सन् २००८ को आर्थिक संकटबारे ‘मार्जिन कल’ नामक फिल्म बनेको छ। वाल स्ट्रिटनजिकैको अग्लो भवनको छतको डिलमा उभिएको फिल्मको एउटा पात्र भन्छ, ‘तिमीलाई थाहा छ, यस्तो अग्लो ठाउँमा उभिँदा मान्छे किन डराउँछ ? यहाँबाट खसिन्छ कि भनेर होइन, यहाँबाट हाम फालिन्छ कि भनेर डराउँछ।’ आत्महत्याले हामीलाई आकर्षित गर्छ। यसले हाम्रो दिमागको अँध्यारो हिस्सामा एकैपटक भय र सम्मोहन पैदा गर्छ।

Advertisement

मृत्युका प्रकारमध्ये यो सबैभन्दा निकृष्ट हुन्छ। आमाबाबुका लागि सन्तानको आत्महत्या सबैभन्दा खराब भोगाइ हो। अभिभावकको आत्महत्याले पनि सन्तानलाई जीवनभर चोट पुर्‍याइरहन्छ। यो व्यक्तिगत पीडाको मात्र होइन, सामूहिक असफलताको अभिव्यक्ति पनि हो। कसैलाई यो समाजमा बाँच्न साह्रै मुश्किल छ भने दोषी सायद हामी पनि छौँ।

सन् २००० यता अमेरिकाको आत्महत्या दर १८ प्रतिशतले बढेको छ। यो दुःखद परिदृश्य हो नै, यसले राजनीतिक अर्थ पनि राख्छ। खास गरी श्वेत, अधबैँसे र कम पढेका पुरुषबीच आत्महत्या दर बढी छ। त्यो पनि आर्थिक उन्नतिले नछोएका क्षेत्रका। उनीहरूको मृत्यु त्यो समस्याको लक्षण हो, जसको समाधानका रूपमा केहीले डोनाल्ड ट्रम्पलाई रोजे। ती समस्यालाई बेवास्ता गरिनु हुन्न।

आत्महत्यामा अमेरिकाको निराशाजनक प्रवृत्तिलाई नहेर्ने हो भने आशावादी हुने ठाउँ छ। विश्वव्यापी रूपमा सन् २००० यता आत्महत्या दर २९ प्रतिशतले घटेको छ। जसको अर्थ हो, यो अवधिमा २ करोड ८० लाख मानिसले ज्यान गुमाएनन्। यो संख्या त्यही अवधिमा युद्धमा मारिएकाभन्दा तीन गुणा बढी हो। आत्महत्या घट्नुको कुनै एउटा मात्रै कारण छैन। फरक ठाउँका फरक समूहमा फरक दरले आत्महत्या घटिरहेको छ। तथापि, खास गरी तीन समूहमा यो प्रवृत्ति उल्लेख्य छ। 

पहिलो समूह हो, भारत र चीनका युवती। संसारका धेरैजसो ठाउँमा उमेरदारभन्दा उमेर ढल्केकाले र महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्छन्। तर, चीन र भारतमा चाहिँ कम उमेरका केटीले बढी आत्महत्या गर्छन्। अहिले त्यो संख्या घटिरहेको छ। दोस्रो समूह हो, रुसका अधबैँसे पुरुष। सोभियत संघको विघटनपछि त्यहाँका अधबैँसेहरूमा मद्यपान र आत्महत्या अकासिएको थियो। अहिले यो दुवै घटिरहेको छ। तेस्रो समूह हो, विश्वभरका वृद्ध। औसतमा बाँकी जनसंख्याभन्दा वृद्धहरूमा आत्महत्या दर अझै पनि बढी नै छ। तथापि, सन् २००० यता यसमा तीव्र गिरावट आएको छ।

आत्महत्या घट्नुको कारण के हो त ? बढ्दो शहरीकरण र स्वतन्त्रताले सघाएको छ। आत्महत्या गर्नेका आफन्त तथा आत्महत्या प्रयास गर्नेहरूले सुनाएको विवरणबाट यसको कारण थाहा हुन्छ। प्रायः एसियाली युवती पतिको कुटपिट र बुहार्तनका कारण निराशामा पुग्छन्। तर, शहरमा बसाइँ सरेपछि र रूढी–परम्पराको बन्धन खुकुलो बन्दै गएपछि कोसँग बिहे गर्ने भन्ने विषयमा महिलाले बढी विकल्प पाएका छन्। यसले उनीहरूको जिन्दगी केही सहज बनाएको छ। गाउँ छोड्नुको अर्को फाइदा पनि छ। खेतीपाती गर्दा आत्महत्यासमेत गर्न मिल्ने हतियार, विषादीजस्ता साधनमा मान्छेको पहुँच बढी हुन्छ।

सामाजिक स्थायित्व पनि एउटा पक्ष हो। सोभियत संघ ढलेपछि थुप्रै अधबैँसे पुरुषले आफ्ना आयस्रोत र हैसियत गुमाए। रोजगारी पाएकाको तुलनामा बेरोजगारहरूले अढाई गुणा बढी आत्महत्या गरे। सन् २००७–००८ को आर्थिक संकटका कारण अमेरिका र पश्चिम युरोपमा १० हजार अतिरिक्त आत्महत्याका घटना भए। संकट टर्दै र रोजगारी बढ्दै जाँदा आत्महत्या घट्दै जान्छ। घट्दो गरिबीले पनि वृद्धहरूको आत्महत्या दर घटाएको छ।

