एसिया कप छनौटका लागि नेपाली क्रिकेट टोली आज मलेसिया जाँदै

एसिया कप छनौटका लागि नेपाली क्रिकेट टोली आज मलेसिया जाँदै

काठमाडौँ, भदौ ११ । मलेसियामा अगष्ट २९ तारिखदेखि शुरु हुने एसिया कप क्रिकेट छनौटका लागि नेपाली क्रिकेट टोली आज (सोमबार) मलेसिया जाँदैछ ।

प्रतियोगिताको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोली बिहान १० बजेपछि त्यतैबाट मलेसिया जाने भएको हो । श्रीलंकामा खेलेका तीनवटै अभ्यास खेलमा जित हात पारेको नेपालले प्रतियोगिता अन्तर्गत बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

एसिया कप छनौट प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईबीच सामना हुनेछ। नेपालले शीर्ष स्थान हासिल गरे भारत र पाकिस्तानको सिनियर टोलीसँग खेल्न पाउनेछ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा १५ खेलाडी र ६ जना अफिसियलहरु छन् । खड्का सँगै खेलाडीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ सेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल छन् ।

यस्तै टोलीसँगै मुख्य प्रशिक्षक जगत टमटा, ब्याटिङ परामर्शदाता अपूर्व सुबोध देसाई, व्यवस्थापक रमन सिवाकोटी, फिजियो दिनेश भट्ट, ट्रेनर सुबास पात्रो र भिडियायो एनालिस्ट सुरज शाक्य पनि रहेका छन् ।

राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् । श्रीलंकामा अभ्यासको क्रममा भएका तीन खेलमा नेपाली टोली विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्