काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता भए पनि अझै मन भिन्नता कायमै रहेको स्वीकार गरेका छन् ।नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबारदेखि सुरु भएको स्थायी कमिटीमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रूपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मतभिन्नता रहेको स्वीकार गरेका हुन् ।
‘निर्वाचनमा सहकार्य र पार्टी एकताको ऐतिहासिक घोषणासँगै पार्टीमा आमरूपमा वैचारिक स्पष्टता र भावनात्मक निकटता कायम भएको छ । तर पनि दुई भिन्नभिन्न पृष्ठभूमि, अलग–अलग स्कुलिङ र छुट्टै कार्यशैलीका कारण अझै पनि केही भिन्नता बाँकी नै छन्,’ अध्यक्षद्वयले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच बनेको नेकपामा रहेको मतभिन्नतालाई मेटाउन वैचारिक एकरूपता र भावनात्मक घनिष्टता कायम गर्ने विषयमा थप प्रयत्न गर्नु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘साबिकका दुवै पार्टीमा विभिन्न रूप र स्तरमा वैचारिक उपलब्धि, संगठनात्मक व्यवस्थापन, ऊर्जा, परिपक्वता, जनअनुमोदन, गतिशीलता र जुझारुपनजस्ता बेग्लाबेग्लै विशेषताहरु रहेको र ती उपलब्धि कम्युनिस्ट आन्दोलनका महत्वपूर्ण उपलब्धि भएकाले संस्थागत गर्दै लैजानुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
वैचारिक र भावनात्मक एकतालाई खँदिलो बनाउँदै पार्टी एकतासँगै भित्रिएका कमीकमजोरी अन्त्य गर्ने तथा उपलब्धिलाई अँगाल्दै अगाडि बढ्नुपर्ने अध्यक्षद्वय ओली र दाहालले स्वीकार गरेका छन् ।
पार्टी एकता भए पनि तल्लो तहसम्म एकीकरणको टुंगो नलाग्दा वैचारिक एवं सांगठनिक विषय अलमलमा परेको भन्दै आरोप लाग्दै गर्दा प्रतिवेदनमा त्यसलाई पनि स्वीकार गरिएको छ । आधारभूत तहसम्म पार्टी र जनवर्गीय संगठनहरुको एकीकरणको काम पूर्ण हुन नसक्दा पार्टी एकीकरणबाट सिर्जित उत्साह र ऊर्जालाई जनताका बीचमा स्थापित गर्न ढिलाइ भएको अध्यक्षद्वयले स्वीकार गरेका छन् ।
पार्टी एकीकरणको प्रक्रिया टुंगो नलाग्दा विभिन्न शक्तिले लाभ उठाउँदै संविधान, पार्टी र सरकारविरुद्ध क्रियाशील रहेकाले रतिभर विलम्ब नगरी बाँकी रहेका सबै तहमा पार्टी कमिटी, निकाय, जनवर्गीय संगठनको एकीकरण सम्पन्न गर्दै नयाँ उत्साह र ऊर्जाका साथ जनताबीच जाने प्रतिबद्धता उनीहरुले गरेका छन् ।
नेकपाको बैठक नियमित हुन नसकेकोमा प्रतिवेदनमा अध्यक्षद्वयले ढिलासुस्ती भएको स्वीकार गरेका छन् । बैठक नियमित हुनुपर्छ भन्दै सकेसम्म फराकिलो दायराबाट निर्णयहरु हुनुपर्ने भन्ने कुरामा कुनै द्विविधा हुन नसक्ने जनाएका छन् ।
तर, पार्टी एकीकरण प्रक्रियाको यो विशिष्ठ अवस्था, पार्टीले सरकारको नेतृत्व गरिरहेको सन्दर्भ र राज्यका कतिपय अपरिहार्य दायित्वमा व्यस्त हुनुपर्ने कारणले गर्दा बैठकको आयोजनामा यदाकदा हुन सक्ने विलम्बलाई मनसायसँग जोडेर नकारात्मक टिप्पणी गर्नु उचित नभएको जिकिर अध्यक्षद्वयले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
