विराटनगर वारिवर्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा !!

विराटनगर वारिवर्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा !!

विराटनगर वारिवर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओपनर आसिफ शेखलाई शून्य रनमा गुमाएको विराटनगरको जितमा हङकङका बाबर हायात र अंशुमन रथले उत्कृष्ट पारी खेलेका थिए ।

बाबर र अंशुमनले दोस्रो विकेटको लागि ७४ रनको साझेदारी गरे । अर्धशतक बनाएर आउट भएका बाबरले ६२ रन जोडे । प्रतियोगितामा तेस्रो अर्धशतक बनाएका बाबरले ४ चौका र ५ छक्का प्रहार गरेका थिए । अंशुमन २६ रनमा अविजित रहे । त्यस्तै कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै ४२ रनको योगदान दिए । भैरहवाका हरीशंकर शाह र पुनित मेहेराले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले पूरै २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । खराब सुरुवात गरेको भैरहवाको सम्मानजनक स्कोरको लागि आरिफ शेख र पुनित मेहेराले सम्हालिएको प्रदर्शन गरेका थिए । मात्र १८ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको भैरहवाका लागि शेख र मेहेराले पाँचौं विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए । शेख ४६ रनमा क्याच आउट भए । उनले ३१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । मेहेरा ४९ रनमा आउट भए ।

यस्तै, भैरहवाका कप्तान शरद भेषवाकर ८ रनमा आउट हुँदा राहुल यादव ७, प्रथम सालुन्के ३ तथा भुपेन्द्र थापा २ रन बनाएर आउट भए । विराटनगरका करण केसी र सहान अदिशाले समान २–२ विकेट लिए । त्यस्तै कप्तान पारस खड्का, बसन्त रेग्मी र अभिनास कर्णले समान १ – १ विकेट लिए ।

अब विराटनगरले उपाधिको लागि दोस्रो क्वालिफायर्सको बिजेतासँग शनिबार खेल्नेछ । पराजित भैरहवाले पनि फाइनल प्रबेशको लागि दोस्रो एलिमिनेटर खेल खेल्न पाउनेछ । भैरहवाले अब ललितपुर ग्लाडीयटर्स र पोखरा राइनोजबीचको पहिलो एलिमिनेटर बिजेतासँग खेल्नेछ । दोस्रो एलिमिनेटरमा विजेता हुने टोलीले फाइनलमा विराटनगरसँग खेल्नेछ । इपिएलको विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

इपिएल क्रिकेटमा विराटनगर अपराजित रहँदै शिर्ष स्थानमा रहँदै क्वालिफायर्समा पुगेको थियो । यस्तै लिग चरणको खेलमा विराटनगरसँग ६१ रनले पराजित भैरहवा दोस्रो स्थानमा रहँदै क्वालिफायर्समा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्