आफ्नो बाइक चोरी हुनबाट यसरी जोगाउनुहोस !!

आफ्नो बाइक चोरी हुनबाट यसरी जोगाउनुहोस !!

सहरमा बाइक तथा स्कुटर चोरीको बिगबिगी छ। अव्यवस्थित सडक तथा पार्किङलाई यसको कारण मानिन्छ। तर सामान्य लापर्बाहीले सवारीसाधन चोरी हुने सम्भावना हुन्छ। यसबाट कसरी जोगिने भन्ने विषय महत्वपूर्ण हुन्छ। महानगरीय ट्रफिक प्रहरी महाशाखा रामशाहपथले सवारीसाधन चोरी हुन नदिन साधनधनीहरूलाई विभिन्न उपाय अपनाउन सुझाव दिएको छ। सवारीसाधनमा अत्याधुनिक प्रविधि (डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन) प्रयोग गर्नुपर्छ। सकेसम्म आफ्नो दृष्टि पुग्ने स्थानमा सवारीसाधन पार्किङ गर्न प्रहरीको सुझाव छ।

घर कम्पाउन्डभित्र पार्किङ गर्दा लकको प्रयोग गर्नु उपयुक्त हुन्छ। अधिकांश मानिस व्यस्तताका कारण सवारी लकिङ गर्न बिर्सन्छन्। जसले गर्दा चोरी हुने सम्भावना हुन्छ। टेस्ट ड्राइभको बाहनामा चोरी हुन सक्ने भएकाले सकेसम्म सावधानी अपनाउनुपर्छ। विश्वासिलो व्यक्तिलाई मात्रै टेस्ट ड्राइभ गर्न दिनुपर्छ।

सवारीसाधन पार्किङ गरिसकेपछि सवारी साधनमै चाबी छुटे/नछुटेको ध्यान दिनुपर्छ। घर कम्पाउन्डमा लाइटको व्यवस्था गर्नुका साथै घर कम्पाउन्डको लक दुरुस्त राख्नुपर्छ। एउटै कम्पनीका एउटै रङका सवारीसाधन अरुले पहिले नै पार्किङ गरेको छ भने त्यसको छेउमा सकेसम्म पार्किङ नगर्न प्रहरीले सुझाव दिएको छ।

एकै स्थानमा लामो समयसम्म पार्किङ गर्नुहुँदैन। सकेसम्म एकान्तमा सवारीसाधन पर्किङ गर्नुहुँदैन। एकैछिनका लागि भनेर कम्पाउन्डबाहिर पार्किङ गर्दा सधैंका लागि बाइक गुमाउनुपर्ने खतरा हुनसक्छ। सवारीसाधन बढी चोरी हुने गरेका सम्भावित स्थानमा अस्पताल क्षेत्रका पार्किङ, फुटपाथमा रहेका सवारीसाधन, एकान्तमा रहेका पार्किङस्थल, घर कम्पाउन्ड र बाहिर राखिएका सवारीसाधन, अव्यवस्थित रूपमा प्रयोगमा ल्याइएका पार्किङ स्थल, भोज (पार्टी)को पार्किङस्थल पर्छन्। यस्ता स्थानमा पार्किङ गर्दा होसियार रहन पनि महाशाखाले आग्रह गरेको छ।

कुनै पनि सवारीसाधन चोरी भएको खण्डमा तुरुन्त १०३ मा सम्पर्क गरी हराएको सवारीसाधनसम्बन्धी जानकारी टिपाउनपर्छ। सम्पर्क हुन नसके १०० मा सम्पर्क गरेर छिटोभन्दा छिटो सूचना दिनुपर्छ। फोनमार्फत टिपाइसकेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ काठमाडौंमा गई निवेदन दर्ता गराउनुपर्ने महाशाखाले जानकारी दिएको छ। (अन्नपुर्ण पोस्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्