फेसबुकले अब बताउनेछ प्रयोगकर्ताको समय, आवश्यक समय मात्र व्यतित गर्न प्रोत्साहन गर्ने

फेसबुकले अब बताउनेछ प्रयोगकर्ताको समय, आवश्यक समय मात्र व्यतित गर्न प्रोत्साहन गर्ने

एजेन्सी । फेसबुकले अहिले अर्को नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ जस अन्तर्गत फेसबुकले नै प्रयोगकर्तालाई कति समय यसमा व्यतित भइसकेको भन्ने देखाउने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । कानुनी विवादमा परिसकेको फेसबुकले यसअघि नै प्रयोगकर्ताको हितका निम्ति सबै आवश्यक परिवर्तन गर्न तयार रहेको उल्लेख गरेको थियो ।

त्यसैकारण ‘योर टाइम अन फेसबुक’ नामको यस टुलको प्रमुख उद्देश्य मानिसहरुलाई सीमित र आवश्यक समय मात्र फेसबुकमा व्यतित गर्न प्रोत्साहन गर्नु रहेको कम्पनीको भनाइ छ ।

केही समय अगाडि गरिएको एक सर्वेक्षणमा मानिसहरुले व्यवहारिक अन्तरक्रियामा भन्दा फेसबुक जस्ता सामाजिक संजालमा बढी समय बिताउने गरेको पाइएपछि यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको थियो । त्यसैले यो नयाँ फिचरले प्रयोगकर्तालाई एउटा निश्चित समयअवधि चयन गर्न लगाउने र त्यो समय पार भएमा सावधान गराउने बताइएको छ । आफूले तोकेको भन्दा धेरै समय फेसबुकमा व्यस्त भएमा यो टुलले तुरुन्तै प्रयोगकर्तालाई सन्देश पठाइ जानकारी दिने बताइएको हो ।

वर्षको सुरुवातदेखि नै फेसबुकले फेक न्युज र गोप्यताका मुद्दाहरुमा विश्वभरबाट आलोचित हुनुपरेको थियो । यसका साथै फेसबुकमाथि प्रयोगकर्तालाई लोभ्याउन विभिन्न अवैध तरिका अपनाइ यसैमा बढी समय खर्चिन बाध्य बनाइरहेको आरोप पनि रहेको छ । यसअघि प्रयोगकर्ताबारे गोप्य जानकारी हासिल गरि उनीहरुको रुची अनुसारका पोस्ट न्युजफिडमा राखेको पाइएपछि कार्यकारी अधिकृत जुकरवर्ग आफैँ कानूनसमक्ष उपस्थित हुनु परेको थियो । त्यसैले उनले फेसबुक व्यक्तिगत फाइदा भन्दा पनि विश्वको हितका निम्ति आविष्कार गरिएकाले अबबाट यस्तो विषयमा धेरै ध्यान दिइने वचन दिएका थिए ।

तर फेसबुकको यो फिचरले कम्पनीलाई भने केही घाटा गराउन सक्ने बताइएको छ । यसले मानिसहरुलाई कम समय फेसबुक प्रयोग गर्न प्रोत्साहन गर्ने हुँदा त्यसले विज्ञापन क्षेत्रमा अप्रत्यक्ष असर पर्ने र लगानीमा कमी आउन सक्ने अनुमान गरिएको छ । तरपनि कम्पनीलाई लामो समयसम्म जिवित राख्न यस्तो कदम जरुरी रहेको फेसबुकले बताएको हो ।

अहिले नै युवाहरुमाझ लोकप्रिय इन्स्टाग्राम, स्न्यापच्याट र ट्वीटर जस्ता सामजिक संजालले फेसबुकको स्थान लिइसकेको हुँदा प्रयोगकर्ताको सङ्ख्या लगातार घट्दो अवस्थामा छ । त्यसैले यो वर्ष फेसबुकका लागि सुरुवातदेखि नै निकै चुनौतिपूर्ण साबित भएको बताइन्छ । यसकारण पनि अन्तराष्ट्रिय स्तरमा आफ्नो प्रतिष्ठा पुनः हासिल गर्न फेसबुकले आफ्ना नीतिहरुमा परिवर्तन ल्याइरहने बताएको छ । यो फिचर चाँडै सुरु गरिने योजना भएपनि निश्चित समयबारे भने फेसबुकले कुनै जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्