विराटनगर विमानस्थल बिस्तार हुदै , जमिन अधिग्रहण प्रक्रिया अघि बढ्यो

विराटनगर विमानस्थल बिस्तार हुदै , जमिन अधिग्रहण प्रक्रिया अघि बढ्यो

शशिधर पराजुली , विराटनगर, माघ २२ गते । विराटनगर विमानस्थलको क्षेत्र विस्तारका लागि लामो समयदेखि रोकिएको जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । विमानस्थलको उत्तर दक्षिणतर्फ आवश्यक चौडाइ नभएकोले विमानस्थल विस्तार गर्न लागिएको हो । जग्गा अधिग्रहण गर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले जमिनको बिक्री वितरण तथा भौतिक पूर्वाधार निर्माणको सबै काम रोकेको थियो । स्थानीयले अधिग्रहणमा सहयोग गर्ने भन्दै जमिनको न्यूनतम मूल्यसहितको निवेदन प्राधिकरणलाई एक वर्षअघि नै बुझाइसकेका छन् । दैनिक मूल्य वृद्धि भइरहेको जमिन अधिग्रहणको नाममा रोक्का हुँदा स्थानीय समस्यामा परेका छन् । एक वर्ष अघिको मूल्यमा अहिले ३० प्रतिशतले वृद्धि भइसकेको छ ।
अधिग्रहण प्रक्रिया लम्बिँदा विराटनगरको जमिन बिक्री गरेर विराटनगर बाहिर बसाइँ सर्नुपर्ने अवस्था आउनसक्ने भन्दै उनीहरूले छिटो अधिग्रहणको काम सक्न आग्रह गरेका छन् । स्थानीय व्यास रेग्मीले भन्नुभयो, हाम्रो जमिन एक वर्षभन्दा लामो समयदेखि रोक्का भएको छ । जमिनको माग दिनदिनै बढ्दैछ भोलि यहाँको जमिनबाट आउने रकमले यसको नजिकै त्यति नै मूल्यमा जमिन पाउने अवस्था हुँदैन त्यसैले छिटो काम सक्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।

विराटनगर नागरिक उड््यन कार्यालयका प्रमुख सुरेशमान सिंहले अब छिट्टै मुआब्जा निर्धारणको काम सम्पन्न हुने जानकारी दिनुभयो । मुआब्जा निर्धारण गर्न हालै मात्र मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा उपसमिति गठन भएको छ । उपसमितिले मूल समितिलाई प्रतिवेदन दिएपछि निर्णय भई अधिग्रहणको काम अघि बढ्ने सिंहले जानकारी दिनुभयो ।
विमानस्थल विस्तार गर्दा त्यहाँ रहेका ५३ घर र उनीहरूले चर्चेको तथा अन्य गरी दुई बिघा आठ कट्ठा छ धुर जमिन अधिग्रहण हुनेछ । घरको मूल्य सहरी विकास तथा भवन डिभिजनबाट निर्धारण भई प्रतिवेदन आइसकेको र अब छिट्टै जमिन अधिग्रहणको काम हुने भएकोले स्थानीयलाई धैर्य गर्न सिंहले आग्रह गर्नुभयो ।
स्थानीयले प्रतिकट्ठा ८० लाखदेखि एक करोड रुपियाँसम्म मुआब्जा पाउनुपर्ने माग राखेका छन् । त्यस विषयमा अधिग्रहण समितिले छलफल गरी सहमति कायम गर्ने बताइएको छ ।
विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न उद्योगी, व्यवसायी तथा जनस्तरबाट पनि माग भइरहेको छ । विमानस्थलको वरिपरि घना बस्ती भएका कारण विस्तारमा समस्या रहेको छ ।
अहिले चौडाइका लागि आवश्यक जमिन लिएको खण्डमा भविष्यमा पश्चिम तर्फबाट रन वे विस्तार गरी विमानस्थलको स्तरोन्नति गर्न सकिने भएकोले जमिन अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।(गोरखापत्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्