सबैको मन जितेर चारैतिरबाट प्रशंसा पाउन सफल क्रोएसियाकी राष्ट्रपति

सबैको मन जितेर चारैतिरबाट प्रशंसा पाउन सफल क्रोएसियाकी राष्ट्रपति

एजेन्सी । केहीदिन अगाडि फ्रान्स र क्रोएसियाबीच भएको अन्तिम खेलपछि विश्वकप २०१८ समाप्त भएको छ । यससँगै दोस्रोपटक ट्रफि जितेर विजयी बनेको टीम फ्रान्सको सबैतिर अधिक चर्चा भयो भने अर्कोतर्फ खेलमा हार बेहोर्नु परेपनि अहिले सबैको ध्यान क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकतर्फ पनि उत्तिकै केन्द्रित भइरहेको छ ।

मस्कोमा आयोजित विश्वकपको अन्तिम समारोहमा सहभागी भएकी ग्राबरले अहिले सबैको मन जितेर चारैतिरबाट प्रशंसा पाइरहेकी छन् । सम्पूर्ण खेलभरि उत्साहपूर्वक आफ्नो देशको समर्थन गरेकी ग्राबरले पानी परिरहेको अवस्थामासमेत भिजेरै खेलाडीहरुको हौसला बढाएर सबैलाई अचम्मित पारेकी हुन् । यति मात्र नभइ अन्त्यमा पराजित हुनुपरेपनि फ्रान्स र क्रोएसिया दुवै टिमका एक एक खेलाडीलाई उनले अंकमाल गरी मैदानको माहोल नै मार्मिक बनाएकी थिइन् । सो दृश्य यसपटकको विश्वकपकै सबैभन्दा स्मरणीय क्षण भएको अन्तर्राष्ट्रिय संचार एजेन्सी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उल्लेख गरेका छन् । राजनीति र हारजितलाई पर राख्दै उनले हर्षका साथ विपरित टिमका खेलाडीप्रति समेत न्यानो व्यवहार देखाएकी हुन् । यसैकारणले चर्चामा आएकी राष्ट्रपति ग्राबरले विश्वको मन छुन सफल भइ अन्तिम समयमा खेलको केन्द्रबिन्दु बनेकी हुन् ।

आफ्नै खर्चले इकोनोमी क्लासमा फाइनल हेर्न मस्को पुगेकी ग्राबरले भीआइपी स्थानबाट नभएर सामान्य सिटबाटै क्रोएसियाको टिसर्ट लगाएर देशलाई समर्थन गरेकी थिइन् । खेलाडीहरुलाई मेडल वितरण गरिएको समयमा उनी पुटिन र फ्रान्सका राष्ट्रपति म्याक्रोनसँगै उभिएकी थिइन् । त्यसबेला भारी वर्षा भइरहेकाले पुटिनलाई विशेष सुरक्षा प्रदान गरी पानीबाट जोगाउन छाता  ओडाइएको थियो भने ग्राबर छाताबिना नै उभिएर भिजिरहेकी थिइन् । तरपनि उनले कुनै गुनासो गरिनन् र केबल क्रोएसियाको बहादुरीपूर्ण प्रस्तुतिप्रति गर्व र खुसी व्यक्त गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पानीमा भिज्नु परेपनि आफ्ना खेलाडीहरुको हौसला बढाउन उनी निरन्तर हाँसिरहेकी थिइन् । यसको केही समयपछि मात्र उनलाई छाता ओडाइयो ।

उनको यस्तो व्यवहारले फुटबल फ्यानहरुलाई र विश्वकपको माहोललाई नै भावनात्मक बनाइदिएको धेरैले प्रतिक्रिया दिएका हुन् । यो भन्दा अगाडिको सेमी फाइनल खेलमा भने नाटो सम्मेलनका कारण उनी सहभागी हुन पाएकी थिइनन् भने क्वाटर फाइनलका लागि रुसविरुद्धको खेल उनले राष्ट्रपति पुटिनसँगै बसेर हेरेकी थिइन् । जसबेला उनले पुटिनकै अगाडि जितको खुसी मनाएर नाचेको भिडियो भाइरल भएको थियो । यसअघि २० वर्षपहिले मात्र क्रोएसियाले विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको थियो ।

५० वर्षीया ग्राबर क्रोएसियाकी चौँथो राष्ट्रपति हुन् भने पूर्वी युरोपमा राष्ट्रपतिका रुपमा नियुक्त हुने पहिलो महिला पनि हुन् । यसका साथै ४६ वर्षको उमेरमा उनी देशकी सबैभन्दा कान्छी राष्ट्रपति बनेकी हुन् । २०१७ मा फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक शक्तिशाली महिलाको सूचीमा भने उनी ३९ औँ स्थानमा पर्न सफल भएकी थिइन् ।

यसअघि अमेरिकामा क्रोएसियाकी राजदूतसमेत रहिसकेकी ग्रोबार अङ्ग्रेजी, स्पेनी, पोर्चुगिज र आफ्नो मातृभाषासहित चारवटा भाषा प्रष्ट बोल्न सक्छिन् भने इटली, जर्मन र फ्रेन्च पनि उनले बुझ्न सक्ने बताइएको छ । क्रोएसियामा राष्ट्रपतिका साथै प्रधानमन्त्रीको पनि महत्वपूर्ण भूमिका रहने गरेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्