फेरी पनि अधुरै रह्यो एसिया कप खेल्ने नेपालको सपना ….

फेरी पनि अधुरै रह्यो एसिया कप खेल्ने नेपालको सपना ….

बिराटनगर भदौ १९ , नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम खेलमा खराब नतिजासहित एसिया कप छनोटको यात्रा समाप्त गरेको छ । लिग चरणको अन्तिम खेलमा आज हङकङविरुद्ध फराकिलो जित निकाल्ने दबाबमा रहेको नेपाल खराब ब्याटिङका कारण ३ विकेटले पराजित हुन पुग्यो ।

मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव ५ ओभरमा ९५ रनमा अलआउट भएको थियो । हङकङको कसिलो बलिङमा पहिलो ओभरको दोस्रो बलमा नै नेपालका ओपनर सुवास खकुरेल खाता नै नखोली आउट भए । त्यसपछि क्रिजमा रहेका अनिल शाहलाई सघाउन आएका कप्तान पारस खड्का पनि १४ रनमा आउट भए ।

पारसपछि ब्याटिङमा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले पनि उल्लेखनीय रन जोड्न सकेनन् । २६ बलको सामना गरेका ज्ञानेन्द्र १२ रनमा पभेलियन फर्किंदा ओपनर अनिल शाह १८ रन जोड्दै बाहिरिए । एसिया कप छनोटमा उत्कृष्ट खेलेका युवा खेलाडी दिपेन्द्रसिंह ऐरीले हङकङविरुद्ध दुई रनमात्र बनाउन सके । छैटौं स्थानमा ब्याटिङमा आएका सागर पुन ७ रनमा आउट भए । उनले ओमानविरुद्ध अर्धशतकिय पारी खेले पनि अन्य खेलमा त्यो प्रदर्शन फर्काउन सकेनन् । आरीफ शेखले १८ रन बनाउँदा वसन्त रेग्मी १५ रनमा अविजित रहे । सन्दीप लामिछानेले २ रन बनाए । सोमपाल कामीले खाता पनि खोल्न सकेनन् ।

नेपालको इनिङ्स सस्तैमा समेट्न हङकङका इशान खानले ४ विकेट लिँदा मोहम्मद अजिज खान र तानविर अफजलले २—२ विकेट लिए । ९६ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हङकङ ३२ दशमलव ३ ओभरमा लक्ष्य भेट्टाउन सफल भयो । नेपालका सन्दीप लामिछानेले ५ तथा सागर पुन र वसन्त रेग्मीले १ विकेट लिए पनि हार टार्न सकेनन् । प्रतियोगितामा नेपालले दुई खेलमा जित निकालेको थियो । मलेसियासँग १९ रन र सिंगापुरसँग ४ विकेटको जित निकालेको नेपाल ओमानसँग ७ विकेट र युएईसँग ७८ रनले पराजित भएको थियो ।

नेदरल्याण्ड्ससँग एकदिवसीय सिरिज खेलेर फर्किएको केही सातामै एसिया कप छनोट खेल्न गएको मलेसिया पुगेको नेपालका टप अर्डरका खेलाडी नचल्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्