सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु, यस्तो छ कारण

सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु, यस्तो छ कारण

वैशाख २– सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु भएको छ । पछिल्लो समय सिरियामा भएको रसायनिक आक्रमणपछि पश्चिमी देशहरुले जवाफी कारवाही गरेको जनाएका छन् ।

सिरियाली सरकारले रसायनिक हतियार बनाइरहेको आरोप लगाउँदै अमेरिका, बेलायत र रुसले त्यसमा रोक लगाउन रासायनिक हतियार भइरहेका ठाउँमा आक्रमण गरेको जनाएका छन् । शनिबार बिहानै ती देशहरुले सिरियाका थुप्रै ठाउँहरुमा रासायनिक हतियार बनाएको आशंकामा आक्रमण गरेका छन् ।

अमेरिकाले सिरियाको दमास्कस र होम्स नजिकै तीनवटा आक्रमण गरेको जनाएको छ ।

रुसले भने अन्य ठाउँमा पनि मिसाइल आक्रमण भएको र धेरै आक्रमणलाई सिरियाली सैनिकले रोकेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त कारवाही अत्याचार र क्रुरताविरुद्ध भएको बताएका छन् । रुसका राष्ट्रपतिले आक्रमणको निन्दा गरेका छन् र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक तत्काल बोलाउन आग्रह गरेका छन् ।

सिरियाका राष्ट्रपति बसर अल असदले सिरियामा विद्रोहीलाई पुनः ब्यूत्याएको प्रतिक्रिया दिएका छन् ।

असदले पश्चिमी देशले आतकंवादलाई समर्थन गरेको आरोप लगाएका छन् ।

अमेरिकासँग मिलेर सिरियामा गरिएको मिसाइल आक्रमणका बारेमा बेलायतका विपक्षी दलका नेता जेरेमी कोरबाइनले असन्तोष प्रकट गरेका छन् । उनले पत्रमार्फत बेलायतले अमेरिकासँग मिलेर सिरियामा मिसाइल आक्रमण गर्ने कानुनी आधार देखाउन अनुरोध गरेका छन् ।

उनले टेरिजा मेलाई प्रधानमन्त्री अमेरिकाको राष्ट्रपतिभन्दा देशसँग  र देशको संसदसँग जवाफदेही हुनुपर्ने बताएका छन् । अमेरिका, फ्रान्स र बेलायतले सिरियामा गरिएको हमलाको कानुनी आधार सिरियाली सरकारले रासायनीक हतियार बनाउन रोक्नुका लागि रहेको बताएका छन् ।

बेलायती प्रधानमन्त्री टेरिजा मेले बेलायत सधैँ विश्वका नियम विपरीत काम गर्नेको विरुद्धमा उभिने बताएकी छिन् । मेले यो आक्रमण संयुक्त राष्ट्रसंघको नियम अनुसार नै भएको बताएकी छिन् । संयुक्त राष्ट्रसंघको नियमले आत्मरक्षाका लागि आक्रमण गर्न मिल्ने बताएकी छिन् ।

चीनले त्यस्तो आक्रमण अन्तराष्ट्रिय नियम विपरित भएको प्रतिक्रिया दिएको छ । चीनले अमेरिकी नेतृत्वमा सिरियामाथि भएको हमला अन्तराष्ट्रिय सन्धि, सम्झौता विपरीत भएको जनाएको छ ।

ओपीसीडब्लूले रासायनिक हमला भएको भनिएको सिरिया आक्रमणको अनुसन्धान बाँकी नै रहेको बताएको छ । रासायनिक हतियारको रोकथामका लागि स्थापना भएको संस्था ‘द अर्गनाइजेशन फर द प्रिभेन्सन अफ् केमिकल वेपन्स’ (ओपीसीडब्लू) ले सिरियामा गएको हप्ता भएको आक्रमणमा रासायनिक आक्रमण भए नभएको अनुसन्धान गर्न बाँकी नै रहेको जनाएको छ ।

