सन्दिपले पहिलो खेलबाटै जिते सबैको मन, डेब्यु खेलमा उत्कृष्ट बलिङ प्रदर्शन

सन्दिपले पहिलो खेलबाटै जिते सबैको मन,  डेब्यु खेलमा उत्कृष्ट बलिङ प्रदर्शन

 नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको डेब्यु खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा डेब्यु गरेका दिल्ली डेयरडेभिल्सका सन्दिपले डेब्यु खेलमै १ विकेट लिएका छन् ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट स्टेडियममा जारी खेलमा सन्दिपले बैंग्लोरविरुद्ध आफ्नो पुरै ४  ओभर बलिङ गर्दै १ विकेट लिएर २५ रन खर्चिए । सन्दिपले आफ्नो दोस्रो ओभरमा बैंग्लोरका पार्थिव पटेललाई ६ रनमा आउट गरेका थिए  । सन्दिपले ४ ओभरमा १ छक्का र २ चौका मात्र खाएका थिए ।

निकै उत्कृष्ट प्रदर्शन गरेका सन्दिपले भारतीय कप्तान विराट कोहली, दक्षिण अफ्रिकाका एबी डि भिलियर्स जस्ता ब्याट्सम्यानविरुद्ध बलिङ गरेका थिए । सन्दिपको बलमा डि भिलियर्सले एक छक्का प्रहर गरेका थिए ।

आईपीएल क्रिकेटको १२ औं खेलमा डेब्यु गर्न पाएका सन्दिपले ब्याटिङ गर्न भने पाएनन् । नेपाली यू – १९ टोलीका कप्तान समेत रहेका आईपीएल टोलीमा पर्ने पहिलो नेपाली खेलाडी  हुन् । दिल्लीको प्ले अफ सम्भावना सकिएपछि सन्दिपले पहिलोपटक खेल्ने मौका पाएका हुन् ।

प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले ११ खेलबाट मात्र ६ अंक जोडेको छ । पुछारमा रहेको दिल्लीले ११ खेलमा ८ हार र ३ जित निकालेको छ । ६ अंक जोडेको बेंगलोर सातौं स्थानमा छ । बैंग्लोर आजको खेल जित्दै प्ले अफमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

दिल्लीले दिएको १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको बैंग्लोरले १५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४७ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्