विश्व क्रिकेट लिग डिभिजन टु: फाइनलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

विश्व क्रिकेट लिग डिभिजन टु: फाइनलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को फाइनलमा नेपालले आज (बिहिबार) युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको फाइनल खेल नेपाली समय अनुसार दिउसो १ : १५ मा सुरु हुनेछ । बिहिबार नै तेस्रो स्थानको लागि क्यानडा र नामिबिया तथा पाँचौ स्थानको लागि ओमान र केन्या प्रतिस्पर्धा गर्दै छन् ।

बुधबार भएको लिग चरणको अन्तिम खेलमा क्यानडालाई १ विकेटले पराजित गर्दै फाइनल पुगेको नेपालले उपाधिको लागि युएईसँग खेल्न लागेको हो । रोमान्चक खेलमा दशौं नम्बरमा ब्याटिङ्ग गर्न आएका करण केसीले विस्फोटक ब्याटिङ गरेपछि नेपालले उत्कृष्ट जित निकालेको थियो । करणले ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन जोड्दै नेपाललाई महत्वपूर्ण जित दिलाएका हुन् ।

डिभिजन टु को शिर्ष स्थानमा रहँदै विश्वकप छनोटमा समेत पुगेको नेपालले ५ खेलमा ४ जितसहित ८ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो । डिभिजन टु मा नेपालको यो सबैभदा राम्रो स्थान हो । तीनबर्षअघि नामिबियामै नेपाल चौथो स्थानमा रहेको थियो ।

यता, युएईले अन्तिम खेलमा आयोजक नामिबियालाई १९ रनले हराउदै नेपालसँगको भेट पक्का गरेको हो । युएईले ६ अंक जोडेर दोस्रो स्थानमा रहदै फाइनलमा नेपालसँगको फाइनल पक्का गरेको हो ।  क्यानडा र नामिबियासँग समान ६ – ६ अंक जोडेपनि युएई नेट रन रेटमा अघि रहदै फाइनलमा पुगेको हो । क्यानडा तेस्रो र नामिबिया चौथो हुँदै डिभिजन टु मै रहेका छन् । पुछारको दुई टोली ओमान र केन्या भने डिभिजन – ३ मा घटुवा भएका छन् ।

डिभिजन टु को फाइनलमा नेपाल युएईबिरुद्ध उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छ ।  यस्तै नेपाल युएईलाई जारी प्रतियोगितामा दोस्रो पतन जित निकाल्ने दाउमा हुनेछ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराएको थियो । युएई भने लिगमा नेपालसँग बेहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

पछिल्लो नतिजा हेर्ने हो भने नेपालविरुद्ध युएई हावी हुँदै आएको छ ।  सन् २०१४ देखि अहिलेसम्म युएईसँग नेपालले चार खेल खेलेको छ । सन् २०१४ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल युएईसँग १०२ रनले पराजित भएको छ । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तथा सातौं राउण्डमा पनि नेपाल दुबै खेलमा युएईसँग हारेको थियो । तर, आइतबार युएईलाई ४ विकेटले हराउदै नेपालले आफ्नो क्षमता समेत देखाई सकेको छ ।

 नेपाल र युएईबीचको फाइनल खेलपछि सन् २०१९ को एकदिवसीय विश्वकपको लागि आगामी मार्चमा जिम्बाबेमा हुने विश्वकप छनोटको समूह विभाजनको समेत टुङ्गो लाग्ने छ । विश्वकप छनोटमा डिभिजन टु को बिजेता समूह ए मा पर्ने छ भने उपविजेता समूह बि मा रहनेछ ।

आगामी मार्च १ तारिखदेखि २५ मार्चसम्म हुने विश्वकप छनोटमा टेष्ट राष्ट्र वेष्ट इण्डिजसँगै आयरल्याण्ड, नेदरल्याण्ड पपुवा न्युगिनी, अफगानिस्तान, टेष्ट राष्ट्र जिम्बाब्वे, स्कटल्याण्ड र हङकङ रहेको छ ।

छनोटको समूह ए मा टेष्ट राष्ट्र वेष्ट इण्डिजसँगै आयरल्याण्ड, नेदरल्याण्ड पपुवा न्युगिनी रहेका छन् । समूह वि मा आयोजक जिम्बाबे, अफगानिस्तान,  स्कटल्याण्ड र हङकङ रहेका छन् ।छनोटको शिर्ष दुई टोली इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा पुग्ने छ । यस्तै शिर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्दा पुछारको दुई टोली डिभिजन टु मै झर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्