मलेसियामा ‘फेक न्युज’ लेखेको पाइए १० वर्षसम्मको जेल हुने

मलेसियामा ‘फेक न्युज’ लेखेको पाइए १० वर्षसम्मको जेल हुने

एजेन्सी । मलेसियाका प्रधानमन्त्री नाजिब राजकको सरकारले सोमबार ‘फेक न्युज’ अर्थात झुटो समाचारविरुद्ध भारी जरिबानाका साथै १० वर्षसम्मको जेल सजाय तोक्ने विधेयक प्रस्ताव गरेको छ ।

तर उक्त प्रस्तावले संचार माध्यमको स्वतन्त्रतालाई लिएर भने प्रश्न उठाइरहेको बताइएको छ । वास्तवमा प्रधानमन्त्री नाजिबमाथि राष्ट्रद्वारा सञ्चालित कम्पनी, १–एमडीबी बाट अरबौँ डलर आफ्नो व्यक्तिगत अकाउन्टमा पठाएको आरोप छ । यसैकारणले जनताबाट आलोचित भइरहेका नाजिबले निर्वाचनपूर्व नै यस्तो विधेयक प्रस्तुत गर्नुलाई नयाँ रणनीति मानिएको रोयटर्सले जनाएको छ ।

नक्कली समाचारविरुद्ध २०१८ को यस विधेयक अन्तर्गत झुटो समाचार प्रकाशित गर्ने वा प्रचार गर्ने जोकोहीलाई ५ लाख रिङ्गेट (१ लाख डलर भन्दा बढी) को जरीवाना वा १० वर्षसम्मको जेल सजाय तोकिनेछ ।

सरकारद्वारा प्रस्तावित सो विधेयकले जनतालाई गलत सूचनाबाट जोगाउनुका साथै सर्वसाधारणको वक्तव्य र अभिव्यक्ति सम्बन्धि अधिकारलाई समेत सुनिश्चि गर्ने दाबी गरिएको छ । सरकारले ‘फेक न्युज’ लाई ‘कुनैपनि समाचार, जानकारी वा रिपोर्ट पूर्ण रुपमा झुटो हुनु वा आधा गलत हुनु रहेको’ भन्दै व्याख्या गरेको छ । डिजिटल प्रकाशन र सामाजिक संजाललाई समेत समेट्ने बताइएको सो कानुन, मलेसियाका जनतालाई प्रभाव पार्ने विदेशी संचारमा समेत लागु हुने उल्लेख गरिएको छ । यो नयाँ कानुनपछि सर्वसाधारण अझ जिम्मेवार बन्ने र कुनैपनि संवेदनशील जानकारीको प्रचार गर्नुअघि सावधानी अपनाउने सरकारको अपेक्षा रहेको बताइएको छ ।

अर्कोतर्फ विपक्षी कानुन निर्माताहरुले भने सरकारसँग पहिले नै मिडिया स्वतन्त्रताको शक्ति हुँदाहुँदै पनि यस प्रकारको विवादित ऐन प्रस्तावित गर्नु अनावश्यक रहेको बताएका छन् । सरकारको उक्त कदमले संचार क्षेत्रमाथि ठूलो प्रहार गरेको र मानिसहरुमा त्रास फैलाउने प्रयास भइरहेको बताउँदै विपक्षी कानून निर्माता ओङ किआन मिङले ट्वीटरमार्फत विरोध जनाएका हुन् । त्यसैगरी मानव अधिकार समूह एम्नेस्टी इन्टरनेस्नलले पनि सो बिल तुरुन्तै खारेज गर्न माग गरेको छ । यस समूहका निदेर्शक जेम्स गोमेजले भने, ‘यो कदमले शान्तिपूर्ण आलोचनामार्फत सरकारलाई जोगाउने काम मात्र गरिरहेको छ ।’ मलेशियाको राष्ट्रिय पत्रकार संघले पनि सो कानूनले सरकारलाई असिमित क्षमता दिएको र त्यसलाई संचार माध्यम विरुद्ध सजिलै दुरुपयोग गर्न सकिने बताएको छ ।

वास्तवमा यो ‘फेक न्युज’ भन्ने अभिव्यक्ति सर्वप्रथम अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना आलोचक मिडियाका लागि प्रयोग गरेका थिए । त्यसैसमय देखि सो शब्द व्यापक रुपमा प्रयोग गर्न थालिएकोे बताइन्छ । अझै पनि ट्रम्पले आफूमाथिका विभिन्न आरोपलाई गलत ठहर गर्न यही अभिव्यक्ति दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्