नेपाली क्रिकेट टिमको एसिया कपको तयारी तीव्र, भारत पाकिस्तानसंग खेल्ने लक्ष्य

नेपाली क्रिकेट टिमको एसिया कपको तयारी तीव्र, भारत पाकिस्तानसंग खेल्ने लक्ष्य

काठमाडौं । नेपाली क्रिकेट टिम यतिबेला निकै महत्वपूर्ण घडीमा उभिएको छ । नेपालले मलेसियामा हुने एसिया कप छनोट क्रिकेट प्रतियोगिताको विजेता बन्न सके इतिहास कोर्नेछ ।
अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा हुने एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो होला ? छनोटमा हङकङ, युएई, मलेसिया, ओमन र सिंगापुरलाई उछिन्दै नेपालले एसिया कपमा स्थान बनाउला ? जति छनोट प्रतियोगिता नजिकिँदै, छ त्यति नै कौतूहल र उत्सुकता पनि बढेको छ ।

छनोटको विजेता बन्न सके नेपालले एसिया कपमा पहिलो पटक स्थान बनाउनेछ भने नेपालले फेरि एकपटक इतिहास रच्नेछ । अनि क्रिकेटको पावरहाउस मानिने भारत र पाकिस्तानसँग खेल्ने नेपालको वर्षौं पुरानो सपना पूरा हुनेछ ।

त्यही सपनालाई साकार पार्न यतिबेला नेपाली क्रिकेट टिम टियू क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छ । अगष्ट १४ तारिखदेखि प्रशिक्षण थालेको नेपाली क्रिकेट टिमको एउटै सपना हो– एसिया कपमा छनोट हुने ।

बन्द प्रशिक्षणमा जुटे पनि पर्याप्त भौतिक पूर्वाधारको अभावमा नेपाली क्रिकेट टिमलाई मौसम मुख्य चुनौती बनेको छ । समय कम रहेको र मेहनत धेरै गर्नुपर्ने दबाबमा नेपाली क्रिकेट टिम रहेको छ । बन्द प्रशिक्षण भइरहँदा पानी परेकाले अभ्यासमा समस्या भइरहेको नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले बताएका छन् ।

उनले भने, “क्याम्प सुरु भयो तर, पानी परेपछि इन्डोरमा अभ्यास गर्दैछौं । केही दिनपछि श्रीलंका जाँदैछौं । त्यहीबाट हामी एसिया कप छनोटका लागि मलेसिया जानेछौं ।”
नेपालले श्रीलंकामा स्थानीय क्लबहरुसँग ३ अभ्यास खेल खेल्ने बताइएको छ । अगष्ट २० तारिखमा श्रीलंका जाने टिमले श्रीलंकामा एक हप्ता अभ्यास गर्नेछ । नेपालका लागि एसिया कप छनोट महत्वपूर्ण रहेको कप्तान पारसले बताएका छन् ।

उनले भने, “सबै टिम बलियो नै छन् । युएई, ओमन, हङकङ, सिङ्गापुरलाई त्यति सजिलो रुपमा लिनु हँुदैन । सबै टिमसँग पहिलेदेखि खेल्दै आएका छौं । राम्रा छन् सबै टिम । आशा गरौं, हामीले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्यौं भने हामी हराउन सक्छौं ।”

केही दिन अगाडिमात्रै नेपालले नेदरल्यान्ड्ससँग ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेर फर्किएको थियो । नेदरल्यान्ड्ससँगको सिरिजमा पहिलो खेलमा नेपाल पराजित भए पनि दोस्रो खेलमा भने जित हात पार्दै सिरिज १–१ को बराबरीमा टुंग्याएको थियो ।

“एसिया कपमा छनोट हुुनेछौं । त्यसका लागि केटाहरुले राम्रो मेहनत गरेका छन् र भर्खरै हामी ओडीआई खेलेर पनि आएका छौं । त्यो भन्दा पनि क्वालिफायर भएर गएपछि भारत र पाकिस्तानसँग खेल्नुछ,” नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले भने ।

उनले अगाडि थपे, “त्यो खेलका लागि खेलाडीहरुले कडा परिश्रम गर्नेछन् । भारत पाकिस्तानसँग खेल्ने सबैको सपना नै हो । त्यसका लागि भर्खरै ब्याटिङ कोच पनि आएका छन् ।”
धेरैले नेपाली क्रिकेटको समस्याका रुपमा ब्याटिङ राम्रोसँग नचल्नुलाई मान्दै आएका छन् । यसअघिका खेलमा पनि नेपालको मुख्य समस्या ब्याटिङ नै देखिँदै आएको छ । तर, यतिबेला नेपाली टिमले ब्याटिङ प्रशिक्षकको रुपमा भारतीय प्रशिक्षक अपूर्व देसाईलाई भित्र्याएको छ ।

नेपालको खेल जति हेरे पनि मुख्य समस्या भनेको विकेट जोगाउन नसक्नु रहेको ब्याटिङ प्रशिक्षक देसाईले बताए । उनले भने, “मलाई लाग्छ जति देखेको छु अथवा जानेको छु, त्यसमा इनिङ्स कन्स्ट्रक्ट हुनमै समस्या भइरहेको छ । त्यसलाई रोक्न योजनाबद्ध रुपमा खेल्नु पर्छ । केही ट्याक्टीकल योजना बनाएर खेल्नुपर्छ । ५० ओभरको खेलमा ११ देखि ३५ ओभरसम्म महत्वपूर्ण ओभर हुन्छ । त्यहाँसम्म चल्न सक्यो भने ब्याटिङ राम्रो हुन्छ ।”

देसाई नेपाल एसिया कपमा छनोट हुनेमा आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्