विराटनगर वारिवर्सलाई जितका लागि १२८ रनको लक्ष्य

विराटनगर वारिवर्सलाई जितका लागि १२८ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएटर्सले विराटनगर वारिवर्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । भैरहवाले दिएको १२८ रनको लक्ष्यसहित विराटनगरले केहि बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनायो । खराब सुरुवात गरेको भैरहवाको सम्मानजनक स्कोरको लागि आरिफ शेख र पुनित मेहेराले सम्हालिएको प्रदर्शन गरेका थिए । मात्र १८ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको भैरहवाका लागि शेख र मेहेराले पाँचौ विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए । शेख ४६ रनमा क्याच आउट भए । उनले ३१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । मेहेरा ४९ रनमा आउट भए ।

यस्तै भैरहवाका कप्तान शरद भेषवाकर ८ रनमा आउट हुँदा राहुल यादव ७, प्रथम सालुन्के ३ तथा भुपेन्द्र थापा २ रन बनाएर आउट भए ।  विराटनगरका करण केसी र सहान अदिशाले समान २ – २ विकेट लिए । त्यस्तै कप्तान पारस खड्का, बसन्त रेग्मी र अभिनास कर्णले समान १ – १ विकेट लिए ।

इपिएल क्रिकेटमा विराटनगर अपराजित रहदै शिर्ष स्थानमा रहदै क्वालिफायर्समा पुगेको हो । यस्तै लिग चरणको खेलमा विराटनगरसँग ६१ रनले पराजित भैरहवा दोस्रो स्थानमा रहदै क्वालिफायर्समा पुगेको हो । लिगमा विराटनगरले १० अंक जोड्दा भैरहवाले ८ अंक जोडेको थियो ।

पहिलो क्वालिफायर्समा विजेता हुने टोलीले फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । पहिलो एलिमिनेटरमा ललितपुर ग्लाडीयटर्स र पोखरा राइनोजबीच खेल हुनेछ । इपिएलको विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्