डीपीएलका लागि २०५ खेलाडीले नाम दर्ता गराए

डीपीएलका लागि २०५ खेलाडीले नाम दर्ता गराए

काठमाडौं, पुस १८ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको यही पुस १७ गतेसम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार जनाएको छ । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता मंगलबारसम्मका लागि तोकिएको थियो ।

खेलाडीले आफ्नो न्यूनतम् मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् ।आयोजकले खेलाडीलाई न्यूनतम् रु ३० हजारदेखि अधिकतम् रु दुई लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो ।

दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ । खेलाडी लिलामी (अक्सन) यही पुस २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ ।

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीमा चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।‘राउन्ड रोबिन’ लिगका आधारमा सन्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्