ऐतिहासिक एकदिवसीय खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ

ऐतिहासिक एकदिवसीय खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ

काठमाडौं । नेदरल्यान्ड्स र एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टिमलाई बिदाइ गरिएको छ । काठमाडौंमा बुधबार कार्यक्रम गर्दै क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र क्रिकेट खेलाडी संघले बिदाइ गरेका हुन् ।

१५ सदस्यीय नेपाली क्रिकेट टिम बिहीबार (भोलि) इंग्ल्यान्ड प्रस्थान गर्दैछ । साउन १३ गते इंग्ल्यान्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले खेलाडीले नै देशको गौरव भएको भन्दै जितको शुभकामना दिए ।

ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सबै खेलाडी उत्सुक रहेको नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले बताए । कप्तान खड्काले टिम निकै सन्तुलित भएको पनि बताए ।

उनले भने, “सबैको चाहना थियो की नेपाल क्रिकेट यो स्थानमा पुगोस् भनेर । नेदरल्यान्ड्ससँग पहिलो एक दिवसीय खेल खेल्दैछौं । धेरै खुशी छौं र जितेर नै सुरुवात गर्ने सक्दो प्रयासमा छौं ।”

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले नेपाल ऐतिहासिक क्षण नजिक रहेको बताए । प्रशिक्षक टमाटाले भने, “अवश्य पनि हामी राम्रो क्रिकेट खेल्नेछौ । हामी त्यहाँ गएर पनि ३–४ वटा अभ्यास खेल खेल्नेछौं । सबै खेलाडी फिट छन् । हाम्रो लक्ष्य भनेको नै जित्नु हो ।”

नेपाली क्रिकेट टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी र ललित भण्डारी रहेका छन् । त्यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी पनि टिममा छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्