विराटनगरमा यसरी घट्दैछन् अपराधका श्रृङ्खला, मनै झस्काउने घटनाहरु यस्ता छन्

विराटनगरमा यसरी घट्दैछन् अपराधका श्रृङ्खला, मनै झस्काउने घटनाहरु यस्ता छन्

सुमन/प्रेम ।
ओबी न्यूज डेक्स
विराटनगर,१२ भदौ ।
विराटनगर अहिले एक नम्बर प्रदेशको अस्थायी राजधानी हो । स्थायी बनाउनको लागि अहिले प्रदेश सरकार लागि रहेको छ भने बिराटनगरलाई स्थायी राजधानी बनाउनको लागि विराटनगरवासी मात्र हैन अन्य सहरवासीहरु पनि लागेका छन् । विराटनगरलाई स्थायी राजधानी बनाउनुपर्छ भनेर आवाज पनि उतिकै मात्रामा उठिरहेको छ । विराटनगरमा मात्रै एक महिनाको अवधिमा अपरराधका घटनामा ह्वात्तै बृद्धी भएको छ । प्रहरीका आनुसार एक महिनाको अबधिमा आधा दर्जन बढी घटनाहरु घटेको प्रहरी तथ्यांकमा देखिएको छ। यसरी एक पछि अर्को घटना घट्दै जानुले सर्बसाधारणको जनजीवन पनि त्रसित बन्दै गएको छ । एक प्रहरी अधिकारीबाटद अर्को प्रहरी अधिकारी परिवर्तन हुने बितिकै आपराधिक गतिबिधि बढ्ने गरेको बिभिन्न घटना क्रमहरुले देखाउने गरेको छ । यसरी विराटनगरमा मानिसको हत्या गर्ने देखि सरकारी कार्यलयमा बम पडउने आफ्नै श्रीमती र छोरीलाई खुकुरी हान्ने जस्ता जघन्य अपराधका घटनाहरुले आम नागरिकमा सुरक्षा संवेदनशिलता बारे गम्भीर प्रश्न खडा गरेको छ । विराटनगरमा एक महिनाको अवधिमा यस्ता घटनाक्रम देखिए ।
घटना १
विराटनगर ४ मा रहेको नोबेल मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीको रहस्यमय तरिकाले मृत्यु भयो । नोबेल मेडिकल कलेजमा एमबिबिसको अन्तिम वर्षमा अध्यनरत २५ बर्षिय सौरभ उप्रेतीको मृत्युको रहस्य अझै बाहिर आउन सकेको छैन । साउन १६ गते सौरभको मुत्यु भएको लगभग १ महिना पुग्न लागिसकेको छ । तर अझै हत्या हो वा आत्महत्या भन्ने यकिन हुन सकेको छैन । अन्तिम वर्षको परीक्षा दिइरहेका विद्यार्थी उप्रेती सुतेकै कोठामा खाटमुनी मृत फेला परेका थिए । सौरभ राती अवेरसम्म साथीहरूसँगै पढेर सुतेका थिए । उनको घाँटी र शरीरमा चोट देखिएको थियो। मोरङ प्रहरीले सौरभको मृत्युको रहस्य पत्ता लगाउन उच्चस्तरीय टोलीबाट सुक्ष्म अनुसन्धान भइरहेको बताएको छ । महिनादिन पुगिसक्दा पनि सौरभको मृत्युको कारण पत्ता नलाग्दा घटना अझै रहस्यमय बनिरहेको छ ।
घटना २
नोवेल मेडिकलमा भएको घटना वित्न नपाउदै दुईदिन पछि विराटनगरमा पुन:अर्को घटना बाहिर आयो । विराटनगर १४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा अन्दाजी २२ वर्षीय युवतीको शव भेटियो । ति युवतीको शव नग्न अबस्थाको थियो । साउन १८ गते तराई मुलको जस्तो देखिने ती युवतीको शवको हालसम्म सनाखत हुन सकेको छैन । शव नाङ्गो अवस्थामा भेटिएकोले बलात्कार गरी फालिएको हुनसक्ने आशंका गरिएको छ । तर घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
घटना ३
