आजबाट चलचित्र ‘चङ्गा चेट’ र ‘मालिका रिलिज , कसले बाजी मर्छ ?

आजबाट चलचित्र ‘चङ्गा चेट’ र ‘मालिका रिलिज , कसले बाजी मर्छ ?

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत यो साता दीपेन्द्र के खनाल र रेखा थापाबीच भिडन्त हुने भएको छ । आज (शुक्रबार) बाट चलचित्र ‘चङ्गा चेट’ लिएर दीपेन्द्र के खनाल आएका छन् भने ‘मालिका’ लिएर अभिनेत्री रेखा थापा आएकी छन् ।

‘चङ्गा चेट’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने ‘मालिका’लाई रेखा थापाले निर्देशन गरेकी छन् । दीपेन्द्र के खनाल नेपाली चलचित्र उद्योगमा ट्रेन्ड सेटर निर्देशकका रुपमा छबी बनाउन सफल निर्देशक हुन् । यता रेखा थापा महिलाका विषयलाई चलचित्रमार्फत उठान गर्दै आएकी छिन् ।

‘चङ्गा चेट’ पैसा हुनेहरुको रवाफ र नहुनेहरुको संघर्षको कथा हो भने ‘मालिका’ बालविवाह विरुद्धको आवाज उठाउने चलचित्र हो । “जो बोल्न लजाउँछ, धकाउँछ उहाँहरुका लागि आत्मविश्वास भर्ने चलचित्र हो मालिका,” रेखा भन्छिन्, “हरेक किशोरीले आफ्ना शिक्षक शिक्षिका र प्रत्येक छोरीले आफ्ना बुुवाआमालाई हात समाएर लगेर देखाउने चलचित्र हो मालिका ।”

“अहिलेको समाजको समस्या चङ्गा चेटको कथा हो । युवा बेरोजगार, शिक्षा, घरखेतीको समस्या जोडिँदै जाँदा बेरोजगार युवा कहाँ बस्दै जान्छन् कथाले समेट्छ,” चङ्गा चेट निर्देशक खनाल भन्छन्, “गोजीमा दाम हुनेहरुको चलखेल र गोजीमा दाम नहुनेहरुको संघर्ष नै चलचित्रको मुख्य कथा हो । जसलाई हामीले हाँस्य तरिकाले भनेका छौं ।”

चङ्गा चेट स्टार कास्ट गरिएको चलचित्र हो । आयुषमान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, माओत्से गुरुङ, प्रमिता आरएल राणा, अर्पण थापा चलचित्रका मुख्य कालाकार हुन् ।

यता, ‘मालिका’ मा रेखा थापा र कमला ओली मुख्य कलाकार हुन् । रेखाले अघिल्लो वर्ष निर्माण तथा अभिनय गरेको ‘रुद्र प्रिया’ले राम्रो समीक्षा र ब्यापार गर्न सकेको थिएन भने दीपेन्द्र के खनालको निर्देशन तथा लेखन रहेको ‘लभ लभ लभ’ले मिश्रित सफलता मात्रै पाएको थियो ।

दसैंको छेको पारेर घटस्थापनाका दिन रिलिज भएको ‘छक्का पञ्जा’ र फुलपातीको दिन रिलिज भएको चलचित्र ‘जय भोले’ अहिले पनि उत्रिएका छैनन् । दसैंको फुलपाती यता भने कुनै पनि नेपाली चलचित्र रिलिज भएनन् । ठूलो ब्यानर र रिलिज पूर्व राम्रो हाइप बनाइसकेको ‘छक्का पञ्जा’ले सोलो रिलिजको अवसर पाएको थियो । ‘जय भोले’ले पनि सोलो रिलिजको मौका पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्