वैज्ञानिक वन ब्यवस्थापन विवादमा, वन फडानी तत्काल रोक्न निर्देशन

वैज्ञानिक वन ब्यवस्थापन विवादमा, वन फडानी तत्काल रोक्न निर्देशन

विराटनगर, ३ चैत
उत्तरी मोरङको चारकोसे जंगल फडानी तिब्र भएको उजुरी आएपछि मुख्यमन्त्री कार्यालयले चासो दिएकोछ । उत्तरी मोरङमा भईरहेको फडानी बारे प्रदेश नम्बर १को मुख्यमन्त्री कार्यालयमा उजुरी परेपछि त्यस कामलाई तत्काल रोक्न निर्देशन दिईएको हो । जिल्ला वन कार्यालयको मिलेमतोमा वैज्ञानिक वन व्यवस्थापनको नाममा वन फडानी बढेको भन्दै उजुरी परेको थियो ।
काठमाडौंमा रहनुभएका मुख्यमन्त्री शेरधन राईले प्रदेशका प्रमुख सचिब यादवराज कोइरालालाई फोन गरी वन फडानीको सूचना आएको भन्दै त्यसबारे जानकारी लिएर तत्काल रोक्न निर्देशन दिनु भएको हो । मुख्यमन्त्री राई आज विराटनगर फर्कने कार्यक्रम छ । जथाभाबी वन फडानी भइरहेको गुनासो आएपछि त्यसबारे बुझ्न वन कर्मचारीलाई आईतवार बोलाईएको छ।
उत्तरी मोरङको वन कार्यालय र वन उपभोक्ता समितिसमेतको मिलेमतोमा जंगल फडानी भइरहेको सूचना आएपछि मुख्यमन्त्रीले त्यसबारे चासो लिनुभएको उहाँको सचिबालयले जनाएको छ । नियम विपरित वन फडानी भएको पाइएमा उपभोक्ता समितिहरुका पदाधिकारीसहित वन कर्मचारीमाथि पनि कार्वाही हुने जनाईएको छ ।
मुख्यमन्त्रीको निर्देशनपछि प्रमुखसचिब कोइरालाले त्यस बारेमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसँग पनि जानकारी लिनुभएको छ । आचार्यले पनि वन फडानीबारे जिल्ला वन अधिकृत डा. विनोद देवकोटासँग जानकारी लिनु भएको छ ।
नेपाल सरकारको स्वीकृत कार्यक्रम र रेडबुकमा परेको योजना अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम भइरहेको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । डा. देवकोटाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत तोकिएको मापदण्डभित्र रुख कटान भइरहेको जानकारी दिनुभयो । जथाभाबी वन फडानी भएको र तस्कर तथा बन कार्यालयको मिलेमतो रहेको भन्ने कुरा झुटो भएको उहाँको भनाइ छ ।
वनको बैज्ञानिकको नाममा ठुला रुख ध्वस्त
वन मन्त्रालयले केही वर्ष अघिदेखि नै वैज्ञानिक वन व्यवस्थापन भन्दै पुराना रुखहरु कटान गर्ने र नयाँ रोप्ने नीति लिएको छ । जसअनुसार सुकेका, ढलेका र ८० वर्ष पुराना रुखहरु कटान गरेर नयाँ रोपिन्छ । यसैगरी बाक्लो भएमा स्थानका रुख पनि कटान गरिन्छ । वन कार्यालयले तोकेको मापदण्ड अनुसार अध्ययनपछि टाँचा लगाएका रुख मात्र काट्ने गरिएकोले गलत काम नभएको वन कार्यालयको दावी छ । मोरङका २० वटा सामुदायिक वन र ४ वटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम चलिरहेको छ । प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी र उदयपुरमा संचालित कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्