विराटनगर भन्सार राजश्व अपचलन: भन्सार एजेन्ट अझै फरार, लाईसेन्स रद्द

विराटनगर भन्सार राजश्व अपचलन: भन्सार एजेन्ट अझै फरार, लाईसेन्स रद्द

विराटनगर, २९ फागुन ।
विराटनगर भन्सार कार्यालयमा राजश्व अपचलन गर्ने दुई एजेण्टको लाईसेन्स रद्द गरिने भएको छ । सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिस बिराटनगरका प्रोप्राईटर सुरेश बोहोरा र उनका प्रतिनिधि भन्सार एजेन्ट ललित बोहराको लाईसेन्स रद्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले रद्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले भन्सार ऐन अनुसार स्पष्टिकरण सोधिएको र त्यसको जवाफ नआएकाले प्रक्रिया पु¥याएर २/३ दिनमै दुबैको लाईसेन्स रद्द गरिने बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक बन्दरगाहा शाखाका कर्मचारीको मिलेमतोमा ९ करोड ६१ लाख ५५ हजार राजश्व अपचलन भएको तथ्य बाहिर आएको थियो । बैंक कर्मचारीको मिलेमतोमा बैंकको भन्सार काउण्टरमा सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिस बिराटनगरले प्रज्ञापनपत्र वापतको भन्सार राजश्व बैंकमा दाखिला नगरी अपचलन गरेको थियो । त्यसैको आधारमा प्रहरीले बैंकका कर्मचारी काउण्टर ईन्चार्ज वरिष्ठ सहायक तोर्णराज राउत र शाखा प्रबन्धक विष्णुप्रसाद निरौला पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर अहिले भन्सार एजेण्ट पक्राउ पर्न सकेका छैनन । मोरङका प्रहरी उपरिक्षक अरुणकुमार विसीका अनुसार भन्सार एजेण्ट बोहोरा दाजुभाई सम्पर्कमा नभएकोले नेपाल बाहिर फरार भएको हुनसक्छ । फरार रहेका उनीहरुको बिषयमा खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्