विराटनगरमा बचतकर्ता ठग्ने सहकारीका तीन सञ्चालक धरौटीमा छुटे

विराटनगरमा बचतकर्ता ठग्ने सहकारीका तीन सञ्चालक धरौटीमा छुटे

विराटनगर मङ्सिर ८ , बचतकर्ताको करिब चार रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीन सञ्चालकलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ ।

बचतकर्ताको ३ करोड ९७ लाख ठगी गरेको आरोपमा जिल्ला अदालतको आदेश पछि थुनामा रहेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका संयोजक इन्द्रलाल श्रेष्ठ, व्यवस्थापक इश्वर श्रेष्ठ र उपाध्यक्ष बिष्णुप्रसाद सुवेदीलाइ उच्च अदालत विराटनगरका न्यायधिस सारङगा सुबेदी र उमेशकुमार सिंहको इजलासले बिहिवार छाड्ने आदेश दिएको हो । अदालतले संयोजक श्रेष्ठलाई ५ लाख, व्यवस्थापक इश्वरलाई १० लाख र उपाध्यक्ष बिष्णु सुवेदीलाई साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको हो ।

२ सय ६८ जना बचतकर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ फिर्ता नदिएको उजुरी परेपछि प्रहरीले सहकारीका १२ सञ्चालक मध्ये ३ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

पक्राउ परेका सहकारीका सञ्चालकलाई गत भदौ २० गते जिल्ला अदालत मोरङले पूर्पक्षकालागि कारागार चलानको आदेश दिएको थियो । जिल्लाको आदेश पछि थुनामा रहेका सञ्चालकले जिल्लाको आदेश बदरकालागि १७ नम्बर निवेदन गरेका थिए । तीन जनाले गरेको १७ नम्बर उपर उच्चले बिहिवार अन्तिम आदेश दिएको प्रतिवादी इश्वर श्रेष्ठको पक्षमा बहस गरेका कानुनव्यवसायी चुणामणी कोइरालाले जानकारी दिए । इश्वरको पक्षमा कोइराला सहित बुद्धकुमार श्रेष्ठ, ज्ञानेन्द्र थापाले बहस गरेका थिए भने संयोजको पक्षमा शुरेशलाल श्रेष्ठ सहितका कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत सहकारीका प्रमुख ६८ बर्षिय इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ बर्षिय ईश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० बर्षिय विष्णुप्रसाद सुवेदी, सहकारीको कोषाध्यक्ष ४५ बर्षिय लिला खानम, संस्थाका सेयर सदस्य सन्तोष भनिने तेजप्रसाद ढकाल, संस्थाकी तत्कालिन सञ्चालक सदस्य ४८ बर्षिय गोमा श्रेष्ठ, तत्कालिन सचिव ५५ बर्षिय गणेशबहादुर श्रेष्ठ, कोषाध्यक्ष ४२ बर्षिय सुनिता दंगाल, गोपाल साह, बिमलादेवी सारदा भन्ने सारदादेवी बिमला उदास र पोखरा महानगरपालिका ८ का अनिल जोशि विरुद्ध ठगी मुद्दा दायेर थियो ।

मुद्दा दायर गरिएका मध्ये इन्द्रलाल श्रेष्ठ, इश्वर श्रेष्ठ र बिष्णुप्रसाद सुवेदी बाहेक अन्य ९ जना फरार थिए । पक्राउ परेकालाई गत भदौ २० गते जिल्ला अदालत मोरङका न्यायधिश दिपक खनालको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।

विराटनगर–९ मा कार्यलय रहेको बचत तथा ऋणको कारोवार गर्दै आएको सहकारीले बचतकर्ताको ५ करोड ८० लाख रुपैया ठगी गरेको भेटिएको थियो । तर जिल्ला प्रहरी कार्यालयमा भने आकर्शक व्याजको प्रलोभनमा नियमित बचत गर्दै आएका २६८ जना बचतकर्ताको ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैया फिर्ता नगरेका दाबी सहित उजुरी परेको थियो ।

सहकारीबाट बरामद भएको कम्प्युटर तथा कागजातहरुबाट २ हजार ८ सय ४१ जना मानिसहरुको नामबाट सेयर बापत ९२ लाख ९० हजार ३ सय रुपैया र १ हजार २४० जना बतचकर्ताको नाममा ९ करोड ११ लाख २३ हजार २ सय ५१ रुपैया बराबरको रकम जम्मा भएको हिसाब फेला पारेको थियो । सहकारीले ब्यक्ती तथा संस्थालाई ३ करोड तिस लाख चौवालिस हजार दुई सय पैतालिस लगानी गरेको हिसाब भेटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्