नेपाली क्रिकेट टिमका लागि नयाँ भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउँदै

नेपाली क्रिकेट टिमका लागि नयाँ भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउँदै

काठमाडौं २३ साउन। एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई आउने भएका छन् ।

अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न आफूहरुले देसाईको नाम आईसीसीमा सिफारिस गरेको नेपाली टिमका प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

 

‘हामीले देसाईको नाम सिफारिस गरेका थियौं । त्यहीअनुरुपमा आईसीसीले स्वीकृत गरेपछि उनी आउने छन् । सम्भवत अगस्ट १५ सम्म उनी आइपुग्छन्’ प्रशिक्षक टमाटाले भने ।

एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।

भारतमा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘ए’मा नेपाल, हङकङ र मलेसिया छन् ।
४३ वर्षका देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन् । उनले गुजरातबाट सन् १९९६ देखि ९७ सम्म एक वर्ष फस्ट क्लास क्रिकेट खेलेका थिए ।

यसअघि पनि नेपाली टिमको ब्याटिङ प्रशिक्षणका लागि भारतबाट नै प्रशिक्षक बोलाइने गरिएको थियो । यसअघि भारतीय प्रशिक्षकहरु मोन्टी देसाई, उमेश पटवाल र सुलक्षण कुलकुर्णीले नेपाली टिमलाई ब्याटिङ सिकाइसकेका छन् ।

नेदरल्याण्ड्समा ऐतिहासिक एकदिवसीय सिरिज खेलेर फर्केको नेपाली टोलीले केही दिनमै एसिया कपको तयारी थाल्ने प्रशिक्षक टमाटाले बताएका छन् । नेदरल्याण्ड्ससँगको दुई खेलको सिरिजमा एक/एक को बराबरी गरेको टोलीमा मनोबल बलियो रहेको प्रशिक्षक टमाटाको भनाइ छ ।

सिरिज सकेर फर्किएपछि प्रशिक्षक टमाटाले आफूहरुको ब्याटिङमा पुरानै समस्या देखिए पनि बलिङ र फिल्डिङ अन्तर्राष्ट्रिय स्तरको भएको बताएका थिए । अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्