ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा, स्वीट्जरल्यान्ड उपविजेता

ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा, स्वीट्जरल्यान्ड उपविजेता

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह इ बाट ब्राजिल समूह विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्दै समूह विजेता बनेको हो ।

अर्को खेलमा भने स्वीट्जरल्यान्ड कोष्टारिकासँग बराबरीमा रोकिएपनि नकआउट चरणमा प्रवेश गरेको हो ।

ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा थिएगो शिल्भा र पौलिन्होले गोल गरे । ब्राजिलले सर्बियामाथि खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । ब्राजिललाई अग्रता दिलाउने क्रममा पौलिन्होले खेलको ३६औं मिनेटमा गोल गरे । उनको गोलमा ब्राजिलले अग्रता बनाएसँगै सर्बियाले पहिलो हाफमा दबाबमा खेलेको थियो ।

पहिलो हाफमा १–० गोलले पछि परेको सर्बियाले दोस्रो हाफमा थप १ गोल खाएको थियो । खेलको ६८औं मिनेटमा गोल गर्दै ब्राजिलले सर्बियामाथि २–० गोलको अग्रता बनाएको थियो । ब्राजिलका लागि थिएगो शिल्भाले हेडर गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । यसअघि सर्बियाले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेको थिएन ।

बाँकी समयमा गोल हुन नसकेपछि ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलले ३ खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बटुलेर समूह विजेता बनेको हो ।

यसै समूहअन्तर्गत अर्को खेलमा स्वीट्जरल्यान्डले कोष्टारिकासँग २–२ गोलको बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको ३१औं मिनेटमा ब्लेरिम जेमइलीले गोल गर्दै स्वीट्जरल्यान्डलाई १–० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को राम्रो प्रदर्शन गरेको स्वीट्जरल्यान्डले गोल गर्ने राम्रो अवसर पाएपनि त्यसको फाइदा उठाउन सकेन ।

खेलको ५६औं मिनेटमा केन्डल वास्टनले गोल गर्दै कोष्टारिकालाई बराबरीमा पुर्याएका थिए । खेलको ८८औं मिनेटमा स्वीट्जरल्यान्डले गोल गर्दै २–१ गोलको अग्रता बनाएको थियो । तर खेलको अन्तिम समयमा स्वीट्जरल्यान्डका यान सोमेरले आत्मघाती गोल गरेपछि कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको हो ।

स्वीट्जरल्यान्डले ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५ अंक बनाएर नकआउट चरणमा पुगेको हो ।

पराजित सर्बिया र कोष्टारिका भने विश्वकपको समूह चरणबाटै बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्