विराटनगरका मेयरलाई विपक्षीको झड्का, एकबर्ष सम्म कुनै परिवर्तन नगरेको आरोप

विराटनगरका मेयरलाई विपक्षीको झड्का, एकबर्ष सम्म कुनै परिवर्तन नगरेको आरोप

विराटनगर,३२ असार । जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष पुगेपनि विराटनगरको विकासमा गती लिन नसकेको भन्दै महानगरका विपक्षी नेकपाले मेयर भीम पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । नगरवासीले एक बर्षमा पनि कुनै परिवर्तनको महसुस नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले मेयर पराजुलीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
महानगरपालिकामा आईतबार पुगेको नेकपा विराटनगर समितिले करको दायरा बढाएको, विकास निर्माणमा उल्लेख्य प्रगति नगरेको र नगरबासीले धूलो तथा हिलोका कारण सास्ती ब्यहोर्नु परेको भन्दै मेयरको आलोचना गरे । प्रमुख पराजुलीलाई ज्ञापन पत्र पेश गर्दै नेकपाकी नेता नमिता न्यौपानेले अवैज्ञानिक र अवैध तरिकाले करमा अस्वभाविक वृद्धि गरेको बताईन् ।
न्यौपानेले अनावश्यक कर्मचारी भर्ना गरेको, महँगो प्रशासन संचालन गर्ने र अनावश्यक कोटेशन आव्हान गरिएको पनि आरोप लगाईन् । ज्ञापन पत्र बुझाउँदै नेकपा विराटनगरका नेता सागर थापाले महानगरपालिका प्रमुख पराजुलीले एकलौटी १ सय ५० वटा भन्दा बढी टेण्डर वडा मार्फत नगरेर आफैंले हचुवाको भरमा आव्हान गरेको आरोप लगाए ।
ज्ञापन पत्र बुझ्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले करको दर वृद्धि स्वभाविक भएको बताए । अन्य नगरपालिका, महानगरपालिकाको भन्दा विराटनगरमा करको दर कम रहेको दाबी गर्दै पराजुलीले आफूले सुशासन कायम राख्न र विराटनगरलाई समृद्ध बनाउन प्रतिबद्ध भएर काम गरिरहेको पनि प्रस्टीकरण दिए ।
ज्ञापन पत्रमा आफूहरुको माग सुनुवाई नभए र अवैध, औचित्यहिन तथा जनताको ढाडसेक्ने प्रकारका जनविरोधी कर वृद्धिको निर्णय फिर्ता लिन चेनावनीसमेत दिइएको छ । आफूहरुको माग साउन महिनाको ७ गतेभित्रमा पुरा नभए क्रमबद्ध रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गरिने नेकपाकी नेतृ न्यौपानेले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्