विराटनगर, १७ भदौ ।
विराटनगर महानगरपालिकामा केही समय अघि वम बिस्फोट गराउने समुहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका तीनै जनालाई मोरङ प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको छ । उनीहरुले घटनामा संलग्नता स्वीकार गरिसकेको प्रहरीले बताएको छ । उनीहरु विरुद्ध विष्फोटन सम्बन्धि र ज्यान मार्ने उद्योगमा मुद्धा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भईरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता आभुषण तिम्सिनाले जानकारी दिए ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले घटनामा संलग्नहरु ३ जनालाई पक्राउ गरिएकोले २ बजे पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने बताए । घटनामा अन्य ब्यक्तिको पनि संलग्नता रहेको हुनसक्ने प्रहरीले जनाएकोछ ।
महानगरपालिकाको सीसीटिभी फुटेजमा घटनाको कुनै पनि कुरा रेकर्ड नभएका कारण विष्फोटमा संलग्नको पहिचान गर्न प्रहरीलाई समय लागेको हो । बजारको सुरक्षाका लागि महानगरपालिका कार्यालय बाहिर सडकमा राखिएको सीसीटिभी फुटेजमा कैद भएको दृष्यलाई आधार मानेर घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
सेवाग्राही बनेर झोला भिरेर मोटरसाइकलमा महानगरपालिका कार्यालयमा छिरेका एक व्यक्ति पछि बाहिर निस्कँदा झोला नलिइकन निस्किएको कुरा बाहिरको सीसीटिभी फुटेजमा देखिएपछि घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएकोछ ।