प्रदेश १को प्रदेशसभा नियमावली संशोधन सहित सर्बसम्मत पारित

प्रदेश १को प्रदेशसभा नियमावली संशोधन सहित सर्बसम्मत पारित

विराटनगर, ८ चैत ।
प्रदेश नम्वर १ को प्रदेशसभा नियमावली २०७४ आज पारित भएको छ । प्रदेशसभाको सातौं बैठकले २ सय ११ नियम र ७ अनुसूचि भएको नियमावली सर्वसम्मतीले पारित गरेको हो ।
प्रदेशसभा सदस्य लिलावल्लभ अधिकारीको संयोजकत्वमा गठन भएको ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समितिले तयार गरी सदनमा प्रस्ताव गरेको नियमावली संशोधनसहित पारित भएको हो ।
सदनमा पेश भएको नियमावली मस्यौदामाथि नेकपा एमालेकी सांसद उषाकला राईले संशोधन दर्ता गराउनुभएको थियो । नियमावलीमा व्यवस्था गरिएको सुन्य समय र प्रस्नोत्तर समयको छुट्टाछुट्टै प्रावधानले अलमल भएको भन्दै उहाँले स्पष्ट हुने गरी एउटा मात्र व्यवस्था गर्न संशोधन दर्ता गराउनुभएको थियो । राईले दर्ता गराउनुभएको संशोधन प्रस्ताव सर्वसम्मतीले पारित भएपछि नियमावलीको अंग बनेको घोषणा गरिएको थियो । संशोधन पछि सुन्य समयको अवधि एक घण्टा ३० मिनेट कायम भएको छ । नियमावलीले विभिन्न सात वटा संसदीय समिति गठन हुने व्यवस्था गरेको छ ।
संसदको नियमित कार्य संचालनलाई व्यवस्थित गर्न झन्झटिलो विधिहरुलाई सकेसम्म समावेश नगरी छोटो र प्रभावकारी हुने गरी मौलिकरुपमा तयार पारिएको मस्यौदा समितिका संयोजक लिलावल्लभ अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीले प्रस्तताव गर्नुभएको नियमावली मस्यौदामाथि १३ जना सांसदहरुले टिप्पणी गर्नुभएको थियो । प्रदेशसभा नियमावलीमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल गर्नुहुँदै नेकपा एमालेका सांसद रामबहादुर राईले गलत कृयाकलाप गर्ने सांसदलाई निलम्वन गर्ने समयमा एकरुपता हुनुपर्ने बताउनुभयो ।
यसैगरी सांसद सर्वध्वज साँवाले बैठक समयमा सुरु गर्ने र जिम्मेवार बन्ने विषय पनि नियमावलीमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाली काग्रेंसका सांसद तथा सचेतक केदार कार्कीले सहमतिको संस्कारबाट अघि बढ्न र दम्भ नराख्न आग्ह गर्नुभयो । उहाँले नियमावली सांसदको आचारसंहिता भएकोले सबैले पालना गर्ने र समस्या आए परिमार्जन गरेर अघि बढ्ने विधिमा जानु पर्ने बताउनुभयो । काग्रेंसका अर्का सांसद सुयर्माराज राईले प्रदेशस नम्वर १ लाई समुन्नत र सुसंस्कृत बनाउन आफ्नो पन र मौलिकतालाई ख्यालमा राखेर मस्यौदा तयार पारेकोले समर्थन रहेको जनाउनुभयो ।
छलफलमा नेकपा एमालेका सांसदहरु उषाकला राई, निरन राई, हिराकुमार थापा, यशोधा अधिकारी, नेकपा माओवादी केन्द्रका नारायणबहादुर मगर र सीता थेवे सहभागि हुनुभयो । यसैगरी सघीय समाजवादी फोरमका तर्फबाट जयराम यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्दिरा राई र संघीय लिम्वुवान राष्ट्रिय मञ्चकी बिष्णु तुम्वाहाम्फेले नियमावली मस्यौदामाथि आफ्नो धारणा राख्नुभएको थियो । नियमावली पारित पछि आगामी चैत १४ गते दिउँसा १ बजेसम्मकालागि बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्