सम्माननीय मुख्यमन्त्रीज्यू,
नमस्कार ।
एउटा जुझारु युवालाई मुख्यमन्त्रीको रुपमा पाउँदा व्यक्तिगत रुपमा पुलकित भएको कुरा व्यक्त गर्दै म तपाईँलाई बधाई दिन चाहन्छु ।आफ्नो व्यक्तिगत राजनीतिक आस्थालाई बिर्संदै म यो पत्र लेखिरहेको छु । यसलाई समग्र प्रदेश एकका नागरिकको आवाज बनाउने प्रयास गर्दैछु ।मुख्यमन्त्रीज्यू,
मलाई विश्वास छ तपाईँमा तीव्र इच्छाशक्ति तथा उत्साह छ जसको तपाईँले बुद्धिमत्तापूर्वक प्रयोग गर्नुहुनेछ । प्रदेश एकको पानी र जनताको बानी तपाईँले राम्ररी बुझ्नु भएको छ । बाटो र माटो सँग राम्ररी परिचित हुनुहुन्छ । पहाडका उकालीओराली तथा तराईका फाँटमा यात्रा गर्नुभएको छ । प्रयोगविहिन भएर बगेका अरुण, तमोर तर्नुभएको छ । मलाई विश्वास छ तपाईँले ती यादहरु भुल्नुभएको छैन ।
जनताको दैलोमा सेवा सुविधा दिने र उनीहरुको स्याबासी लिने किसिमको संघीयता तपाईँको कार्यकालमा रहने अपेक्षा गरेको छु । आवश्यक कानुनको चाँडो भन्दा चाँडो तर्जुमा गरेर कार्यान्वयनमा लैजानुहोस् अनि एक नम्बर प्रदेशलाई साँच्चै एक नम्बर बनाउनुहोला ।
नागरिकबीचको सद्भाव विकास गर्दै समग्र विकास कार्यमा तपाईँको सकृयता रहने अपेक्षा गरेको छु । पूर्वाधारको विकाश अत्यन्त आवश्यक देखिएको छ । हिमालमा चिसो बढ्दा सजिलै तराई जान सकियोस्, तराईमा गर्मी बढ्दा सजिलै माथि गएर चिसो हावा खान सकियोस् । एक खुट्किलो माथि चढ्दा पहाडका हरिया डाँडा, दुई खुट्किलो माथि चढ्दा हाम्रा हिमाल छैनन् टाढा । उत्तर–दक्षिण बाटो बनाउनुस् सहयोगी हात छन्, गर्व गर्न सक्छौँ हामी सारा जनता साथ छन् ।
हामी ती हिमालमा हाँस्ने गर्छौँ, त्यो तराईमा नाच्न सिकाउँछौँ, मातृभूमिको माया गर्दै यो संसारलाई बाँच्न सिकाउँछौँ । तराईको सुन टिपी हामी हिमाल टल्काउँछौँ, हिमालको अमृत लगी तराईमा बाला झल्काउँछौँ । एकताको सुत्रले सबैको मन रिझाउनु छ, तमोरको पानी तानेर प्यासी पाखा भिजाउनु छ । संखुवासभाको विकासमा कर्मठ पाखुरी पछार्न सकियोस्, पाँचथरको कुचोले प्रदेशको फोहोर बढार्न सकियोस् । लाफिङ मीठो सोलुमा खाउँला, दुधकोशी र्‍याफ्टिङ फर्केर आउँला । भोजपुर, खोटाङको साकेला सिली, झापा, मोरङमा नाचौँला मिली । हाक्पारे, बालन, कौरा र हुर्रा, हात समाई नाचौँ धित मारी पुरा । जाटजटिना, कर्मा र धर्मा, मनाऔँ, रमाऔँ नमानी शर्म । नमस्ते, सेवारो, फ्याफुल्ला लाफा, सबैलाई हेर्ने समान होस् आँखा ।
इलामको चिया बोटैमा नसडोस्, कुचोको गाडी सीमामा नअडोस्, ताप्लेजुङको लेकमा अलैँचीको थुप्रो । ठूलो होस्  मन सानो होस् झुप्रो । धनकुटाको सुन्तला बजारमा छरियोस्, तेह्रथुमको गुराँस हेर्दा मन भरियोस् । क्षणभरमा नाम्चे टेक्न सकियोस्, सिद्घिचरणको ओखलढुङ्गा देख्न सकियोस् । उदयपुरको माटो, पहाड चढ्ने बाटो, रेलमा जाउँ बसको साटो । डुङ्गा चढेर चतरा झरौँ, यो भन्दा अरु के चाह गरौँ ?
सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् । बरु फुसको छानु, भरियोस् मानु, पराइभूमिमा नपरोस् जानु । जगेर्ना होस् पाटी र पौवाको, नावाले मेटोस् तिर्खा कुरुले, मौवाको । संरक्षण होओस् भाषा र भेषको, उत्रती हुनेछ हाम्रो प्रदेशको । नागरिक सबै नैतिकवान् बनुन्, एक नम्बरको नागरिक गर्वले भनून् । आउनुहोस् अघि ज्याबल पक्रेर, यो हाम्रो प्रदेश फूल्नेछ फक्रेर । कठिनाई सबैले मिलेर छेकुन्, ऐनामा हेर्दा तपाईंलाई देखुन् ।
मुख्यमन्त्रीज्यू,
तपाईँप्रति सबै जनता खुशी छन्, त्यो तपाईँले बुझेको हुनुपर्छ । सबैको साथ लिएर कर्म गर्न मात्र बाँकी छ । जुन काममा निमेष पनि ढिलाई नहोओस् भन्ने आग्रहसहित बिदा हुन्छु ।
नमस्कार ।
–अनिल पौडेल ‘किर्ते’
प्रदेश नं. १
                                                      (उज्यालो)

प्रतिक्रिया लेख्नुहोस