विराटनगर, ६ चैत ।
समग्र पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न ठूला परियोजना भित्र्याउन प्रदेश १ का उद्योगी व्यवसायीहरूले लगानी बोर्डलाई सुझाव दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उद्योगीहरूले पर्यटनको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ठूला विदेशी परियोजनालाई भित्र्याउन सुझाव दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको मात्रै होइन अन्तर्राष्ट्रियस्तरको बनाउनु जरुरी रहेको बताउनु भयो । यस्तै पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले विराटनगर विमानस्थलबाटै आन्तरिक उडान गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छाले सगरमाथा, कञ्चनजंघाका साथै पाथिभरा, हलेसीसम्म पुग्नका लागि केवलकारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उद्योगी भोला दुलालले विद्युतीय गाडी उत्पादनका लागि वैदेशिक लगानी भित्र्याउन सुझाव दिनुभयो । महासंघका प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले १ नम्बर क्षेत्रका उद्योगी व्यवसायीबाट आएका सुझाव संकलनलाई आत्मसाथ गरेर अगाडि बढ्न लगानी बोर्डलाई आग्रह गर्नुभयो ।
छलफलमा लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १० अर्बभन्दा माथिका परियोजनामा मात्रै वैदेशिक लगानी भित्र्याउन पाइने व्यवस्था रहेको बताउनु भयो ।
पुरानो कार्यशैली र मानसिकताले अब मुलुक अगाडि बढ्न नसक्ने बताउँदै कुन क्षेत्रबाट आर्थिक समृद्धि हुन्छ पहिचान गरेर त्यसमै लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।