आजदेखि सेमिफाइनल खेल सुरु हुने , फ्रान्स र बेल्जियमबीचमा प्रतिस्पर्धा हुँदै

आजदेखि सेमिफाइनल खेल सुरु हुने , फ्रान्स र बेल्जियमबीचमा प्रतिस्पर्धा हुँदै

एजेन्सी । रसियामा जारी विश्वकपको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र बेल्जियमबीचमा प्रतिस्पर्धा हुँदैछ । रसियाको सेन्ट पिटर्सबर्गमा फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको बेल्जियम फ्रान्सलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, फ्रान्सले भने १ पटक विश्वकप फुटबलको उपाधि उचालेको छ । सन् १९९८ मा फ्रान्सले आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै सन् १९९८ मा पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । त्यसयता फ्रान्सले विश्वकपको उपाधि उचाल्न सकेको छैन ।

जारी विश्वकपमा दुबै टिमको प्रदर्शन यस्तो छः

बेल्जियम जारी विश्वकप फुटबलमा दमदार प्रदर्शन गर्दै सेमिफाइनलसम्म आइपुगेको छ । बेल्जियमले सेमिफाइनलसम्मको यात्रा पार गर्दा ठूला राष्ट्रलाई पराजित गरेको छ ।

क्वाटरफाइनलमा बेल्जियमले बलियो टिम ब्राजिललाई २–१ गोलअन्तरले पराजित गरेको हो । त्यस्तै, जारी विश्वकपमा अपराजित रहेको बेल्जियमले प्रिक्वाटरफाइनलमा जापानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । समूह चरणमा भने बेल्जियमले आफ्नो खेलमा पानामालाई ३–० ले, दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोलले र अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

यता फ्रान्सले समूह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा पेरुमाथि १–० गोलको जित निकालेको फ्रान्सले समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेल्दै समूह सि को विजेता बनेको थियो ।

प्रिक्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो पटक  विश्वकप फुटबलको उपाधि दौडमा रहेको फ्रान्स बेल्जियमलाई पराजित गर्ने रणनीतिमा छ ।

दुबै बलियो टिम हो भने दुबै टिमसँग स्टार खेलाडी छन् । फ्रान्समा एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे, पाउल पोग्बा जस्ता खेलाडी  खेलाडी छन् । यता, बेल्जियममा पनि रोमेलु लुकाकु, इडन हर्जाड जस्ता चर्चित खेलाडी छन् ।

हेड टु हेडमा बेल्जियम अघि

बेल्जियम र फ्रान्स अहिलेसम्म ७३ पटक भेट भएको छ । जसमा बेल्जियमले ३० पटक जितेको छ । त्यस्तै, फ्रान्सले २४ पटक जितेको छ भने यी दुई टिमले १९ खेलमा बराबरी खेलेका छन् ।

यी दुई टिमबीच पछिल्लो समयमा सन् २०१५ मा भेट भएको थियो । जुन खेलमा बेल्जियमले फ्रान्सलाई ४–३ गोलअन्तरले पराजित गरेको छ । पछिल्लो पटक फिफा विश्वकपमा भने सन् १९८६ मा यी दुई टिमबीचमा भेट भएको थियो । विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सले बेल्जियमलाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्