषण, नारा र जुलुशले मात्र ठुलो हुँदैन बरु त्यो देशका जनताले जब राम्रो काम गर्छन अनि मात्र त्यो देश प्रगति तर्फ लम्कन्छ । मलाई लाग्छ कुनै पनि देशलाई समृद्धि तर्फ उन्मुख गराउन त्यो देशका र जनताको ठूलो हात हुन्छ, यसो गर्नको निम्ती देशलाई कार्यकर्ताको भन्दा जनताको खाँचो हुन्छ । किनकी जनताले देशको हितको बारेमा सोच्छन् भने कार्यकर्ताले नेता र पार्टीको हितको बारेमा सोच्दछन् । जनताको लागि देश सर्वोस्व हुन्छ भने कार्यकर्ताको लागि पार्टी र त्यसका नेता । तर विर्सन नहुने कुरा के हो भने, संगठन भन्दा देश जहिले पनि माथि हुन्छ । हामी सधैं पार्टीको पिछलग्गु हुनुपर्छ भन्ने छैन, यदि कुनै पनि पार्टी र त्यसका नेताले देश र जनताको भलो हुने काम गर्दछन् भने उनिहरुको हामीले हृदय देखिनै स्वागत र समर्थन गर्नसक्नु पर्दछ । चाहे तिनीहरु विरोधी पार्टीको नै किन नहुन् । तर यदि आफ्न पार्टीकौ नेताहरुले गलत काम गर्दछन् भने उनीहरुले गरेको गलत कार्यको पनि खुलेर विरोध गर्न सक्नुपर्छ । हामीले उनीहरुको गलत कामलाई सधै ढाकछोप गरेर पिछलग्गु भई हिड्नु पर्छ भन्ने छैन । हा,े राम्रोको साथ दिन सक्नुपर्छ भने गलतलाई त्याग्न पनि सक्नुपर्छ ।
तर आज यो देशमा राजनीति र पर्टिको नाममा यति धेरै गलत क्रियाकलाप भईरहेका छन् त्यसको कुुुनै लेखाजोखा नै छैन् । गलत संस्कृतिले प्रसय पाईरहेको छ र यसका विरुद्ध आवज उठाउने साहस धेरै कमले मात्र गर्दछन् । राजनीतिक कुसंस्कारले गर्दा आज यो देशमा विधिको साशनको स्तर यति गिरि सक्यो कि यो देशमा गलत काम गर्न सहास चाहिँदैन तर सहि काम गर्न ठूलो हिम्मत चाहिन्छ । उदाहरणको लागि बन्द, हडताल र तोडफोड गर्नेलाई कसैले रोक्ने साहास गर्दैन, यहासम्म कि राज्य समेत तमासा मात्र हेरेर बसिरहन्छ । तर गरि खान चाहने मध्ये कसैले बन्द हड्ताल र तोडफोड् संस्कृतिको विरोध गरेमा त्यो मानिसका ज्यान नै जोखिममा पर्नसक्छ । यो देशमा पार्टीको झण्डा लिएर हिड्नेको इज्जत राष्ट्रिय झण्डा लिएर हिड्नेको भन्दा धेरै भएको छ । हुनुपर्ने उल्टा थियो । अब कार्यकर्ता मात्र भएर यो देश अगाडी बढ्दैन, यो देशका जनता कार्यकर्ता भएर धेरै हिडिसके, अब जनता भई देशका लागि जिम्मेवारी उठाउनु पर्नेबेला आएको छ । व्यक्तिगत स्वार्थ र संगठनको हितभन्दा देश र जनताको हितको बारेमा सोच्नुपर्ने बेला आएको छ । कार्यकर्ता मात्र होइन, जनता हुने साहस जुटाउने बेला आएको छ । भोलि हुने निर्वाचनमा स्वबिबेकको प्रयोग गरि हाम्रा भन्दा राम्रा मानिसहरुलाई भोट दिएर हाम्रो प्रतिनिधि छानी यसकुरालाई साकार बनाउने हामि माझ एउटा मौका छ, जसको सहि सदुपयोग गरौ ।