नेपाली क्रिकेटलाई सन्दिपको “ब्रेक थ्रु” – बिबेक दाहाल 

नेपाली क्रिकेटलाई सन्दिपको “ब्रेक थ्रु” – बिबेक दाहाल 

केहि वर्ष अगाडी सम्म नेपाली चलचित्र क्षेत्रको कुरा गर्ने हो भने यो क्षेत्र ओरालो लागिरहेको क्षेत्रको रुपमा हेर्ने गरिन्थियो , निर्माता बजार नपाएर भौतारी रहेको अवस्था थियो  । बलिउड भनेर विश्व मै प्रख्यात भारतको छिमेकि मुलुक भएर पनि हामीले चलचित्र क्षेत्रमा केहि गर्न सकेका थिएनौ  । त्यसै बेला नेपालमा एउटा ऐतिहासिक "ब्रेक थ्रु" भएर आयो निश्चल बस्नेतले बनाएको फिल्म "लुट"। चलचित्र लुटले आफुले मात्रै नाम र दाम कमाएन , सम्पूर्ण चलचित्र क्षेत्रलाई नै उठान गर्न कोसेढुङ्गा नै साबित भयो र त आज हाम्रो चलचित्र बजारले पनि नेपाल लगायत नेपालीहरु बस्ने बिदेशमा बजार बिस्तार गरि राम्रो छाप छोड्न सफल भएको छ   ।

अब जोडौ नेपाली क्रिकेटलाई , तुलना वा अवस्था हेर्ने हो भने जस्तो नेपाली चलचित्र क्षेत्रको अवस्था थियो कुनै समय , नेपाली क्रिकेटले पनि त्यसतै अवस्थाबाट गुज्रनु परेको छ  । निकै ठुलो सम्भावना बोकेको नेपाली क्रिकेटमा पनि संकटको घेरा छाइरहेको बेला " "ब्रेक थ्रु" बनेर आए १७ बर्षे युवा खेलाडी "सन्दिप लामिछाने"  । विश्वको महँगो तथा हरेक क्रिकेट खेलाडीको सपनाको रुपमा रहेको "इन्डियन  प्रिमियर लिग (आईपीएल) " को ११ औँ संस्करणमा पहिलो नेपाली आईपीएल खेल्ने खेलाडी बनिनुले पनि सन्दिप "ब्रेक थ्रु" नै मान्नु पर्छ नेपाली क्रिकेट जगतले   । 

आशाका केन्द्र सन्दिप 

सन्दिप अहिले एउटा आशा र भरोशा हुन्  । यी १७ बर्षे युवाले देखाएको आशा हरेक नेपाली क्रिकेट प्रेमीको आँखामा देख्न सकिन्छ  । नेपालमा क्रिकेट निकै लोकप्रिय खेल बनिसकेको छ  । शहर बजार मात्रै हैन गाउँ-गाउँ सम्म क्रिकेटको क्रेज बढिरहेको छ । यो क्रेजलाई आज बढाउन वा नेपालीहरु जसलाई क्रिकेटमा खासै रुची थिएन , उनीहरुको रुची बढाउनमा यी युवा खेलाडीले निकै ठुलो भूमिका खेलेका छन्  । यति मात्रै हैन सन्दिपले आगामी दिनमा नेपाली क्रिकेटलाई उचाइमा पुर्याउने आशा  र बिश्वास आम नेपाली खेल प्रेमीको रहेको छ   । हरेक नेपालीले ठुला ठुला क्रिकेट प्रतियोगिता हुदा सधै अन्य देशको समर्थन गर्नुपर्ने बाध्यतालाई हटाइ सन्दिप र उनको टिमले विश्व क्रिकेटमा नेपालको नाम राख्नसक्ने आशा उनीमाथि रहेको छ  । यति मात्रै हैन उनि अन्य नेपाली युवा खेलाडीहरुका लागि पनि एउटा रोल मोडल हुन्  । १७ बर्षे युवा आफ्नो मेहनत र परिश्रमले गर्दा आज विश्वमा चर्चित भयो , यो देखेर नेपालका धेरै खेलाडी अझ मेहनत गरेर सन्दिप कै स्थानमा पुग्न सकिने रहेछ भनेर अगाडी बढ्ने छन् भने धेरै युवा खेलाडीका परिवारले पनि अब आफ्ना सन्तानलाई यस खेलले पनि नाम र दाम कमाउन सक्दो रहेछ भनेर आफ्ना सन्तानलाई क्रिकेटमा अगाडी बढ्न हौसला दिने छन्  । क्रिकेट नेपालमा एउटा खेल मात्रै नभएर नेपालीहरुको धुकधुकी नै भएको छ , क्रिकेट एउटा यस्तो अस्त्र भएर उभिएको छ जसले नेपाल र नेपालीलाई एकै ठाउँमा जोड्ने काम गर्दै आएको छ  ।

