सन्दीप लामिछानेको आज सीपीएल क्रिकेटमा पहिलो खेल

सन्दीप लामिछानेको आज सीपीएल क्रिकेटमा पहिलो खेल

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आज आफ्नो पहिलो खेल खेल्दैछ ।

आज (बिहीबार) देखि सुरु भएको सीपीएलमा प्याट्रियट्सले आफ्नो पहिलो खेल गुयाना एमेजोन वारियर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका सन्दीप लामिछाने पनि प्याट्रियट्स क्लबमा आबद्ध छन् । सन्दीपले आजको पहिलो खेलमै खेल्ने मौका धेरै रहेको छ ।

प्रोभिडेन्स रंगशालामा हुने खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् । नेपालका युवा खेलाडी सन्दीपको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय लिगमा सहभागिता हो । यसअघि सन्दीपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए । उनले दिल्लीबाट ३ खेल खेल्दै ५ विकेट लिएका थिए ।

त्यस्तै, सन्दीपले ग्लोबल क्यानेडियन लिग क्रिकेटमा पनि खेल्ने अवसर पाएका थिए । एकपछि अर्को लिग तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप यो सीपीएलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छन् । सन्दीप रहेको प्याट्रियट्स क्लबमा विश्वकीर्तिमान धारी ब्याट्सम्यानदेखि चर्चित खेलाडीहरू रहेका छन् । विष्फोटक ब्याट्सम्यान क्रिस गेल जस्ता खेलाडी सन्दीपकै टिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्