साउन २७ गते विराटनगर महानगरपालिका भित्र बम विष्फोट भयो । सरकारी कार्यालय हाता भित्र मेयरको कार्यकक्षलाई लक्षित गरि भएको बिस्फोटको बारेमा सबै अचम्ममा छन् । बम कसले र किन बिस्फोट गरायो त्यसको कारण अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । बम पड्काउने कोही पनि पक्राउ पर्न सकेका छैनन । बम विष्फोटमा संलग्न भएको आशंकामा केही मानिस पक्राउ गरिएको भएपनि उनीहरू अनुसन्धानपछि छाडिएका छन् । महानगरपालिकाको ८ वटा सीसीक्यामेरा जडान गरिएको सिसिटिभी फुटेजमा कुनै रेर्कड नै नभएको प्रहरी बताउँछ । तर अझै केही हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । सीसीटीभीको रेकर्ड नभेट्दा मोरङ प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भएको अनुसन्धान अधिकृतहरु बताउँछन् । मध्य दिउँसो मेयरको ढोका अगाडी कार्यालयमा बम विष्फोट हुनु र महानगरको सिसिटिभीमा त्यसको रेकर्ड नहुनुले महानगर भित्रैबाट कसैको मिलेमतो भएको हो की भन्ने आशंकाहरु बजामार देखिन थालेका छन् । प्रहरीले त्यो बारेमा पनि अनुसन्धान भईरहेको जनाएको छ । बाम बिस्फोट सम्बन्धि प्रगती प्रहरीले बताउन नचाहेपनि घटना गराउने ब्यक्तिको पहिचानको नजिकै पुगेको मोरङ प्रहरीका एसपी मनोज केसीले बताए ।
घटना ४
महानगरको बम विस्फोटको पाँच दिन नबित्दै अर्को गम्भिर अपराधिक घटना घट्न पुग्यो । भदौ १ गते आफ्नै प्रेमीले प्रेमीकाको छुरा रोपेर हत्या । सँगै जिउने सँगै मर्ने कसम खाएर प्रेमिल जिवन बिताउँदै आएका विराटनगर १३ की २२ बर्षिया शिखा घिमीरेलाई आफ्नै प्रेमीले दाउ प्रहार गरी हत्या गरे । विराटनगर–१३ कै ३० वर्षीय दिनेश भट्टाराईले आफ्नी प्रेमीका शिखा घिमिरेको भदौ १ गते घुमाउन लैजाने भन्दै हत्या गरेका हुन् । घुम्न गएको मौकामा एकान्तमा पुर्याई ग्रामथान गाउँपालिका–३ सिद्राहामा हत्या भएको हो । यो घटनामा पनि प्रहरीको सक्रियता भन्दापनि स्थानीयको सक्रियतामा हत्यारा पक्राउ पर्न सफल भएपछि स्थानीयले प्रहरीलाई बुझाए । यो घटनामा पनि प्रहरीको भुमिका फितलो देखिन्छ पक्राउ गरिएका भट्टराईले किन आफ्नै प्रेमिकाको हत्या गरे भन्ने विषयमा प्रहरीले अहिलेसम्म केही भनेको छैन । तर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।घटना ५
मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेमा रहेको श्री माध्यामिक बिद्यालयको पानी ट्याङ्कीमा हालिएको बिषको कारण २९ जना बिद्यार्थी बिरामी परे । साउन ३० गते बिद्यालयमा गएका बालबालिकाले खाएको पानीमा बिष भएको पाईएपछि बिद्यालय बन्द त भयो तर २९ जना बिद्यार्थी बिरामी परेपछि त्यसरी बिष हाल्ने ब्यक्तिको अहिलेसम्म प्रहरीले पहिचान गनृको सकेको छैन । झण्डै ५ सय जना बिद्यार्थीलाई लक्षित गरी पानीको मुहानमा नै बिष कसले हाल्यो अत्तो पत्तो छैन । श्री माध्यामिक बिद्यालयको पानीको सुरक्षाको ब्यवस्थापनको लागि बिद्यालयले च्यानल गेटको भित्री भागको माथिल्लो तलामा पानीको ट्याङकी राखेको छ । त्यहाँ जो कोही पुग्न सक्ने अबस्था पनि छैन । बिद्यालय लागेको समयमा त्यही बिद्यालयमा आएका बिद्यार्थीहरु तथा शिक्षकले त्यो