नेदरल्यान्ड्ससँगको एक दिवसीय सिरिजको अन्तिम खेल आज, जितको प्रयासमा नेपाल

नेदरल्यान्ड्ससँगको एक दिवसीय सिरिजको अन्तिम खेल आज, जितको प्रयासमा नेपाल

काठमाडौं । नेपालले नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल शुक्रबार खेल्दैछ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने जित हात पार्ने दाउमा छ ।

नेपालले शुक्रबार नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ  ।

नेपाल आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा नै पराजित हुन पुग्यो । जित नजिक पुगेको नेपाल मिडिल अर्डर ब्याट्सम्यान नचल्दा हारको सिकार बनेको थियो । नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४१.५ ओभरमा सबै विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सकेको थियो ।

नेपालका लागि ब्याटिङतर्फ ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गर्दै ५१ बनाएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३३ रनएपनि अन्य खेलाडीले राम्रो रन बनाउन नसक्दा पहिलो खेलमा हार ब्यहोरेको थियो । नेदरल्यान्ड्सलाई १८९ रनमै समेट्ने क्रममा नेपालका कप्तान पारस खड्काले ४ विकेट लिएका थिए ।

नेपालका चार खेलाडीमध्ये कसले गर्दा ओडीआईमा डेब्यु ?

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने र सोमपाल कामीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सविरुद्धको पहिलो सिरिज खेलबाट डेब्यू गरेका थिए ।

अब सुवास खकुरेल, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललित भण्डारीमध्ये कुन–कुन खेलाडीले नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा खेल्दै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्लान् ?

सुवास खकुरेल (विकेटकिपर ब्याट्सम्यान)

खेलाडी जीवन त्यसै पनि जोखिमपूर्ण नै हुन्छ । त्यही परिवेशमा चोटग्रस्त हुन पुगेका सुवासले कहिल्यै हार मानेनन् । ३ वर्षसम्म राष्ट्रिय टिमबाहिर रहेका सुवास त्यस्ता विकेटकिपर ब्याट्सम्यान हुन्, जसको ठाउँ अरु कसैले लिन सकेको छैन ।

सन् २०१५ नोभेम्बरमा यूएईको अबुधाबीमा भएको आईसीसी विश्वकप क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुवा न्युगिनीसँगको दुई खेलपछि उनी नेपाली टिम बाहिर रहे । उनले पपुवा न्युगिनीसँगको पहिलो खेलमा ६३ रन बनाएका थिए । तर, दोस्रो खेलमा भने सुवास शून्य रनमा नै आउट भएका थिए ।

त्यसपछि खराब लयमा रहेका सुवास नेपाली टिममा परेनन् भने बाइक दुर्घटनामा उनको हात फ्याक्चर हुन पुग्यो । त्यसपछि उनले करिब ६–७ महिना बल र ब्याट समाएनन् । इंग्ल्यान्ड हुदै नेदरल्यान्ड्स भ्रमणमा भने सुवास नेपाली क्रिकेट टिममा अटाए । अनुभवि खेलाडी सुवासले नेदरल्यान्ड्ससँगको दोस्रो एक दिवसीय खेलमा डेब्यु गर्न पाउँलान् ?

रोहितकुमार पौडेल (ब्याट्सम्यान)

रोहितकुमार पौडेल छोटो समयमा नै चर्चामा आएका खेलाडी हुन् । यही वर्ष सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितादेखि मात्रै सिनियर टिममा डेब्यू गरेका खेलाडी हुन् उनी ।

रोहित छोटो समयमा उत्कृष्ट प्रदर्शन गर्दै टिममा पर्दै आएका छन् । नामिविया विरुद्ध डेब्यु गरेका रोहितले छोटो समयमा आफूलाई स्थापित गर्न सफल भएका छन् । उनले सिनियर टिमबाट १२ खेल खेल्दै २३७ रन बनाएका छन् भने उनको उच्च स्कोर ४८ रन रहेको छ । रोहित ओडीआई क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्ने दाउँमा छन् ।

ललितनारायण राजवंशी (बलर)

ललितनारायण राजवंशी नेपालका भरपर्दा युवा खेलाडी हुन् । यही वर्षको मार्चमा जिम्बाब्वेमा सम्पन्न आईसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जिम्बाब्वे विरुद्ध डेब्यू गरेका राजवंशी त्यसयता सिनियर टिममा छन् । सिनियर टिमबाट ६ खेल खेलेका राजवंशीले अहिलेसम्म ५ विकेट लिइसकेका छन् । नेदरल्यान्ड्स भ्रमणमा रहेका राजवंशी ओडीआईमा डेब्यूको पर्खाइमा छन् ।

ललित भण्डारी

ललित भण्डारी नेपालका मिडियम फाष्ट बलर हुन् । उनी सोमपाल कामी र करण केसीको विकल्पमा टिममा अटाएका हुन् । २२ वर्षीय भण्डारीले अहिलेसम्म नेपालबाट लिष्ट ए को मात्र २ खेल खेलका छन् । जसमा १ विकेट लिएका छन् ।

ललितले सन् २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत युएईविरुद्धको खेलबाट डेब्यु गरेका थिए । ललित भण्डारी पनि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने दाउमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्