विराटनगर साउन २६ । विराटनगरका तीनवटा अस्पतालभित्र सञ्चालित फार्मेसीलाई नक्कली औषधि बिक्री प्रकरणमा मुद्दा चलाउने तयारी गरिएको छ । अनुसन्धानका क्रममा नक्कली र दर्ता नभएको औषधि फेला परेका तीनवटा फार्मेसीलाई औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले मुद्दा चलाउने तयारी गरेको हो ।
क्षेत्रीय कार्यालयले कारोवारी जीवन अग्रवालसँगै गोल्डेन हस्पिटलभित्र सञ्चालित फेमली केयर फार्मेसी, म्याक्स अस्पतालभित्र सञ्चालित लङ लाइफ फार्मेसी र विराट मेडिकल कलेजभित्र सञ्चालित महुली फार्मेसीका सञ्चालकविरूद्ध औषधि ऐन २०३५ अनुसार मुद्दा दर्ताको तयारी थालिएको हो ।
गोल्डेन, म्याक्स र विराट मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले जीवन अग्रवालसँग नक्कली औषधि कारोवार गरेको प्रमाण फेला परेको थियो ।
तीनमध्ये माहुली फार्मेसीका सञ्चालक प्रशान्तकुमार चौधरी र लङ लाइफ फार्मेसीका सञ्चालक दीपककुमार राय प्रहरी नियन्त्रणमा छन् ।
जीवन अग्रवालको हिसावखाता (लेजर) मा उल्लेख भएका फार्मेसीहरूपनि अनुसन्धानको घेरामा तानिएका छन् । अग्रवालको हिसावखातामा विराटनगरका पाँचसहित धरानका र दमकका फार्मेसीमा औषधि आपूर्ति गर्दै आएको प्रमाण भेटिएको छ ।
छापा मार्ने क्रममा ६६ प्रकारका आकस्मिक तथा सघन उपचार कक्ष (आइसीयू ) मा प्रयोग हुने जीवनरक्षक औषधिसहित दीपककुमार राय र प्रशान्तकुमार चौधरी नियन्त्रणमा लिएको थियो ।