साथै बैठक नियमित, छलफल एवं निर्णयकै आधारमा अघि बढ्ने प्रतिबद्धतासमेत प्रतिवेदनमा व्यक्त गरेका छन् । अगामी दिनमा नियमित बैठक बस्ने, निर्णय एवं छलफलकै आधारमा अघि बढ्ने प्रतिबद्धता अध्यक्षद्वयले व्यक्त गरेका छन् ।
सरकार गठन भएको नौ महिनाको अवधिमा बृहत्तर राजनीतिक सहमति निर्माण, मुलुकको बाह्य सम्बन्धमा सुधार, अर्थतन्त्रको सुदृढीकरण, सार्वजनिक प्रशासनको उचित व्यवस्थापन, तीनै तहका सरकारको सञ्चालन, कानुन निर्माण र संविधानको कार्यान्वयन तथा विसंगति नियन्त्रणमा महŒवपूर्ण उपलब्धि हासिल भएका छन् ।
यातायात क्षेत्रमा लामो समयदेखि विद्यमान सिन्डिकेटको अन्त्य गर्दै स्वस्थ व्यावसायिक प्रतिस्पर्धा र मूल्य तिरेपछि गुणस्तरीय सेवा पाउने उपभोक्ताको हकलाई प्रत्याभूत गरिएको दाबी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपाललाई सुन तस्करीको ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएको तस्करीको जालोमाथि प्रहार गरिएको दाबी प्रतिवेदनमा अध्यक्षद्वयले गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारले उपलब्धि गरिरहेको र अझै थप उपलब्धि हासिल गर्नेतर्फ उन्मुख रहेको जनाएका छन् । विदेशमा बसेर नेपालमा अपराध, फिरौती, धम्की र हत्याको शृंखला चलाइरहेका कतिपय आपराधिक गिरोहहरु नियन्त्रणमा आएको दाबी गरिएको छ ।
विगतको निर्वाचन परिणामबाट कमजोर अवस्थामा खुम्चिन पुगेको नेपाली कांग्रेसमा अन्योल व्याप्त छ । वैचारिक र राजनीतिक पुनःसंरचनाको प्रसंग चले पनि कांग्रेसले सही दिशा ग्रहण गर्ने सम्भावना नरहेको नेकपा राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । आफ्नो असफलतालाई ढाकछोप गर्न कांग्रेसमा सरकारविरुद्ध भ्रामक प्रचारमा उत्रिने, सानातिना असन्तुष्टिलाई पनि उचाल्ने र राजनीतीकरण गर्ने प्रवृत्ति देखापरेको नेकपाले जनाएको छ ।
‘नेपालको संसदीय इतिहासमा सर्वाधिक लामो समयसम्म सरकारको नेतृत्व गरेको र त्यस अवधिमै मुलुकले थप दुर्गति बेहोर्नुपरेको यथार्थलाई ढाकछोप गर्दै यतिबेला कांग्रेसका नेताहरु सरकारविरुद्ध कहिले कथित अधिनायकवाद त कहिले असफलताको अनर्गल प्रचारमा उत्रिएका छन्,’ नेकपाको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । यद्यपि संविधानको कार्यान्वयन र समृद्धिको यात्रामा कांग्रेससँग सम्भव भएसम्म समझदारी कायम गर्दै अघि बढ्ने नेकपाको नीति रहेको छ ।
संघीय समाजवादी फोरम नेपाल यतिबेला नेकपा नेतृत्वकै सरकारमा सहभागी छ । तराई मधेसमा क्रियाशील दलहरुमध्ये तुलनात्मक रूपमा उदार र सकारात्मक सोच राख्ने फोरम नेपालसँग लोकतन्त्र, संविधान, समृद्धि र राष्ट्रिय एकताको सुदृढीकरण एवं तराई मधेसको सामाजिक, आर्थिक रूपान्तरणका लागि सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको नेकपाले जनाएको छ ।
नेकपाले लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण चरण पूरा गरिसकेको भन्दै अबको योजना स्वतन्त्र, आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै मुलुकमा प्रगतिशील उत्पादक शक्तिको विकास र राज्यमा श्रमजीवी वर्गको स्तर सुदृढ गर्दै समाजवादको आधार तयार गर्ने उल्लेख छ ।
