विराटनगरमा मोफसलमै पहिलो रात्रिकालिन गोल्डकप , करिव एक करोड खर्च हुन सक्ने अनुमान

विराटनगरमा मोफसलमै पहिलो रात्रिकालिन गोल्डकप , करिव एक करोड खर्च हुन सक्ने अनुमान

प्रेम देवान
विराटनगर, ४ चैत ।
मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको छ । पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । आयोजकले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल आयोजना गर्न लागिएको जनाएको छ । यस अघि दिवाकालीन समयमा मात्रै प्रतियोगिता हुँदै आएको थियो ।
गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले रात्रिकालीन समयमा फ्लडलाइट म्याच खेलाउने जमर्को गरिएको जानकारी दिनुभयो । ‘यस पटक भिन्न तरिकाबाट रात्रिकालीन खेल खेलाउन लागिएको हो,’ उहाँले भन्नुभयोे, ‘त्यसका लागि प्रतियोगिता आयोजना स्थल सहिद रंगशाला वरपर ६ वटा बत्ती जडान गर्दै पर्याप्त मात्रमा लाइटको व्यवस्था गरिने छ ।’
प्रतियोगिता उद्घाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । दिवाकालिन समयमा मात्रै प्रतियोगिता आयोजना गर्दा दर्शकको साथ त्यति नपाइएको विगतलाई हेरेर दर्शक आकर्षित गर्न आयोजकले यस वर्ष नयाँ उपाय लगाएको हो ।
विद्यार्थी, कर्मचारी, व्यवसायी, लगायत सबै पेशाकर्मीलाई समय व्यवस्थापन गर्न सजिलो होस र प्रतियोगिता रोमाञ्चक बनोस भनेर डे–नाइट खेल आयोजनाको जमर्को गरिएको रिजालको भनाई छ ।
दर्शकलाई मनोरञ्जन प्रदान गर्ने, फुटबल प्रतिको आकर्षण बढाउने, नेपाली खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, स्थानीयलाई विदेशी खेलाडीसंग खेल्ने अवसर प्रदान गर्ने, खेललाई व्यवसायिक रुप प्रदान गर्ने र विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने प्रतियोगिताको मुख्य उदेश्य छ ।
विभिन्न प्राविधिक कारण देखाउँदै गत वर्ष भने प्रतियोगिता हुन सकेन । यस वर्ष ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नारा दिएर गोल्डकप आयोजना गर्न लागिएको छ । गोल्डकपलाई भव्य र सभ्य बनाउन भन्दै विभिन्न २६ वटा उपसमितिहरु गठन गरिएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी दिईएको छ ।
भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लबले गोल्डकपमा भाग लिने छन् । भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लब मध्ये एउटाले सहभागिता जनाउने छ । नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर सातवटा टिमको सहभागिता रहने अध्यक्ष रिजालले बताउनुभयो । २०७२ सालको प्रतियोगिताको उपाधि भने नेपाल पुलिसको जितेको थियो ।
पुरस्कारको राशी दोब्बर बढी
यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शिल्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । अध्यक्ष रिजालका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरिएको जानकारी रिजालले जानकारी दिनुभयो । आयोजकले प्रतियोगितामा एक करोड तीन लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा संचालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको थियो । २०६८, ०६९, ०७१ र ०७२ सालमा भने विराट गोल्डकपका नाममा संचालन प्रतियोगिता संचालन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्