इजरायलले जोर्डन नदीको १ हजार ८ सय मिटर वर्ग किलोमिटरमा हवाई उडान बन्द गरेको छ । सिरियामा भएको आक्रमणलाई लक्षित गर्दै इजरायलले अप्रिलको अन्तिमसम्म हवाई उडान बन्द हुने जनाएको छ ।  फ्रान्सले गएको हप्ता सिरियामा भएको आक्रमणमा सिरिया सरकारले रासायनिक हतियारको प्रयोग गरेको र त्यसका लागि सर्वसाधारणबाट आएका जानकारीलाई अध्ययन गरिरहेको जनाएको छ ।

पश्चिमी आक्रमण कमजोर भएको सिरियाली सरकारले जनाएको छ । विद्रोही पक्षले पश्चिमी आक्रमणले सिरियाली सरकारलाई सत्ताच्यूत गर्न बाध्य गर्ने आकांक्षा व्यक्त गरे पनि त्यो कमजोर भएको ठहरिएको छ । दक्षिणी देशहरुले गरेको आक्रमणले खासै क्षति नपुगेको जनाइएको छ ।

आउँदो मार्च १५ मा सिरियाको गृहयुद्ध सुरु भएको ८ वर्ष पुग्छ । अहिलेसम्म ४ लाख ६५ हजारभन्दा धेरै सिरियाली नागरिक युद्धमा मारिएका छन् । करोडौं नागरिक अंग–भंग भएर बाँच्न बाध्य छन् । कयौं बलात्कारको शिकार भएका छन् भने कयौं बालबालिका अभिभावकविहीन बन्न पुगेका छन् । हजारौं नागरिक अन्य देशमा शरण लिएर बस्न बाध्य भएका छन् । सिरियाले आधाभन्दा बढी नागरिक युद्धमा गुमाइसकेको छ ।

सिरिया मुद्धामा विश्वले मानवीयताको नजरबाट हेर्नुपर्ने हुन्छ । शक्ति राष्ट्रका सिमित स्वार्थले सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको छ । युद्ध रोकिने कुनै संकेत छैन् । शक्ति राष्ट्रहरुलाई आफूहरुले उत्पादन र निर्माण गरेका आधुनिक आणविक हतियार परीक्षण गर्ने थलो बनेको छ सिरिया ।

स्वतन्त्रताको अभाव र अर्थतन्त्रमा आएको गिरावटका कारण नागरिकबाट सिरियाको सरकार विरोधी स्वरहरु सुनिन थाल्यो । तर सरकारले त्यस्तो आवाजलाई दवाउन चरम दमन सुरु गर्यो जसले भयावह गृहयुद्धको रुप लियो ।

सन् २०११ मा ट्युनिसिया र इजिप्टका तानाशाही राष्ट्रपतिलाई हटाउन चलेको आन्दोलन –(अरब स्प्रीङ)ले सिरियामा प्रजातान्त्रिक समर्थकलाई हौसला प्रदान ग¥यो ।
त्यसपछि सिरियामा शान्तिपूर्ण प्रदर्शनले गति लिन थाल्यो ।

शान्तिपूर्ण प्रदर्शन गरिरहेकै बेला १५ जना युवाहरुलाई सिरिया सरकारले पक्राउ गर्यो र चरम यातना दिन थाल्यो । अरब आन्दोलनको समर्थन गर्दै सिरिया सरकारको विरुद्धमा प्रजातन्त्र पक्षधरले गरेको आन्दोलन बसर अल असदको सरकारलाई सैह्य भएन र उनीहरुलाई पक्राउ गरी चरम यातना दिइयो । त्यही शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको आरोपमा १३ वर्षका एक युवालाई क्रुर यातना दिएर हत्या गरियो ।

त्यसपछि बसर अल असदको सरकारविरुद्ध प्रजातन्त्रिक पक्षधरले विरोध जनाउँदै आन्दोलनको मोर्चा खडा गरे । सरकारले आन्दोलनलाई दबाउन सयौं आन्दोलनकारीको हत्या गर्यो र धेरैलाई जेल हालिदियो ।

सन् २०११ को जुलाइमा प्रजातान्त्रिक पक्षधरले सरकारको दमनविरुद्ध आन्दोलनको लागि ‘फ्रि सिरियन आर्मी’ नामको सैन्य समूह खडा गरे । सैन्य समूहले तानाशाही सरकारलाई बर्खास्त गरेर प्रजातान्त्रिक स्थापना गर्ने उद्देश्य बनाएको थिए ।