नेपाली क्रिकेटको लागि ढोका खुल्ला 

नेपाली क्रिकेटको अवस्था हेर्ने हो भने नेपालमा क्रिकेट चलाउने सस्था क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) आइसिसिको निलम्बनमा रहेको अवस्था छ  । यो अवस्थामा नेपालका घरेलु प्रतियोगिताले मात्रै नेपाली खेलाडीको क्षमता उकास्न काफी हुदैन  । नेपाली खेलाडीलाई अझ धेरै अन्तरास्ट्रिय एस्पोसर चाहिन्छ , त्यहि  अन्तरास्ट्रिय एस्पोसर जसले सन्दिप स्वयमको खेलमा पनि निखार आएको थियो , उनले अस्ट्रेलिया , हंगकंग लगायतका देशमा गएर खेलेको अनुभव उनलाई धेरै काम लाग्यो  । सन्दिपले केहि महिनामा केवल नेपाललाई मात्रै चिनाएका छैनन , उनले नेपाली क्रिकेटमा नया नया ढोका पनि खोलिदिएर अन्य खेलाडीलाई पनि आफ्नो खेल चिनाउने मौका प्रदान गरेका छन्  । सन्दिपलाई हेरेर विश्वका प्रतियोगितामा अब नेपाली खेलाडीले पनि खेल्ने मौका पाउन सक्ने अवस्था आएको छ  । सगरमाथा र बुद्धको देश मात्रै हैन अब क्रिकेटको सम्भावना भएको देश भनेर पनि बिदेशीले हामीलाई चिन्ने छन्   । सन्दिपको नामबाट नेपाली क्रिकेट पनि चिनिने छ । आशा गरौ आगामी दिनमा हुने  आईपीएल लगायतका प्रतियोगितामा अन्य नेपाली खेलाडीले पनि मौका पाउने छन्   । 

यसका साथै नेपाल सरकारमा पनि क्रिकेटको छाप सन्दिपले छोड्न सफल भएकै मान्नु पर्छ , प्रधानमन्त्री तथा मन्त्रीहरुबाट आएको बधाईको ओइरो र सम्मानले राष्ट्रका संचालकहरुलाई पनि क्रिकेटमा लगानी गर्न सके देश चिनाउन सकिने रहेछ भन्ने भान मनको एक कुनामा अवस्य भएको हुनु पर्छ  ।

क्रिकेट बिकासमा सुधार्नु पर्ने कुरा धेरै :

सन्दिपले नेपाल रहदा कुनै ठुला प्रतियोगिता खेलेनन , न त उनीसंग अभ्यास गर्ने राम्रो पिच नै थियो , सन्दिपले त आफ्नो जन्मदै आएको अद्भूत क्षमता देखाएर विश्व क्रिकेटलाई सन्दिप भनेर चिनाए तर सबैको अवस्था यस्तो हुदैन  । यदि साचै अन्य सन्दिप लामिछाने र पारस खड्काहरु नेपालबाट जन्माउनुपर्ने छ भने सरकारी स्तरबाटै राम्रो योजना आउनु जरुरी छ । जहाँ बर्षमा १-२ प्रतियोगिता मात्रै हुन्छन , डोमेस्टिक प्रतियोगिता हुदैनन् वा त्यसको संरचना कमजोर छ , जहाँ एउटा पनि सुबिधा सम्पन्न क्रिकेट रंगशाला छैनन् , क्रिकेट सिकाउने तालिम प्राप्त प्रशिक्षक छैनन् यहाँ सम्म कि  क्रिकेट बोर्ड पनि छैन , अनि कसरी हामीले नेपालबाट अन्य सन्दिप जन्मनेछ भनेर भन्न सक्नु ? एउटा १७ बर्षे युवाले अब नेपाली क्रिकेटमा सकारात्मक परिवर्तन एक्लै गर्छ भन्न खोजिएको हैन तर सन्दिपले एउटा आशा लिएर आएका छन् जुन कुरा सबैका लागि सकारात्मक र प्रेरणाको श्रोत हुने छ ।

सन्दिप कुनै राष्ट्रिय प्रतियोगितामा राम्रो गरेर नेपाली टिममा आएका होइनन , उनि त चितवनको एउटा एकेडेमीमा खेल्दा , तत्कालिन नेपाली प्रशिक्षक पुबुदु दशानायेकेले उनको क्षमता देखेर उनलाई टिममा लिए   । यस्ता सन्दिप अझ कति होलान देशका कुना कुनामा हामीले खोज्न जरुरी छ    ।

यदि साचै क्रिकेटको विकास गर्ने हो भने अहिले सहि समय आएको छ सरकार वा अन्य निजि क्षेत्रले क्रिकेटमा लगानी गर्ने , छिमेकि मुलुक भारतमा नै हेर्ने हो भने क्रिकेटको साहराले बिभिन्न निजि क्षेत्रले राम्रो आम्दानी गर्दै आएका छन्   । सबै भन्दा राम्रो मौका नेपाललाई विश्व सामु खेलको माध्यमबाट चिनाउने खेल भनेकै "क्रिकेट" हो त्यसैले सबैले अब हातेमालो गरि क्रिकेट खेलको बिकासमा लाग्नु जरुरी भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्