श्रीलंकाबिरुद्ध टेष्ट सिरिज भारतले १–० ले जित्यो

श्रीलंकाबिरुद्ध टेष्ट सिरिज भारतले १–० ले जित्यो

एजेन्सी । भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम टेष्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेष्ट सिरिज भारतले १–० ले जितेको छ ।

भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेष्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेष्ट क्रिकेटमा भारतले श्रीलंकालाई एक इनिङ्स २३९ रनले पराजित गरेको थियो  ।

दिल्लीमा भारतले दिएको ४१० रनको लक्ष्यसहित आफ्नो दोस्रो इनिङ्स थालेको श्रीलंकाले अन्तिम दिनसम्म बुधबार १०३ ओभरमा ५ विकेट गुमाएर २९९ रन बनायो । चौथो दिनको खेल समाप्तिसम्म ३१ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाइसकेको श्रीलंकाले अन्तिम दिन सम्हालिएको प्रदर्शन गर्यो ।

दोस्रो इनिङ्समा श्रीलंकाका लागि धनन्जय डे सिल्भाले ११९ रन जोडे । रिटायर्ड हर्ट हुनुअघि सिल्भाले २१९ बलमा १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रोशेन सिल्भा ७४ तथा निरोशन डिक्वेला ४४ रनमा अविजित रहे । कप्तान दिनेश चण्डीमालले ३६ रन बनाए । भारतका रविन्द्र जडेजाले ३  तथा रविचन्द्र आश्विन र मोहम्मद शामीले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो दोस्रो इनिङ्समा ५ विकेटको क्षतिमा २४६ रन बनाएपछि आफ्नो इनिङ्सको समाप्ति गरेसँगै श्रीलंकाले ४१० रनको चुनौति पाएको थियो । भारतका लागि शिखर धवनले ६७, कप्तान विराट कोहली र रोहित शर्माले समान ५०–५० रनको अर्धशतक प्रहार गरेका थिए ।

श्रीलंकाबिरुद्ध भारतले आफ्नो पहिलो इनिङ्समा ५३६ रन बनाएको थियो । यता श्रीलंकाले भने आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा ३७३ रन मात्रै बनाउन सकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्