नेकपाले आफ्ना सम्पूर्ण शक्ति एवं कार्यकर्तालाई उत्पादन कार्यमा आबद्ध गर्ने जनाएको छ । उत्पादन र समृद्धिको अभियानको अगुवाइ गर्नेगरी नेकपा पार्टी पंक्तिलाई पुनःदीक्षित गर्नुपर्ने आवश्यकता महसुस गरेको छ । वर्तमान सन्दर्भमा सिंगो पार्टी पंक्तिलाई यस दिशामा पुनःसंरचना गर्नेगरी ठोस योजना अघि ल्याउने नेकपाको योजना रहेको छ ।
नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई काउन्टर दिँदै वामदेव गौतमले अर्को प्रतिवेदन प्रस्तुत गरेका छन् ।
पार्टी र सरकारलाई व्यवस्थित गर्ने भन्दै गौतमले प्रस्तुत गरेको आफ्नो प्रतिवेदनमा सरकार सञ्चालन र पार्टी अध्यक्षद्वय ओली र दाहालको कार्यशैलीको विरोध गरेका छन् । प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले दुई मन्त्री नियुक्त गर्दा पार्टीको निर्णयबिनै दुई मन्त्रीलाई शपथ गराएको प्रति गौतमले विरोध जनाएका छन् ।
‘दुःखका साथ भन्नुपर्छ पार्टीले सरकार त चलाएकै छैन, सरकारले पार्टी चलाउने कुरै आउँदैन,’ गौतमले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
यसैगरी, मन्त्रिपरिषद् विस्तार गर्दै गर्दा पार्टीमा छलफल एवं विधिवत् निर्णय नगरिएको प्रति गौतमले आफ्नो प्रतिवेदनमार्फत कडा विरोध जनाएका छन् । फोरम नेपाललाई सरकारमा सहभागी गराउने विषयमा पार्टीमा छलफल एवं निर्णय नभएकोमा समेत गौतमले नेतृत्वप्रति आरोप लगाएका छन् ।
विवादित अन्तर्राष्ट्रिय गैरसरकारी धार्मिक संस्था युनिभर्सल पिस फेडरेसनको कार्यक्रममा सरकार र पार्टीका शीर्ष नेता सहभागी भएको प्रति आपत्ति जनाउँदै गौतमले पार्टीमा निर्णय नगरी भएकोमा विरोध गरेका छन् ।
दुई तिहाइ बहुमतको सरकार इतिहासमै शक्तिशाली भएको भए पनि दिनानुदिन अलोकप्रिय बन्दै जनताबाट विस्थापित भइरहेको गौतमले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अरिंगाल बन्न आह्वान गरेको प्रति कटाक्ष गर्दै गौतमले कार्यकर्ता न अरिंगाल बन्न सके न मौरी नै बन्न सकेको उल्लेख गरेका छन् ।
‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले जति आह्वान गरे पनि कार्यकर्ताहरु न त अरिंगाल बन्न सकेका छन् त मौरी बनेर मह दिन सकेका छन् । निर्वाचन र सोभन्दा पहिलेको पार्टीको लोकप्रियता निरन्तर घटेको अवस्थाबारे कार्यकर्ताहरु चिन्ताग्रस्त देखिन्छन्,’ गौतमले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाली इतिहासको पहिलो स्थिर र शक्तिशाली सरकारको यही गति र अवस्था रह्यो भने अब हुने आमनिर्वाचनमा सरकारले आफूलाई मात्र नभई इतिहासको पहिलो शक्तिशाली पार्टी नेकपालाई समेत गम्भीर धक्का लगाउने निश्चित रहेको गौतमले जनाएका छन् । दुई तिहाइ बहुमत आफैंलाई च्याप्ने बोझ बनेर प्रकट हुने सम्भावनाबारे बौद्धिक व्यक्तित्वहरु विश्लेषण गर्न लागेको प्रति सचेत हुन गौतमले सुझाव दिएका छन् । राजधानी दैनिकबाट