विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने

विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने

काठमाडौं कार्तिक ८ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने भएको छ । चार दिनसम्म नेपाल रहने विश्वकप क्रिकेटको ट्रफी नेपालका विभिन्न आइकोनिक स्थानमा प्रदर्शन गरिने नेपाल क्रिकेट संघ (क्यान) की पूर्वसीईओ भावना घिमिरेले जनाइन् ।

घिमिरेका अनुसार शुक्रबार बेलुकी बौद्ध स्तुपामा ट्रफीको प्रदर्शन गरिनेछ भने शनिबार पोखराको फेवाताल र पोखरा क्रिकेट रंगशालामा प्रदर्शन गरिनेछ । आइतबार चन्द्रागिरी डाँडामा प्रदर्शन गरिने विश्वकप क्रिकेटको ट्रफी सोमबार बसन्तपुर दरवार स्क्वायरमा प्रदर्शन हुनेछ । 

आईसीसीले नेपाली क्रिकेटको लोकप्रियतालाई मध्यनजर गर्दै ट्रफी पहिलो पटक नेपाल ल्याउन लागेको हो । घिमिरेले राष्ट्रपतिबाट ट्रफी अनावरण गर्ने कुरा भए पनि त्यसबारे केही टुंगो नलागेको बताइन् । अहिलेसम्म कुनै विशेष कार्यक्रम तय नभए पनि बसन्तपुर दरवार स्क्वायर र पोखरामा नेपाली क्रिकेट खेलाडी र समर्थकसँग अन्तरक्रिया कार्यक्रम रहेको घिमिरेले जनाइन् । विश्वकप ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ । ट्रफी भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रूवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ल्यान्ड पुग्नेछ । एकदिवसीय विश्वकप क्रिकेट २०१९ मे ३० देखी १४ जुलाईसम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्