बिराटनगर साउन १५ , विराटनगरमा सदन र सरकारमा दुईतिहाई बहुमतको दम्भविरुद्ध भन्दै नेपाली कांग्रेसले विरोधसभा सपन्न गरेको छ । विराटनगरको विरेन्द्र सभागृहबाट सुरु भएको र्याली कांग्रेसका कार्यकर्ता तथा शुभचिन्तकसहित विराटनगरको विभिन्न भागको परिक्रमापछि स्थानीय जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का सचेतक केदार कार्कीले सरकारको नेतृत्व रोगीहरुको झुन्ड भएको आरोप लगाउँदै जनताको सेवामा लाग्न नसक्ने बताए । उनलेभने, “प्रधानमन्त्री ओली आफैं औषधिको जिन्दगी बाँच्दै हुनुहुन्छ । औषधि खान बिर्सीएको बेला कहीलेकाही बर्बराउनुहुन्छ ।”
तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापाले सरकारले संविधानको उल्लंघन र जनतामाथि कर थुपारेको भन्दै विरोध गरे । उनले भने, “ओली सरकारले जनताको ढाड भाँच्नेगरी कर बढाएको छ, कर नघटाउन्जेल तरुणहरु चुप लागेर बस्ने छैनन् ।”
नेपाली काग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारले महिलाहरुलाई अपमान गरेको आरोप लगाइन् । उनले सरकारले महिलाहरुको अस्मितामाथि धावा बोल्ने काम भएको उल्लेख गर्दै माहिलाको सम्मान गर्न नसक्नेले जनाताको सम्मानको अपेक्षा गर्नु मुर्खता हुने बताइन् ।
त्यसैगरी केन्द्रीय सदस्य अमृत अर्यालले संविधानको उल्लंघन गरेर सरकारले सभामुख र उपसभामुख राखेको आरोप लगाउँदै संविधानको धाराा ९२ को उपधार २ को खिल्ली उडाएको आरोप लगाए । अर्का केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले कांग्रेस संख्यामा कमजोर भएपनि जनताको पक्षमा लागिपरेको बताए ।
नेपाली काग्रेस केन्द्रीय कमिटिको निर्देशन बमोजिम देशभरका जिल्लाहरुमा विरोध सभा भएको हो ।