विराटनगरमा रहेको एक नम्बर प्रदेश प्रमुख कार्यालयको वेभसाइटमा विवादास्पद फोटो

विराटनगरमा  रहेको एक नम्बर प्रदेश प्रमुख कार्यालयको वेभसाइटमा विवादास्पद फोटो

विराटनगर, ७ साउन । प्रदेश नम्बर १ का प्रमुख प्राडा गोविन्दप्रसाद तुम्बाहाङले विवादास्पद व्यक्तिसँग खिचेको तस्वीर प्रदेश प्रमुखको वेभसाइटमा राखिएको पाइएको छ । विवादास्पद धार्मिक अभियन्ता श्रीनिवास आचार्यसँग खिचेको तस्बीर प्रदेश नम्बर १ सरकारको आधिकारिक वेभसाइटमा राखिएको हो । श्रीनिवास आफैलाई गोली हानेको आरोपमा पक्राउ परेर धरौटीमा व्यक्ति हुन् । श्रीनिवासले माला लगाएर प्रदेश प्रमुख तुम्बाहाङलाई मायाको चिनो दिंदै गर्दा खिचेको तस्वीर वेभसाइटको मुख्य फोटोको रुपमा राखिएको छ ।

विवादास्पद व्यक्तिसँगको फोटो राखेको विषयमा आलोचना भएपनि प्रदेशप्रमुखको सचिवालयले सो तस्वीर हटाएको छैन । धार्मिक हिंसा फैल्याउने उद्देश्यले आफूले आफैलाई गोली हान्न लगाएको आरोपमा गत बैशाखमा प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएको थियो । हातहतियार तथा खरखजना मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङबाट पूर्पक्षका लागि कारागार चलान भएका आचार्यले जिल्ला अदालत मोरङबाट धरौटीमा तारेखमा छुटेका थिए ।पटक पटक विवादमा आउने गरेका आचार्यसँग तुम्बाहाङको विराटनगरमा घटना हुन अघि सुनसरीको चक्रघट्टीमा आयोजित एक कार्यक्रममा खिचिएको तस्बीर हो । आचार्यकै आश्रममा आयोजित पुराणका प्रमुख अतिथि बनेका प्रदेश प्रमुख तुम्बाहाङलाई सो समय आचार्यले स्वागत गरेका थिए । सोही फोटो अझै प्रमुखको वेभसाइटमा छ ।

गत चैत २५ गते विहान विराटनगर–१४ मा पुराण वाचन गर्न आएका आचार्यमाथि गोली प्रहार भएको थियो । एक महिना अनुसन्धान गरेको प्रहरीले बैशाख २४ गते सोमवार आचार्यकै योजनामा गोली प्रहार भएको दावीसहित अन्य दुई जना सार्बजनिक गरेको थियो । आचार्यलाई सहयोग गरेको आरोपमा प्रहरीले माधव चौधरी र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई पक्राउ गरेको थियो । सहयोगीलाई ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ भने आचार्यलाई हातहतियार तथा खरखजना मुद्दा दायर गरिएको थियो ।उद्घोष दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्