च्यालन गेटको प्रयोग गर्ने भएपनि बाहिरी मान्छेले त्यो ट्याङ्कीको बारेमा जानकारी नै राख्दैनन । तर त्यसरी राखिएको ट्याङ्की सुरक्षामा बिद्यालयले चासो नदेखाएको हो त ? भनी बिद्यालयका प्रधानाध्यापक खेमराज दु्लाललाई सोध्दा उनले सुरक्षाको लागि ताला नै नलगाएको भएपनि ट्याङ्कीको केहीभाग खुल्ला रहेको स्वीकार गरे । तर यसरी भएको घटनाको बारेमा प्रहरीले यतिका दिनसम्म कसैलाई पक्राउ गर्न नसक्नु पनि प्रहरीले घटनालाई कसरी लिएको छ भन्ने गम्भिर प्रश्न खडा गरेको छ ।
घटना ६
हरेक दिन बिराएर होस् या केही दिनको फरकमा अपराधका घटनामा कमी आउन सकेन । प्रहरी हरेक घटनाको अनुसन्धानमा प्रभावकारी देखिएको छैन । यसरी घटना एक पछि अर्को गर्दै अपराधका घटना घट्नभन्दा बढ्दै गयो । यी सबै घटनाले प्रहरीलाई झनै टाउको दुखाईको विषय बन्न पुग्यो । शिखाको हत्या भएको दुई दिन पछि एक सुरक्षा गार्डको फलामको रड प्रहार गरी हत्या भयो । विराटनगर २ न्यू विक्की हार्डवेयर पसलमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका विराटनगर ४ का ५१ बर्षिया टंक भट्टराईको अज्ञात समूहबाट हत्या भएको थियो । टंक भट्टराईको हत्यारा भने हत्या भएको ८ दिन पछि मात्र प्रहरीले पक्राउ गर्न सफल भएको छ । सुरक्षागार्डको विभत्स तरिकाले हत्या गर्ने विराटनगर ४ जामुनगाछीका २६ बर्षिय संजय सहनीलाई प्रहरीले पक्राउ गरेर एएटा सफलता हात पारेको छ ।
घटना ७
सुरक्षागार्डको हत्या भएको दुईदिनपछि फेरी अर्को घटना भयो, आफ्नै श्रीमती, छोरी र सालो माथि खुकुरी प्रहारको । विराटनगर ११ मा आफ्नै श्रीमान्ले श्रीमती, छोरी र शालोलाई खुकुरी प्रहार गरि गम्भिर घाईते बनाए ।
विराटनगर ११ पिचडाकी ४० वर्षीय पुनम सहनी, उनकी छोरी २० वर्षीया मनिता सहनी र पुनमका भाइ २७ वर्षिय सन्दीप सहनी घाइते भए । केहि समयअघि भागी विवाह गरेका सिराहा गोलबाजार निवासी ४५ वर्षीय श्रीमान् दिलीप सहनीले भदौ ५ गते बिहान उनीहरूमाथि दाउ प्रहार गरी गम्भिर घाइते बनाएका हुन्। विराटनगर पिचरास्थित घरमै बसिरहेको अवस्थामा तीनै जनामाथि दाउ प्रहार भएको थियो।

विराटनगरमा पछिल्लो पटक भएका अपराधिक घटना बढिरहेको यो तथ्यांकले सुरक्षाको अबस्थाको बारेमा प्रहरीले अब नयाँ रणनीति बनाउने या यस्तै घटना मात्र घटि लरहन दिने या दोषीलाई पक्राउ पनी गर्ने भन्ने बारेमा । विराटनगरमा अपराध र हत्या हिंसाको घटनाले प्रहरी संबेदनशिल हुने मात्र हैन आम नागरिक पनि शंबेदनशिल हुनु पर्ने देखिएको छ । मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले सामाजिक अपराध र भईपरी आउने अपराध चुनौति बनिरहेको बताए । प्रत्येक घटनाको छानबिनबाट यस्ता घटना हुन नदिन मोरङ प्रहरीले सक्षम अनुसन्धान गरिरहेको प्रहरी प्रमुख केसीले जानकारी दिए । तर अनुसन्धानको नाममा ब्यक्ति पक्राउ पर्न नसक्नुले घटना पछि प्रहरीको भुमिका थप सुस्त देखिएको आम नागरिकको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्