भारत वेस्ट इन्डिजसंग ९ विकेटले विजयी बन्यो, शृंखलामा भारतले ३–१ को विजय

भारत वेस्ट इन्डिजसंग ९ विकेटले विजयी बन्यो, शृंखलामा भारतले ३–१ को विजय

एजेन्सी । रविन्द्र जडेजाको ४ विकेट तथा रोहित शर्माको अविजित ६३ रनप्रेरित भारतले बिहीबार वेस्ट इन्डिजविरुद्धको पाँचौं एकदिवसीय अन्तर्राष्ट्रियमा ९ विकेटको विजय हासिल गरेको छ । यससँगै पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारतले ३–१ को विजय हासिल गरेको छ ।

ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको भ्रमणकारी वेस्ट इन्डिजले ३१.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । जुन भारतले १४.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो । दोस्रो खेल बराबरी भएको थियो भने तेस्रो खेलमा वेस्ट इन्डिज ४३ रनले विजयी भएको थियो । चौथो खेलमा २ सय २४ रनको नतिजा निकालेको भारतले अन्तिम खेलमा ९ विकेटको विजय हासिल गर्‍यो । 

९.५ ओभर बलिङ गरेका जडेजाले १ मेडन राख्दै ३४ रन दिएर ४ विकेट लिएपछि वेस्ट इन्डिजका ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् । जसप्रित बुमराह र खालित अहमदले समान २÷२ विकेट तथा कुलदीप यादव र भुवनेश्वर कुमारले १/१ विकेट लिएपछि भ्रमणकारी टोलीका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके ।

कप्तान जसोन होल्डरले बनाएको २५ रन नै वेस्ट इन्डिजको इनिङमा बनेको सबैभन्दा ठुलो स्कोर हो । मार्लोन सामुइल्सले २४ तथा रोभमन पावेलले १५ रन जोडे ।

दोस्रो ओभरमै ओसाने थोमसले शिखर धवनलाई बोल्ड गर्दै वेस्ट इन्डिजलाई राम्रो शुरुआत दिएका थिए । तर, त्यसपछि वेस्ट इन्डिजका बलरमाथि ओपनर रोहित शर्मा र कप्तान विराट कोहली हाबी भएपछि घरेलु टोलीले सहज जित निकाल्यो । ५६ बलमा ५ चौका र ४ छक्का हानेका रोहित ६३ रनमा अविजित रहे । कप्तान कोहली २९ बलमा ६ चौका हान्दै ३३ रनमा अवितिज रहे ।

भारतले वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० खेल खेल्नेछ । तीन खेलको ट्वान्टी–२० शृंखला आइतबार कोलकाताबाट शुरु हुनेछ । यसअघि सम्पन्न दुई देशबीचको टेस्ट शृंखलामा भारत २–० ले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्