ठूला सामाजिक घटनाको परिणाम मात्र होइन यो। नीतिले पनि फरक पार्छ। सन् १९८० को दशकमा मिखाइल गोर्बाचेभले रक्सीको उत्पादन र वितरणलाई सीमित पारे। यसबाट मद्यपान र आत्महत्या दुवैमा कमी आयो। सोभियत संघ ढल्दा यी नियम पनि बढारिए। रक्सीबाजी र आत्महत्या दुवै फेरि बढ्यो। भ्लादिमिर पुटिनले २००५ मा लागू गरेको नियमका कारण अहिले यसमा कमी आएको छ।।

सरकारले सामाजिक तथा आर्थिक संकटको नकारात्मक असरलाई पनि कम गर्न सक्छ। जागिर गुमाएकालाई तालिम दिएर पुनः काममा फर्काउने सक्रिय श्रमबजारको नीतिले थुप्रै आत्महत्या रोक्न सक्छ। स्वास्थ्य सेवामा खर्च बढाउँदा वृद्ध र बिरामीलाई सबैभन्दा बढी फाइदा हुन्छ। सहन नसकिने निरन्तरको पीडा हुँदा मान्छेले सधँैका लागि मुक्ति खोज्छ। वृद्ध बेलायतीहरूमा आत्महत्या स्वाट्टै घटेको छ। यसको एउटा कारण हो– मृत्यु निश्चित भइसकेका बिरामीहरूको हेरचाह गर्ने प्रणाली। बेलायतको यो व्यवस्था संसारकै उत्कृष्ट मानिन्छ। 

आत्महत्याका साधनमा सहज पहुँचलाई पनि रोक्न सकिन्छ। आफूलाई मार्ने निर्णय प्रायः आवेगमा गरिन्छ। आत्महत्या प्रयास गर्ने चिनियाँ महिलामा गरिएको एउटा अध्ययनले के देखाउँछ भने ६० प्रतिशतले आत्महत्याको विचार आएको दुई घण्टाभित्रै प्रयास गर्छन्। १० प्रतिशतले एक मिनेटभित्रै निर्णय गर्छन्। सन् १९३७ देखि १९७१ सम्ममा सान फ्रान्सिस्कोको गोल्डेन गेट पुलबाट हाम फालेकामध्ये ५ सय १५ जना बाँच्न सफल भएका थिए। तीमध्ये ९४ प्रतिशत चाहिँ १९७८ सम्म पनि जीवित थिए। यसको अर्थ हो, तत्कालका लागि आत्महत्या स्थगित हुनु भनेको सदाका लागि रोक्नु हो।

१५ प्रतिशत आत्महत्या विषालु कीटनाशकको प्रयोगबाट हुन्छ। दक्षिण कोरियाले सन् २०११ मा झारपात मार्ने प्याराक्वाटलाई प्रतिबन्धित गरेपछि आत्महत्या दर घट्यो तर बाली घटेन। घातक औषधि नियन्त्रण गर्न सकिन्छ। केही देशमा एस्पिरिन र प्यारासिटामोलजस्ता औषधि सीमित मात्रामा बेच्दा पनि फाइदा पुगेको छ। बन्दुकमाथिको पहुँच नियन्त्रण गर्नु सबैभन्दा महŒवपूर्ण छ। अमेरिकामा आत्महत्या गर्नेमध्ये आधाले आफैँलाई गोली ठोक्छन्। अमेरिकाको आत्महत्या दर बेलायतको भन्दा दोब्बर छ। बेलायतमा बन्दुकसम्बन्धी कडा नियम छ।

सञ्चारमाध्यमले पनि आफ्नो तर्फबाट योगदान दिन सक्छन्। अनौठो के छ भने आत्महत्या संक्रामक हुन्छ। अभिनेता रोबिन विलियम्सले सन् २०१४ मा आत्महत्या गरे। उनले अपनाएको विधि र तरिकाबारे सञ्चारमाध्यममा विस्तृत रिपोर्ट प्रकाशित भए। त्यसपछिका चार महिनामा १८ सय अतिरिक्त आत्महत्या भएको निष्कर्ष अनुसन्धानकर्ताको छ। तिनले प्रायः विलयम्सकै विधि अपनाएका थिए। त्यसैले यस्ता दुःखद घटनालाई प्रस्तुत गर्दा पत्रकारले विस्तृत विवरण दिनु हुँदैन।

रोगका कारण अन्तिम अवस्थामा पुगेका, अति पीडा भोगिरहेका र मर्ने दृढसंकल्प गरिसकेका केही मानिसका लागि आत्महत्या सबैभन्दा कम भयानक विकल्प हुन सक्छ। त्यस्तो अवस्थामा चिकित्सकको सहयोगमा सुरक्षित इच्छामृत्युको अनुमति दिइनुपर्छ। तर, बर्सेनि आत्महत्या गर्ने आठ लाख मानिसमध्ये धेरैजसोले आवेगमा यो बाटो रोज्छन्। राम्रो स्वास्थ्य सेवा र श्रमबजारसम्बन्धी नीति तथा मादक पदार्थ, बन्दुक, कीटनाशक र हानिकारक चक्की नियन्त्रण गर्न सके धेरैलाई बचाउन सकिन्छ। अमेरिकाले अन्यत्रको प्रगतिबाट सिकेर आफ्नो देशको पीडा घटाउन सक्छ। -अन्नपुर्ण पोस्ट सम्पूर्णबाट

प्रतिक्रिया लेख्नुहोस