कृष्ण अधिकारी ।

यो तेस्तै पचास वर्षअघिको विम्व चित्र हो हाम्रो समाजको । जो मेरो मस्तिष्कमा ताजै जस्तो छ । त्यो समय र यो समयको फरक भनेको केही कानुनमा, केही सामाजिक मान्यता र केही चेतनामा मात्र हो तर अधिकांश मान्छे त्यतिबेलाकै नकारात्मक सोचमा देखिन्छन् आज पनि । म त्यसबेलाको कुरा गर्छु, वर्तमान पाठकहरू आजसँग भिन्नता खोज्नुहोस् । यसको उद्देश्य त्यति नै ठानेको छु मैले ।


मान्छे थोरै थिए तर समाजमा वैमनस्यता धेरै थियो । अर्काको चियोचर्चा गर्ने, त्रुटी खोज्ने, पिठ्युँ पछाडि खिसीटिउरी गर्ने, पखाल्ने, खसाल्ने, बोक्सा-बोक्सीको आरोप लगाउने, आरिस गर्नेहरू समाजमा प्रसस्तै भेटिन्थे । कहिलेकाहीँ साँध सीमाना र पशुले बालीनाली चरेको झगडा पनि देखिन्थे । अहिलेका आँखाले हेर्दा त्यसबेलाको झैझगडालाई दुई श्रेणीमा विभाजन गर्न उचित लागेको छ । पहिलो पारिवारिक झगडा र दोस्रो बाह्य झगडा ।

‘तेरा बाले ढुट्टो पारेर कुटेको शरीर चिसो बढेपछि दुख्न थाल्छ बाबै !’ भन्ने बुढी आमैहरू प्रसस्त भेटिन्थे । उनीहरू आफ्ना पति बाँचुन्जेल यति भन्न पनि पाउँदैन थिए । लोग्ने मरेकाहरूले मात्र भन्ने हुन् जीवनमा आफूले लोग्नेबाट कति कुटाई खाइयो भनेर । र पनि उनीहरू लोग्नेहरू अझै बाँचिरहेको भएको हुन्थ्यो, अझै कुटिरहेको भए हुन्थ्यो भन्ने आशयले बोल्थे र मरेको त्यो अधम लोग्नेको सम्झनामा आँसु बगाउँथे ।

ती महिलाहरूलाई देख्ता लाग्यो उनीहरू मात्र हेपिन जन्मिएका हुन्, कुटिन जन्मिएका हुन्, जिब्रो थुतिन जन्मिएका हुन्, सासूहरूद्वारा सिलौटामा राखेर लोहोराले हात किचिन जन्मिएका हुन् । भुत्ल्याइन र जगल्ट्याइन जन्मिएका हुन् । फुँडी, अलच्छिना, पाखेकी छोरी आदि उपनामले गाली गर्ने सासूहरू नै हुन्थे । आफूले जन्माएर हुर्काएको छोरो अर्काकी छोरीले आफ्नो बनाएको आक्रोश देखिन्थ्यो प्रायः सासूहरूमा । त्यसैकारण होला तिललाई पहाड बनाएर बुहारीको पोल छोरालाई सुनाउँथे र कुट्न उत्प्रेरित गर्थे । छोरा र बुहारीको सम्बन्धलाई गाढा हुन दिनु हुँदैन भन्ने आमाहरूको मनोविज्ञान पनि हिंसाको महत्वपूर्ण कारण थियो भन्ने लाग्छ । आफूले लगाएको पोल सुनेर स्वास्नीलाई हप्काएन वा कुटेन भने स्वास्नीको फरिया धुने र स्वास्नीको मुतमा बगेको आरोप लगाइन्थ्यो छोरालाई ।

बाह्य झगडामा ठूलाबडा झगडा पर्थे । ज्यानै जाने झगडा पनि पर्थे । नेपालको पूर्वी पहाडमा ‘चार इञ्ची ख्याल ख्याल’ भन्ने भनाई थियो । यसको अर्थ चार इञ्चसम्म काट्नु चैँ ख्याल ख्याल हो रे । यस्ता झगडाहरू हाटबजार र मेलामा हुन्थे । एक गाउँ र अर्को गाउँबीचको वैमनस्यताका झगडा हुन्थे । रक्सी पिएपछि आउने आवेगका कारण झगडा हुन्थ्यो ।जार काट्न पाइने कानुन थिएन तर समाजमा जार काट्न पाइने तर्क गरिन्थ्यो । अर्काकी स्वास्नी लानेले कि त मुङ्लानै भासिनु पथ्र्यो कि त समाजले तोकेको जारी तिर्नु पथ्र्यो । त्यसो नगर्नेलाई सधैँ जारले काट्ला कि भन्ने त्रास हुन्थ्यो ।

