विराटनगरमा मौलाएको साउन, मेहन्दीदेखि हरिया चुरासम्म ( फोटो फिचर सहित)

विराटनगरमा मौलाएको साउन, मेहन्दीदेखि हरिया चुरासम्म  ( फोटो फिचर सहित)

प्रेम देवान/ओवी
विराटनगर, ३ साउन ।
झरी बर्सिरहने साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेका छन् । यो समयलाई किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउँदै ‘पपुलर कल्चर’ को रूपमा परिचित गराएका छन् । आयातित मानिएको यो भारतीय संस्कृतिमा मेहन्दी र हरियो चुरीलाई प्रेम र सुहागको प्रतीक पनि मानिन्छ । अचेल यो संस्कृतिले साना नानीहरुदेखी किशोरी, युवती होस् या वयस्क, सबैलाई छुन थालेको छ । साउन महिनाभरी मेहन्दीले हत्केला र हरियो चुरीले नाडी सजाउनु अब फेसन जस्तै बनिसकेको छ।
हिन्दु धर्मावलम्बीहरुले लागि साउन महिना धर्म र संस्कृतिको महिनाको रुपमा लिईन्छ । मेहेन्दी र चुरा मात्र होइन,पहिरन पनि हरियै लगाएर सजिएको देख्न सकिन्छ । विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा लगाउँदा श्रीमान्को आयु बढ्ने बताउँछन् । अनि अविवाहिता युवती भने हरियो चुरा लगाए मनले चिताएको श्रीमान् पाइने सुनाउँछन् । हरियो रंग महादेवलाई मन पर्ने रंग भएकाले साउनमा हरियो लगाउँदा महादेव खुशी हुने पनि विश्वास छ ।
विराटनगरमा यस्तो
साउनको महिना लाग्नु अघिल्लो दिन देखि नै विराटनगरका क्याम्पस पढ्ने मात्र हैन स्कुले बालिकाहरुले हातभरी मेहन्दी लगाएर सजिएका थिए । साउन महिनाको पहिलो दिनदेखि नै हात भरी पहेँला र हरिया चरासँगै हत्केलाको मेहन्दीले निक्कै सजिएको छन् । साउन महिना लागेसँगै नाडीमा काँचको हरियो चुराको आवाज बजाउदै विराटनगरका गल्ली, चोक तथा बिभिन्न कार्यक्रममा युवती तथा महिलाहरु प्रसस्त भेटिने गरेको विराटनगरकी व्यूटीसियन संध्या राई बताउँछिन् ।
त्यसो त यो संस्कृतिसँग जोडेर हेर्दा हत्केलामा लगाएको मेहन्दीको रंग गाढा बसेमा असाध्यै मायाँ गर्ने पति पाइन्छ भन्ने विश्वास रहेको फेशन डिजाईनर सेवन्त अधिकारी बताउछिन् । अन्य किशोरीझैं हरियो चुरा र मेहेन्दीमा सजिएकी विराटनगरकी दर्शना प्रसाईकोे पनि उस्तै कुराछ, उनी भन्छिन् – ‘प्रकृतीको पुजा गर्ने महीना भएकोले हरियो लुगा, हरियो चुरा अनि प्रकृतीबाट बनाईएको मेहेन्दी लगाईन्छ ।’
विराटनगर ६ की व्यूटिसियन भलि लिम गुरुङ भन्छिन्–किशोरी र युवतीहरूका लागि साउनमा मेहेन्दी र हरियो चुरा लगाउनु सौन्दर्य प्रदर्शन पनि रहेको सुनाउँछिन् । ‘साउनमा महिलाले लगाउने हरियो चुरा र मेहेन्दीले राम्रो पति पाइन्छ भन्ने विश्वास पनि आफ्नो ठाउँमा होला तर यो नारीको सौन्दर्यको प्रस्तुति पनि हो, –उनी भन्छिन् ।’
क्रियएटिभ हेन्स फेशन बुटिक विराटनगरकी फेशन डिजाईनर शिल्पा कार्कीका हत्केलामा आफैं मेहन्दीको बुट्टाले भरिएको हात देखाउँदै भनिन्,‘नेपाली महिलाहरुकोलागि साउन महिना धार्मिक महिना भएका कारण पनि यो चलन चल्तीमा आएको हो, म त हरेक बर्ष मेहन्दी र हरियो चुरा लगाउन छुटाउँदिन ।’
दमककी मोडल अनु लिम्बुले पनि हातमा मेहन्दी लगाएर आफ्नो फेसबुकमा तस्वीर पोष्ट गरेकीछिन् । नेपाली नारीले पनि साउनको हरियालीसँगै आफ्ना पहिरनमा परिवर्तन ल्याएका छन् । उनीहरूको लवाइमा हरियाली छाएको छ । हरियो चुरा, हरियो पोते, हरियो सारीमा सजिने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्