जनकपुर । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा कर्मचारीहरुबीच झडप भएको छ ।
एमबीएसको परीक्षाको जिम्मेबारी लिने विषयलाई लिएर विवाद उत्पन्न भएपछि कुटाकुट भएको हो ।
एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लानसहित परीक्षा सम्बन्धि जानकारी दिने उद्देश्यले क्याम्पस प्रमुख बसन्त कर्णसँग भेट्न गएका बेला उनकै अगाडी कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन । क्याम्पस प्रमुख कर्ण, रायलाई परीक्षाको जिम्मेवारीबाट हटाइ अरुलाई दिने मनसाय बनाएपछि विवाद सुरु भएको थियो ।
क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी प्रजातान्त्रिक समूहका महेश यादव र माओवादी समर्थित सुरेन्द्र यादवले एक अर्का माथि मुक्का प्रहार गरेका थिए । दूबै कर्मचारीले एक अर्कालाई गालीगलौज पनि गरेका थिए । सो घटनामा ४ जना घाइते भएका छन । घाइते हुनेहरुमा ५५ वर्षिय सुरेन्दप्रसाद यादव, २७ वर्षिय गोविन्द साह, २२ वर्षिय रामपुकार महतो, २४ वर्षिय विकेश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कर्मचारीहरुबीच कुटाकुट भइरहदा क्याम्पस प्रमुख कर्ण मोटरसाइकलमा चढेर निस्केका थिए । दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आजै बोलाइएको जानकारी धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी दिएका छन ।