डीपीएल – काठमाडौंलाई हराएर धनगढी डीपीएल–२ को फाइनलमा

डीपीएल – काठमाडौंलाई हराएर धनगढी डीपीएल–२ को फाइनलमा

काठमाडौं । टिम चौराह धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो ।

१२८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । धनगढीका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । अन्तिम ओभर बलिङ गर्न काठमाडौंका राशिद खान आएका थिए । राशिदले तेस्रो बलमा शंकर राना र चौथो बलमा योगेन्द्रसिंह कार्कीलाई आउट गराएपछि धनगढी निकै दबाबमा आएको थियो । तर निकै रोमाञ्चक बनेको खेलमा सेकेन्ड लाष्ट बलमा सामसद शेखले छक्का प्रहार गर्दै धनगढीलाई जित दिलाए ।

धनगढीका लागि रोहन मुस्ताफाले ३३, संकर राणाले २८, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन बनाएका थिए । यता, बलिङतर्फ, सुन्नी पटेल, शाहब आलम र राशिद खानले समान २–२ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६ र पुष्प थापाले १६ रन बनाएका थिए ।

बलिङतर्फ कप्तान सोमपाल कामी र ललित भण्डारीले समान २–२ विकेट लिए । पराजित काठमाडौंले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल खेल्नेछ । आजै इलिमिनेटरअन्तर्गत सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्