विराटनगर, ८ भदौ । महंगा र बिलासिताको गाडी किनेको भन्दै पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिको विरोध भइरहेको बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राई थोत्रो गाडी चढेर मन्त्रालयको काम गरिरहेका छन् । मुख्यमन्त्री राईले अहिले चढ्दै आएको टोयोटाको ल्याण्डक्रुजर गाडी नेपाल सरकारले संचालन गर्न नपाइने सूचिमा राखिसकेको भएपनि उनले त्यसलाई उपयोग गरिरहेका छन् । कम्पनीले निर्माण गरेको मितिबाट २० वर्षसम्म गाडी संचालन गर्न पाइने व्यवस्था नेपाल सरकारले गरेको छ । काठमाण्डौमा २० वर्ष अवधि पुरा गरेको सबै सार्वजनिक सवारी साधन सरकारले स्क्रायापमा लगिसकेको छ । तर प्रदेश १ का मुख्यमन्त्री राईले चढेको गाडी २३ वर्ष पुरानो हो । सन् १९९५ मोडलको सो गाडी सुनसरी मोरङ सिंचाई योजनाको स्वामित्वमा छ । को १ झ २३५ नम्वरको यो गाडी विराटनगरमा भिआईपि बोकेर थोत्रो भएको एउटै मात्र गाडी हो ।
२०५२ सालमा खरिद गरेको सो गाडीले सबैभन्दा लामो सेवा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दिएको थियो । पूर्वी नेपालको प्राय सबै जिल्लामा पुगेको यो भिआइपि गाडीले प्रधानमन्त्री बाहेक केन्द्र सरकारका शक्तिशाली मन्त्रीहरुलाई पनि उतिकै सेवा दिएको छ । यो गाडी बढी प्रयोग गर्नेमा बिजयकुमार गच्छेदार पनि हुन् । नेपाल सरकारले प्रदुषण नियन्त्रण गर्न भन्दै २० वर्ष पुरा भएका सवारी साधन हटाउने निर्णय २०७४ साल चैत्र १ गतेदेखि कार्यान्वयनमा ल्याइसकेको छ । तर संघीय सरकारले गाडी उपलव्ध नगराएको हुनाले उनले सो गाडी नै प्रयोग गरेका हुन् ।
निश्चित सुरक्षाकर्मी र पिएसओ अटाउने तथा एयरकण्डिसन सहितको सुविधा भएको अरु गाडीको प्रवन्ध नभएकोले पूर्व भिआइपिले प्रयोग गरेको सोही गाडी उनले प्रयोग गरेका हुन् । अन्य मन्त्रालयहरुमा पनि सवारी साधनको अभाव देखिएको छ । अघिल्लो आर्थिक वर्षको अन्तिममा आर्थिक मामिला तथा योजना मन्त्रालयले भने करिव १ करोड रुपैयाँमा दुई ओटा गाडी खरिद गरेको थियो ।