नेपथ्यको धरानमा कन्सर्ट सम्पन्न , झुमे धराने दर्शक

नेपथ्यको धरानमा कन्सर्ट सम्पन्न , झुमे धराने दर्शक

धरान मङ्सिर ९। कुनै समय पूर्वी पहाड र तराइको मिलनविन्दु अनि लाहुरे भर्तीकेन्द्रका रुपमा प्रसिद्ध धरान शुक्रबार बेलुकी लोकरक ब्याण्ड नेपथ्यसँग रमाएको छ ।

स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोश्रो कन्सर्ट गरेको हो । यहाँस्थित रंगशाला परिसरमा झण्डै चार हजार दर्शकको उपस्थितीमा शो सम्पन्न भएको थियो ।

“पहिले जुन स्थानमा लाहुरे भर्तीकेन्द्र थियो अहिले त्यही सम्पत्तिमा विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान खडा भएको छ,” कन्सर्टमा गाउँदा गाउँदै पनि नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलना गर्दै भने, “अर्थात् मर्ने र मार्ने कामको योग्यता मापन गर्ने ठाउँ अहिले आम मानिसको जीवन कसरी बचाउने भन्ने स्थानमा परिणत भएको छ जसले सांकेतिक अर्थमा यो ठाउँ कसरी फेरिँदैछ भनेर बुझाउँछ ।”

धरानमा कन्सर्टको आयोजना नै विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले त्यहीँकै ‘एमसी कफी आवर’सँग मिलेर गरेको हो ।

यो यात्राको निम्ति तय गरिएको समय अर्थात् ठीक पौने छ बजे कन्सर्ट सुरुभएको थियो ।  प्रारम्भ सँधैजस्तै ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट गरिएको थियो भने त्यसलाई अर्को म्यूजिक भिडियो ‘सम्झिराख’ बाट निरन्तरता दिइएको थियो ।

कवि तुलसी ‘दिवस’ले वाल्यकालमै लेखेको कवितालाई नेपथ्यले हालै ‘सम्झिराख’ गीतका रुपमा तयार पारेको हो । यतिबेला राष्ट्रले नै मान्ने कवि ‘दिवस’ छेउकै धनकुटाका हुन् । उनको सम्मानमै नेपथ्यले छिमेकी धरानका लागि यस गीतको छनौट गरेको थियो ।
त्यसपछि मञ्चमा उक्लेको नेपथ्य टिमले ब्याण्डकै पहिलो रेकर्डेड गीत ‘आँगनै भरि’बाट सुरुवात गरेको थियो ।

स्थापनाको रजत वर्ष मनाउदै गरेको क्षण ब्याण्डले आफूसँग आजसम्म आवद्धता राखेका पुराना साथीहरुको स्मरण पनि गर्दैआएको छ । यस गीतलाई प्रस्तुत गर्दा पृष्ठभागमा नेपथ्यका पुराना सदस्यहरुका विभिन्न कालखण्ड र घटनाहरु दर्शाउने गरि तस्बिर प्रस्तुत गर्ने गरिएको छ ।

“हामीले मुलुकको असाध्यै जटिल अवस्था पार गरेका छौं,” अघिल्लो पटक द्वन्द्वकै बेला ‘सुन्दर, शान्त, नेपाल’ कार्यक्रम अन्तर्गत धरानमा गाउँदाको क्षण सम्झँदै अमृतले भने, “अब मुलुकको मुहार फेर्ने बेला भएको छ ।”

कार्यक्रम हेर्नका निम्ति मदनपुरस्कार विजेता कवि एवं प्रसिद्ध गीतकार दिनेश अधिकारी समेत उपस्थित भएका थिए ।  हालै शल्यक्रिया मार्फत् कम्मरको जोर्नी नै बदलेका अधिकारीले यो कन्सर्ट लगातार दुइ घन्टा सम्म उभिएरै हेरेका थिए। चिकित्सकको अनुमति लिएर पहिलोपटक यस्तो आँट गरेको उनले सुनाए ।

“संगीतसँग मनोरञ्जन मात्र नभइ सामाजिक दायित्व पनि जोडिएको हुन्छ,” पूर्व सचिवसमेत रहेका अधिकारीले भने, “त्यस्तो दायित्व नेपथ्यले जिम्मेवारीका साथ निर्वाह गर्दै आइरहेको देख्दा खुशी लागेको छ ।” पछिल्लो पुस्ताका तन्नेरीहरुलाई नेपाली संगीतसँग जोड्न महत्वपूर्ण भूमिका समेत निभाइरहेकोमा उनले नेपथ्यलाई धन्यवाद प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्