जारी सम्बन्धी झगडा बाहेकका झगडामा भने विचित्र चलन थियो ‘शिर उठाउने ।’ कुट्नेले कुटिनेलाई एक बोतल रक्सी लगेर अगाडि राखिदिने र भन्ने ‘मैले तिमीलाई कुटेर गल्ती गरेँ, अब त्यस्तो गल्ती गर्दिन, यो बोतल रक्सी राखेर तिम्रो शिर उठाउन आएको छु स्वीकार गर ।’ यस्तो मिलापत्रको प्रयास गाउँका बुज्रुकहरूले गर्थे र त्यो शिर उठाउनी रक्सी पनि तिनैले बसेर खान्थे । त्यसपछि त्यो झगडा वा कुटपिटको मुद्दा सकिन्थ्यो कुनै रिसइवी वा प्रतिशोध बाँकी रहँदैन थियो । यो चलन मतवालीमा थियो गैर मतवाली भने यसका साक्षी मात्र हुन्थे ।

यस्तै झगडाहरू मध्येको एउटा नमूना झगडा हो ‘टुप्पी उखेल्ने झगडा’ । शनिवारको दिन दिङ्ला भञ्ज्याङमा हाट लाग्छ । एउटा शनिवारका दिन चुर्नबहादुर सुनुवार र कान्छो सार्की हाटमा भेट भएछन् । कान्छो सार्की भनेको मेरो कथा सङ्ग्रह ‘कान्छो सार्की’को सजिव र प्रमुख पात्र हो । हाट भरेर घर फिर्दा बाटामा रक्सी खाएछन् । बाटामा वा बाटामा पर्ने घरमा जाँड, रक्सी वा निगार किन्न पाइने, तिनीहरूले त्यस्तै ठाउँमा रक्सी खाए होलान् ।

त्यसरी रक्सी खाँदा कान्छो सार्कीले कसरी रक्सी खायो होला ? त्यसबेलाको विम्व चित्र पनि भनौँ । चुर्नबहादुर घरभित्र पस्यो, ऊ बाहिरै बस्यो । पिरा तानेर बस है कान्छा कसैले भित्रबाट भन्यो होला । हुन्छ नि मुखिनी ! भन्यो उसले । चुर्नबहादुरलाई झर्काको बटुकामा रक्सी दिए तर बाहिर हलुङ्गेको बटुकामा रक्सी ल्याएर अलग्गै राखिदिए । कान्छा सार्कीले साइँली औँला रक्सीमा चोबेर जमिनतिर छर्कियो । यो द्यौतालाई चढाएको हो उसले । र पियो आँखा चिम्लिएर । रक्सीभित्र गएपछि उसैले अह«ायो त्यसपछि कान्छा सार्कीले भन्यो ‘ए चुर्ने मुखिया एक सेर मेरो तर्फबाट किन है म पैसा तिर्छु ।’ रक्सी खाइसकेर कान्छो सार्की बटुको धुन गयो धारामा तर चुर्नबहादुर जूठो बटुको त्यसै छोडेर बाहिर निस्कियो ।

उनीहरूको घर पुग्ने बाटो अझै निक्कै थियो । गफ गर्दै हिँड्न थाले तर कुरै कुरामा उनीहरूको झगडा प¥यो । सार्की भनेर हेपेर बोल्यो रे चुर्नबहादुरले । एकै बाहनको रक्सी खाएको थियो कान्छा सार्कीले पनि, किन पछि हट्ने ! बाटैमा कुटाकुट परेछ । पछारापछार परेछ । कान्छा सार्कीले चुर्नको टुप्पी समातेछ । बलपर्दा मासु सुद्धै उखेलिएछ टुप्पी । जात ठूलो हुँदैमा जित्ने कुरा कहाँ हुन्थ्यो र बलमा सकेन चुर्नले र ‘पख्लास तँलाई’ भन्दै चुर्नबहादुर घरतिर लागेछ । कान्छा सार्कीले भोलिपल्ट भन्यो ‘ख्यालख्याल गरेको चुर्ने मुखियाको टुप्पी त हातैमाा पो आएछ ।’

यो झगडाको शिर उठाउनी चैँ भएन । किन भएन भन्ने जानकारी त्यसबेला पाइएन तर पछि खुल्दै गयो कि सार्कीले छोएको खान नमिलेकाले शिर उठाउनी नगरेको रहेछ । समयको अन्तरालले त्यो झगडा त्यसै साम्य भयो र उनीहरूको सम्बन्ध पुनः स्थापित भएको र सँगै खेतवारीमा काम गरेको देखियो ।

प्रतिक्रिया लेख्नुहोस