सन् २०११ मा प्रजातान्त्रिक पक्षधरले तानाशाही सरकारविरुद्ध लड्न बनाएको सैन्य समूह विभाजनरहित थियो तर, सैनिक युद्ध भएपछि त्यो समूह धार्मिक सम्प्रदायका आधारमा विभाजित हुन पुग्यो ।

धेरैजसो सिरियाका नागरिक सुन्नी सम्प्रदायका थिए तर सिरियाको सरकार बसर अल असद र उनको सैन्य समूहमा ‘आलोह्वीट’ सम्प्रदायको बर्चस्व थियो । सरकारको सैन्य समूहले सुन्नी सम्प्रदायका नागरिकमाथि बढी निगरानी बढाएर आक्रमण गर्यो । त्यसले जातीय सम्प्रदायिक युद्धको बीउ रोप्यो ।

सन् १९८२ मा बसर अल असदको बुवा हाफेज अल असदले सिरियाको हामाममा सुन्नी सम्प्रदायको संस्था मुस्लिम ब्रदरहुडमा आवद्ध नागरिकमाथि आक्रमण गरेका थिए जहाँ हजारौं नागरिकको ज्यान गएको थियो । सुन्नी सम्प्रदायले बसर अल असदको सरकारले पनि त्यस्तै गर्न लागेको भन्दै आन्दोलनलाई अझ सशक्त बनाउन अग्रसर भए ।

ग्लोबल वार्मिङ पनि एउटा कारण थियो सिरियामा विद्रोह निम्त्याउने । सन् २००७ देखि २०१० सम्म सिरियामा अत्याधिक मात्रामा खडेरी पर्यो । गाउँका नागरिक भोकभोकै हुन थालेपछि शहर पसे । करिब एक लाख ५० हजार नागरिक खाद्यान्न संकटबाट ग्रसित भएर शहर पसेका थिए । त्यसले गरिबी र सामाजिक विचलन निम्त्याइदियो ।

अन्तराष्ट्रिय शक्ति देशहरुको संलग्नताले सिरियाको गृहयुद्धमा ठूलो भूमिका खेलेको छ । सन् २०१५ मा रुस सिरियाको गृहयुद्धमा छिर्यो र बसर अल असदको सरकारलाई सहयोग गर्न सुरु गर्यो ।

मुस्लिमको सिया सम्प्रदायको बहुल्यता भएका देशहरु इरान, इराक र हेज्बुल्लाहको बाहुल्यता भएको लेबनानले बसर अल असदको सरकारलाई सहयोग गरे ।
त्यस्तै सुन्नी सम्प्रदायको बहुल्यता भएका देशहरु टर्की, कतार, साउदी अरेबिया जस्ता देशहरुले सरकार बिरोधी शक्तिलाई समर्थन गर्न थाले । सन् २०१६ देखि टर्कीले आफ्नो सीमा नजिकै इराकको इस्लामिक स्टेट (आईएसआईएस) विरुद्ध सैन्य कारवाही सुरु गर्यो ।

अमेरिकाले बसर अल असदको विरुद्ध लडिरहेका सैन्य समूहलाई हतियार प्रदान गर्यो र सन् २०१४ देखि अन्तर्राष्ट्रिय गठबन्धनका साथ आईएसआईएसविरुद्ध लड्न सघायो । सन् २०१७ मा इजरायलले सिरियामा हज्बुल्लाह र सरकार समर्थित विरुद्ध सैन्य कारवाही सुरु गर्यो । सन् २०१८ मा इजरायली युद्ध विमानलाई सिरियाले खासालिदिएको थियो ।

अमेरिकाले बसर अल असद समर्थित लडाकूका विरुद्ध हतियारको सहयोग गर्दै आए पनि आफै पूर्ण रुपमा संलग्न रहेको थिएन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक हतियारको प्रयोग भए सैन्य हस्तक्षेप हुने चेतावनी दिएका थिए ।

