सात बुँदे विराटगर घोषणापत्र जारी गर्दै साहित्य सम्मेलन सकियो

सात बुँदे विराटगर घोषणापत्र जारी गर्दै साहित्य सम्मेलन सकियो

विराटनगर, ५ फागुन ।
७ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै विराट लेखक सम्मेलन आज सकिएको छ । नेपाली लेखक संघ मोरङको आयोजनामा भएको दुईदिने सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको हो । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले तयार पारेको घोषणापत्रमा लेखकीय स्वतन्त्रता र मानवीय नैसर्गिक स्वभावमा आस्था राख्दै सिर्जना कर्मका माध्यमबाट मानवीय मूल्य तथा सामाजिक लोकतन्त्रको प्रवद्र्धनमा प्रतिबद्ध रहने, नेपालका भाषा, साहित्य र संस्कृतिको संरक्षण, सम्वद्र्धन संवैधानिक लोकतान्त्रिक प्रणालीअन्तर्गत सञ्चालन गर्नेतर्फ ध्यानाकर्षण गराउने, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि ७ वटै प्रदेशमा अबिलम्ब प्रज्ञा प्रतिष्ठान गठन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ ।
संघका मोरङ अध्यक्ष गोकुल अधिकारीका अनुसार नेपालका सबै भाषा, साहित्य र संस्कृतिका मौलिक चिन्तन परम्पराको विकासका लागि अग्रसर रहने, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न एक–एक पुस्तकालय एवं बहुसांस्कृतिक संग्राहलयको व्यवस्था मिलाउन प्रत्येक प्रदेश सरकारलाई अनुरोध गर्ने, सबै प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिको अध्ययन, अनुसन्धानलाई लेखक संघले निरन्तरता दिने र नेपाली लेखक संघबाट विराट लेखक सम्मेलनजस्ता वैचारिक विमर्शहरू सबै प्रदेशमा निरन्तरता दिने बुँदालाई घोषणा समावेश गरिएको छ ।
सम्मेलनको दोस्रो दिन वरिष्ठ समालोचक डा. लक्ष्मणप्रसाद गौतमले ‘प्रजातन्त्रवादी समकालीन नेपाली कविहरूका कवितामा राष्ट्रिय चेतना’ विषयक कार्यपत्र प्रस्तुत गरेको संघका सचिव मीनकुमार नवोदितले जानकारी दिए । २००८ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अग्रसरतामा स्थापित लेखक संघ हाल ६० भन्दा बढी जिल्लामा विस्तार भइसकेको छ । ७ वटै प्रदेशबाट उपस्थित ८० भन्दा बढी कविहरूले आ–सिर्जना प्रस्तुत गरेका थिए ।
यसैबीच, सम्मेलनमा सहभागी हुन आएका लेखक साहित्यकारहरूले कृष्णप्रसाद कोइराला, तारणीप्रसाद कोइराला र वीपी कोइरालाले साहित्य सिर्जना गरेको स्थल कोइराला निवासको अवलोकन गरे । विराटनगरस्थित कोइराला निवास पुगेर साहित्यिक परिचर्चासमेत गरेका थिए । कार्यक्रममा प्राज्ञ दधि राज सुवेदीले कोइराला परिवारको राजनीतिमा मात्रै नभएर साहित्यिक क्षेत्रमा समेत अतुलनीय योगदान रहेको चर्चा गरे । उनले वीपीको साहित्यिक व्यक्तित्वका विषयमा प्रकाश पारे ।
त्यस्तै काठमाडौंबाट प्रकाशित हुने कल्पतरुको वीपी कोइराला साहित्यिक विशेषांकको कांग्रेस नेता डा. शेखर कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, लेखक संघका केन्द्रीय अध्यक्ष श्रवण मुकारुङलगायतले विमोचन गरेका थिए । डा. कोइरालाले लेखक साहित्यकारको सम्मानमा चियापानको समेत आयोजना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्