अशोकबारे राखिएका युट्यूब टाइटलले टंकलाई तनाव

अशोकबारे राखिएका युट्यूब टाइटलले टंकलाई तनाव

विराटनगर, २८ असार। गायक तथा संगीतकार टंक बुढाथोकी पछिल्लो समय मोरङ उर्लावारीका अशोक दर्जीका कारण चर्चामा आए ।बिहान बेलुकाको छाक टार्न समेत गाह्रो परिरहेको एक बालकलाई टंकले सहज जीवन शैली दिने प्रयास गरे । राम्रो गाउन सक्ने तर पहुँच नभएका कारण ठाउँमा पुग्न नसकेका अशोकलाई उनले गाउँबाट काठमाडौं ल्याए र एकाएक गायक बनाइदिए ।

काठमाडौं आएर एउटा गीत सार्वजनिक गर्ने वित्तिकै अशोकलाई स्टेज कार्यक्रमहरुमा भ्याई नभ्याई भएको छ । यो सबै टंक बुढाथोकीको सहयोगले सम्भव भएको हो । साथै टंकले अशोकको शिक्षाको पनि ख्याल गर्दै विद्यालयमा भर्ना समेत गरिदिएका छन् ।

तर उनले गरेका यी सबै कामले उनी पछिल्लो समय आलोचनाको सिकार भएका छन् । अशोकलाई सहयोग गर्दा उनी स्वंयमलाई भने तनाव सिर्जना भएको छ । सामाजिक सञ्जालमा उनका बारेमा नकारात्मक टिकाटिप्पणीहरु भइरहेका छन् । धेरैले उनले यो काम आफ्नो स्वार्थको लागि गरिरहेको आरोप पनि लगाएका छन् । 

अशोक काठमाडौं आएदेखि नै टंकले अशोकका हरेक पलहरु युट्यूबमा भिडियो बनाएर सेयर गर्ने गरेका कारण टंकलाई धेरैले पैसाको लागि अशोकलाई प्रयोग गरेको आरोप समेत लगाएका छन् । यहि कारण टंक पछिल्ला केही दिनहरुमा बढी ट्रोल भइरहेका छन् । आफ्नो कामलाई आलोचना गरेको र ट्रोल बनाएको  कुराले टंकलाई तनाव भएको छ । उनले सामाजिक सञ्जाल मार्फत नै यस्ता कुराहरुले आफूलाई अशोकको लागि अझ राम्रा कामहरु गर्न समस्या भइरहेको बताएका छन् ।

हालै मात्र सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले आफूलाई यस्ता टिप्पणीले अशोकका लागि अझ राम्रा कामहरु गर्न कठिन भइरहेको र यस्ता भ्रमक कुराहरु नगर्न सबैलाई अनुरोध पनि गरेका छन् ।

विशेष गरी उनले भ्रम फैलाउने खालका युट्यूबका टाइटलहरुसँगै आफ्नो बारेमा भएका विभिन्न नकारात्मक ट्रोलहरु प्रति आपत्ति पनि जनाएका छन् । उनले आफूले अशोकका लागि गरेका कामहरु कसैलाई चित्त नबुझेको भए सोझै सकारात्मक प्रतिकृया दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्