सन् २०१७ मा अमेरिकाले आफ्नै संलग्नतामा पहिलो सैन्य कारवाही गरेको थियो । रासायनिक आक्रमण भएको भन्दै अमेरिकाले ‘५९ तमाहक क्रुज मिसाइल’ बाट सिरियाको एयर फोर्समा आक्रमण गरेको थियो ।

सन् २०१३ मा अमेरिकाको गुप्तचर संस्था सीआईएले बसर अल असदविरुद्धका विद्रोहीलाई तालिम र आर्थिक सहायता गर्न थाल्यो । सीआईएले झण्डै एक अर्ब खर्च गरेको थियो भने ६० जान सरकार बिद्रोहीलाई मात्रै तालिम दिन सफल भएको थियो । त्यस कदमको चौतर्फी विरोध भएपछि त्यो कार्यक्रम अमेरिकाले पछि बन्द गर्यो ।

सन् २०१५ को सेप्टेम्बरमा रुसले बसर अल असदको विपक्षी लडाकुविरुद्ध आक्रमण सुरु गर्यो । असदको सरकार विरोधीलाई आतङ्कवादीको संज्ञा दिँदै आएको रुसले अमेरिकाले सहयोग गर्दै आएको ‘आईएसआईएल’ (असादको तानाशाही विरुद्ध लडिरहेको सैन्य समूह) विरुद्ध पनि बम आक्रमण गर्यो ।

रुसले बसर अल असदलाई सघाउन सैनिक सल्लाहाकार नै तैनाथ गर्यो । त्यसबेला संयुक्त राष्ट्रसंघमा पश्चिमी देशहरुको प्रस्तावविरुद्ध रुस र चीनले भिटो नै प्रयोग गरे ।सन् २०१८ अप्रिलमा अमेरिकाले फ्रान्स र बेलायतसँगै मिलेर सिरियाको सरकारविरोधी समूहको बर्चश्व रहेको स्थान दोमामा रासायनिक आक्रमण भएको भन्दै जवाफी आक्रमण गरे ।

सिरियामा सरकार र सरकार विद्रोही पक्षबीच शान्ति वार्ता पटक–पटक भैरहेको छ तर, बसर अल असदको सत्तालिप्त हुने सोचको कारण शान्तिवार्ता भंग भएको छ ।

युद्ध सुरु भएपछि असद सरकारको विरुद्ध एकपछि अर्को गरेर धेरै विद्रोही समूहले सिरिया युद्धमा भाग लिएका छन् ।

शक्तिराष्ट्रकै आडमा सिरियाका सुन्नी, सिया र कुर्द विभाजित छन् । ती सम्प्रदाय एकअर्काका विरुद्ध लड्दै आएका छन् । सत्ता वा विद्रोहीलाई सघाउने नाममा सिरियामा कहिले रसिया, कहिले टर्की त कहिले अमेरिकाले बम खसाइरहेका छन् । त्यसको निशानामा परेका छन् सिरियाली नागरिक ।आदिमकालमा मानव बस्ती बसेका स्थानमध्ये सिरियाको दमास्कस मात्र त्यस्तो स्थान हो, जहाँ आजसम्म पनि मानव बस्तीले निरन्तरता पाएको छ । तर शक्ति राष्ट्रहरुले आफ्ना आणविक हतियार परीक्षण गर्ने थलो बनाएपछि सिरिया नरसंहारले सिंगो मानव सभ्यताको नै खिल्ली उडाइरहेको छ ।

अहिलेको सिरियाको आन्दोलनमा आआफ्ना उद्देश्य र स्वार्थ भएका समूह र देशहरू पनि संलग्न भएका कारण सिरियाको गृहयुद्धमा निर्दोश नागरिकले त्यसै ज्यान गुमाइरहेका छन् । अर्को पाटो सिरियाको युद्ध अन्त्य गर्न सरकार र विपक्षीको सहमतिले मात्रै सम्भव देखिँदैन । धार्मिक सम्प्रदायमा एक–अर्काबीच घृणाको भाव जागेको छ । त्यस्तो विभाजनले दुवै पक्षबाट अत्याचार हुने गरेको र अशान्ति बढेको छ।

-एजेन्सीकाे सहयाेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्